कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हिउँले गाउँमै बन्दी

हिमाली बस्ती हिउँले छपक्कै छोपिएका छन् । चिसोले धारासमेत जमेको छ । स्थानीय हिउँ पगालेर पिउँदै छन् । उनीहरुलाई दैनिक कामकाज गर्न र पशुबस्तु जोगाउनै मुस्किल छ । कतिपय बासिन्दा हिउँ छल्नकै लागि मंसिरतिरै बेंसीका आफन्तको शरणमा पुगिसक्छन् । कोही होटलमा कोठा लिएर बस्छन् । कसैले चाहिँ हिउँ पर्ने सिजनमा बस्न काठमाडौंमा भाडा तिरेर कोठा लिएका हुन्छन् । 
आनन्द गौतम

ताप्लेजुङ — पालमा जमेको हिउँ झार्दै गर्दा राधिका गुरुङ गम्भीर घाइते भइन् । गत बुधबार उनी बार्दलीबाट भुइँमा बजारिइन् । 

हिउँले गाउँमै बन्दी

फुङलिङ नगरपालिका–१० फुरुम्बु माथिल्लो फेदीकी उनको झापाको अस्पतालमा उपचार भइरहेको छ । अनुहारमा चोट लागेकी राधिकालाई आईसीयूमा राखिएको श्रीमान् महेश गुरुङले बताए ।

शुक्रबार बिहान बुलुडाँडाकी कमला शेर्पा हिउँ तताउँदै थिइन् । चिसोले पानी पाइपमै जमेपछि उनी वरिपरि थुप्रिएको हिउँ पगालेर काम चलाउने सुरसारमा थिइन् । कमलाले जस्तापातामाथि हिउँ राखेर पगालिन् । त्यसबाट निस्केको पानी ड्रममा जम्मा गरिन् । पिउन, खाना पकाउन र चौपायालाई खुवाउन त्यही पानी प्रयोग गर्ने उनले सुनाइन् । केही दिनयता अरू गाउँले पनि यसै गर्दै छन् । केहीछिन रमाएर फर्कनेका लागि हिउँ मनोरञ्जन बने पनि स्थानीयका लागि भने कष्टकर छ ।

उनीहरूको अनुभव सुन्दा लाग्छ– ‘हिउँ खेल्नेलाई मजा छ तर जिउनेलाई कठिन ।’

फक्तालुङ–७ ओलाङचुङगोलाको याङमा, लेलेपको खम्बाछेन, घुन्सा, मिक्वाखोलाको पापुङ तोक्पेगोलामा मंसिरदेखि चैतसम्म हिउँ पर्छ । यो अवधिमा स्थानीय गाउँ छाडेर हिँड्छन् । हिउँ छल्नकै लागि कोही आफन्तको शरणमा जान्छन् त कोही सहर पसेर होटलमा बस्छन् । कोठा भाडामा लिएर बस्ने पनि प्रशस्तै छन् । काठमाडौं पुगेका हिमाली चुङ्दा तीन–चार महिनाका लागि बौद्धमा वर्ष दिनको भाडा तिरेर कोठा लिएको बताउँछन् । ‘सामान राख्नुपर्ने भएकाले भाडा तिरिरहनुपर्ने बाध्यता छ,’ उनले भने । भारतको दार्जिलिङ, सिक्किमसम्म पुग्ने पनि छन् ।

अन्यत्र जाने हैसियत नभएकाहरू मात्र गाउँमा बस्छन् । उनीहरूले हिउँ पर्नुअगावै कम्तीमा तीन महिनालाई पुग्ने खाद्यान्न र लत्ताकपडा तयार पार्नुपर्छ । पशु–चौपायाका लागि घाँस, पराल, कुटो जुटाइसक्नुपर्छ । ओलाङचुङगोला, याङमा, लेलेपको खम्बाछेन, घुन्सा, फले, पापुङको तोक्पेगोला अत्यधिक हिउँ पर्ने बस्ती हुन् । खम्बाछेनमा त मंसिरपछि एक जना पनि बस्दैनन् । हिउँले बस्ती नै थुनिदिन्छ । याङ्माका चेने, घुन्साका फले र तोक्पेगोलाका बासिन्दा पापुङको बस्ती झर्छन् । घुन्सामा भने गत वर्षदेखि कोहीकोही गाउँमै बस्न थालेका छन् ।

ओलाङचुङगोलामा ६२, याङ्मामा ११, फलेमा ३३, घुन्सामा ४४ र तोक्पेगोलामा १३ घरपरिवार बस्छन् । फले र चेने पनि कम हिउँ पर्ने बस्ती होइनन् तर यी तुलनात्मक रूपमा पारिला छन् । घाम चाँडै झुल्कन्छ, अबेरसम्म रहिरहन्छ । घुन्सा बस्ती चारैतिर पहाडले घेरिएकाले हिउँदमा १ बजेतिर मात्रै घाम देखिन्छ । हिउँ बिलाउन समय लाग्छ । फले र घुन्साको उचाइ समान ३१ सय मिटर हो । पैदल दूरी एक घण्टा मात्रै । अहिले घुन्सामा बसिरहेकाहरू पनि धेरै हिउँ परे फले जाने सोचमा रहेको डन्डु शेर्पा बताउँछन् ।

हिउँ परे परुन्जेल गाउमा ‘बन्दी’ भएर बस्नुपर्छ । हिँडडुल गर्नै कठिन हुन्छ । अर्को बस्ती पुग्न डाँडाँपाखा छिचोल्नुपर्छ । हिउँ परेका बेला उकालो चढ्न सकिँदैन । लेक लागेर ज्यानै जान पनि सक्छ । अधिकांश बस्ती तिब्बतसँग जोडिएका छन् । उनीहरू सीमापारिको रिउ बजारबाट पहिल्यै सामान खरिद गर्छन् । चौंरी, याकलाई सामान बोकाएर ल्याउँछन् । बीचैमा खाद्यान्न सकिए पैंचो चलाउने र बाटो खुलेपछि ल्याएर तिर्ने चलन रहेको फक्तालुङ–७ का वडाध्यक्ष छेतेन भोटे बताउँछन् ।

ओलाङचुङगोलाका व्यापारी दावाएन्ड लामाका अनुसार कात्तिक–मंसिरमै बिस्कुट, चाउचाउ, साबुनजस्ता सामान प्रशस्त ल्याएर राखिन्छ । चामललगायत खाद्यान्न भने हरेकले बाहिरबाट आफैंले ल्याउने गरेका छन् । ‘न्यानोका लागि घरभित्रै आगो तापेर बस्नुपर्छ । दाउराको जोहो कात्तिकसम्ममा भइसक्छ । दाउरा र घाँस माथिल्लो तलामा राखिन्छ । पशु–चौपाया पुछार तलामा बाँधिन्छ । मानिस दोस्रो तलामा बस्छन्,’ पूर्वजिविस सदस्यसमेत रहेका लामाले भने ।


ढुंगाको गारो र काठले बनाइएका हुन्छन् हिमाली घर । बीचमा चुल्हो हुन्छ । दाउरा बालेपछि घरका सदस्य वरिपरि गोलो लागेर बस्छन् । घरका मूली र अन्य सदस्यको बस्ने आ–आफ्नै ठाउँ हुन्छ । अधिक चिसो हुने भएकाले यो बेला तोङाको खपत पनि धेरै हुने स्थानीय बताउँछन् ।


हिउँ पगालेर पानी


हिउँ परेपछि पानीका धारा जाम हुन्छन् । चिसोले मुहानै जमाइदिन्छ । सलल बगेको पानी भर्न तमोर, घुन्साजस्ता ठूला नदी–खोलामा पुग्नुपर्छ । कित ठाडा खोला धाउनुपर्छ ।


ती पनि घाम नलाग्दासम्म भित्रभित्र मात्रै बगेको सुनिन्छ । अर्को उपाय घरबाटै तातोपानी लैजाने हो । तातोपानीले हिउँ पगालेपछि बल्ल धारो बग्न थाल्छ । धेरैजसोचाहिँ सफा ठाउँमा थुप्रिएको हिउँ पगालेर खाने चलन छ । धारासम्म जान कठिन हुने भएकाले ठूलो भाँडोमा हिउँ भरेर अँगेनामा तताउने गरिएको छेतेन

वालुङले बताए ।

सञ्चार समस्या

जहाँका बासिन्दा हिउँ छल्न बाहिर निस्कन्छन्, त्यहा भरपर्दो सञ्चार सुविधा छैन । जिल्लाका कुनै पनि हिमाली बस्तीमा मोबाइल सञ्चार छैन । गोलामा चार र घुन्सामा चार थान एन्टिसेट लेन्डलाइन टेलिफोन मात्रै छ । यो घाम लाग्दा मात्रै चल्छ । गाउँमा कसैलाई दु:ख बिराम परे बाहिर खबर गर्न निकै कठिन हुन्छ । हिउँले छाता भरिए टेलिफोन अवरुद्ध हुन्छन् । गत वर्ष पनि हिउँदयाममा टेलिफोन ठप्प थियो । अप्ठेरो पर्दा मानिसले हिँडेरै गन्तव्य पुग्नुको विकल्प छैन । एउटाबाट अर्कोमा पुग्न पुरै एक दिन लाग्ने बस्ती छन् ।

वन्यजन्तुको जोखिम

हिउँकै कारण माथिल्लो क्षेत्रका जंगली जन्तु तलतिर झर्छन् । यिनले स्थानीयलाई आक्रमण गर्ने जोखिम रहन्छ । माथिल्लो क्षेत्रमा आहारा नपाउने र प्राकृतिक हिसाबले दु:ख पाएकाले यति बेला जनावर बढी आक्रामक हुने स्थानीयको अनुभव छ । जंगली जनावरबाट जोगिएर आफूले पालेका पशु–चौपाया पनि सुरक्षित गर्न सक्नुपर्ने कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत हेमराज आचार्य बताउँछन् । ‘सिकारीहरू पनि यही बेला सक्रिय हुने भएकाले दुर्लभ जनावर जोगाउन पनि सचेत हुनुपर्छ,’ उनले भने, ‘यस्तोमा समुदायलाई चनाखो रहन परामर्श दिने गरिएको छ । कर्मचारी पनि त्यहीअनुसार तयारीमा रहन्छन्,’ उनले भने ।

हिउँ पर्दा लौरोको सहाराबिना हिँड्न नहुने पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्य बताउँछन् । उकालोको तुलनामा यस्तो बेला ओरालो झर्न कठिन हुन्छ । हिउँ बिलाउन थालेपछि त्यसले पैदल मार्ग बिगारिदिन्छ । एक दिनको हिउँ जमेको ठाउँमा अर्को दिन पनि थुप्रिए झनै चिप्लो हुन्छ । ‘भित्रको स्टिल जस्तो भएर बस्छ, बाहिरको फुसफुस हुन्छ, यति बेला चिप्लिने खतरा धेरै नै हुन्छ,’ आचार्यले भने । हिउँ परेको बाटोमा दुई पाङ्ग्रे नचलाउनु राम्रो हुने सवारी चालक सुवास आचार्य बताउँछन् । ‘म आफैंले भोगेको छु, जति कन्फिडेन्ट भए पनि लडिहालिन्छ,’ उनले भने, ‘हिउँ परेका बेला मोटरसाइकल गुडाउन हुँदैन ।’

पुग्दैन सहयोग

चिसोबाट बच्न तराईमा दाउरा बाँड्ने, न्यानो कपडाको व्यवस्था गर्नेसम्मका सहयोग सरकार र दातृ संस्थाबाट हुन्छ । हिमाली क्षेत्रमा अहिलेसम्म यस्तो सुविधा दिइएको छैन । सरकारले हिमपात हुने क्षेत्रका बासिन्दाको दु:ख नदेखेको गोलाका नुपु भोटे बताउँछन् । ‘हिउँ पर्दा र हिउँको चिसोमा ठूलाबडा आउँदैनन् कसरी बुझ्नु र,’ उनले भने, ‘बस्तीमा थुनिँदाको पीडा हामीलाई मात्रै थाहा हुन्छ । हिउँ छल्न यहाँका बासिन्दाले प्रत्येक वर्ष बाक्लो कपडा किन्नुपर्छ, सबैको हैसियत हुँदैन ।’ ऋण गरेर पनि पनि पहिल्यै खाद्यान्न, लत्ताकपडा जोहो नगरी हँुदैन ।

गाउँमा प्रहरीमात्रै

शिक्षा, स्वास्थ्यलगायत सरकारी कार्यालय भए पनि हिउँदमा गाउँलेको साथी प्रहरी मात्रै हुन्छन् । ओलाङचुङगोला र घुन्सामा सिमा प्रहरी कार्यालय छ । विद्यालयहरू बिदा हुन्छन् । चिसोको अवस्था हेरी मंसिर अन्तिम सातादेखि फागुनसम्म बिदा हुने गरेको घुन्सा आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हिमाली चुङदाले बताए ।

यसरी जोगिन्छन् चौंरी

चौंरी, याकलगायत जनावरले हिउँ पर्ने अनुमान पहिल्यै लगाउँछन् । हिउँ पर्ने संकेतसँगै जंगलमा छोडिएका चांैरी, याक चौरमा भेला हुन्छन् र गोलो घेरा लगाएर बस्छन् । यसरी बसेका जनावरलाई पहिला हिउँले पुरै पुथ्र्यो । हिउँ पर्न छोडेपछि गोठालाहरू खोज्न जान्थे । चांैरीका नाकबाट निस्कने बाफबाट उनीहरूको पहिचान हुन्थ्यो । दशकअघिसम्म त कोदालोले हिउँ पन्साएर बाहिर निकाल्नुपथ्र्यो । शारीरिक रूपमा कमजोर भएका उनीहरूलाई नुनभुस खुवाएर दह्रो बनाइन्थ्यो । अहिले पनि हिउँ पर्नुअघि चौपायालाई सुरक्षित ठाउँमा लैजाने, चिसोबाट जोगाउन घाँस–खोले खुवाउने गरिएको नुुपु बताउँछन् ।

प्रकाशित : माघ १२, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?