कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाहालको वक्तव्यमाथि अमेरिकाद्वारा सरकारको धारणा माग

दुर्गा खनाल

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ ।

दाहालको वक्तव्यमाथि अमेरिकाद्वारा सरकारको धारणा माग

सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न आग्रह गरेको हो । ‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौं,’ अमेरिकी राजदूतावासका एक अधिकारीले भने ।


दाहालले गत शुक्रबार भेनेजुयलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए । भेनेजुयलाका जनता, सार्वभौमसत्तामाथि हस्तक्षेप भन्दै यसलाई ‘साम्राज्यवादी कु’ गर्ने प्रयासका रूपमा टिप्पणी गरेका थिए ।


राष्ट्रिय सभाका अध्यक्ष जुवान गुइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुयलामा राजनीतिक संकट चुलिएको हो । भेनेजुयलाको संकटलाई लिएर विश्व महाशक्ति राष्ट्रहरू दुई ध्रुवमा विभाजित भएका छन् । अमेरिका र उसका पक्षधर राष्ट्रले गुइडोलाई समर्थन गरेका छन् । रुस, चीन, भारत, टर्कीलगायतले राष्ट्रपति वैधानिक चुनावी प्रक्रियाबाट निर्वाचित भएको भन्दै मडुरोलाई समर्थन गरेका छन् । यही सन्दर्भमा दाहालले पनि विज्ञप्ति जारी गर्दै मडुरोको समर्थन गरेका थिए ।


‘कुनै देशले पनि अर्को देशप्रति हस्तक्षेप गर्नुहुन्न भन्ने हाम्रो पार्टीको नीति हो, त्यही नीतिमा आधारित भएर अध्यक्षको वक्तव्य जारी भएको हो,’ नेकपाका नेता नारायणकाजी श्रेष्ठले भने । एउटा पार्टीको अध्यक्षले जारी गरेको वक्तव्यलाई लिएर कुनै प्रश्न आवश्यक नरहेको उनले बताए ।


प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार स्विट्जरल्यान्डबाट फर्कंदा विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा यो विषयमा आफूले बुझेर मात्र प्रतिक्रिया दिने बताएका थिए ।


अध्यक्ष दाहालले वक्तव्यमा प्रयोग गरेको भाषा कूटनीतिक खालको नभएकाले अप्ठेरो परिरहेको नेकपाका एक नेताले बताए । ‘पार्टीको नीति त होला, तर अहिले भेनेजुयलाको विषयमा अमेरिकामाथि त्यसरी ठाडो शैलीमा वक्तव्य निकाल्न आवश्यक थिएन,’ ती नेताले भने, ‘दाहालको वक्तव्य अहिले सरकारका लागि टाउको दुखाइ भएको छ ।’


अमेरिका नेपालको ठूलो दाता मुलुक हो । अमेरिकाकै पक्षधर मानिने अन्य युरोपेली मुलुक पनि ठूला सहयोगदाता हुन् । नेपाल सरकारसँग मिलेर काम गरिरहेका छन् । दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यमा आधारित अमेरिकाको मात्र ५५ अर्ब रुपैयाँ बराबरको परियोजना चलिरहेको छ । अमेरिकी सहयोग नियोगमार्फत चल्ने अन्य परियोजना पनि छन् । अमेरिकी पक्षधर राष्ट्रका पनि अरू परियोजना छन् । लामो समयदेखिको हार्दिकतापूर्ण कूटनीतिक सम्बन्धमा सत्तारूढ दलका अध्यक्षको वक्तव्यले ‘चिसोपन ल्याउने हो कि’ भन्ने शंका उब्जिएको छ ।


कम्युनिस्ट भन्दै नेकपा नेतृत्वको सरकारमाथि घेराबन्दी भइरहेका बेला अमेरिकाप्रति कडा टिप्पणीयुक्त वक्तव्यले स्थितिलाई झनै प्रतिकूल बनाएको विश्लेषण पनि केही पार्टी नेताको छ । केही दिनअघि संक्रमणकालीन न्यायको सम्बन्धमा दुई आयोगको विषयबारे धारणामा चासो राख्दै राष्ट्रसंघ, अमेरिका, अस्ट्रेलिया र युृरोपेली मुलुकले वक्तव्य जारी गरेका थिए । उनीहरूको वक्तव्य आएपछि स्विट्जरल्यान्डमै रहेका प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा उदाहरणीय काम गरेको उल्लेख गर्दै बाँकी काम पनि टुंगिने र यसमा कसैको घेराबन्दी आवश्यक नरहेको बताएका थिए । त्यही वक्तव्यलगत्तै भेनेजुयलाको विषयमा अध्यक्ष दाहालको अमेरिकाप्रति कडा टिप्पणी आएको हो ।


यसरी आयो दाहालको वक्तव्य

स्रोतका अनुसार भेनेजुयलामा राजनीतिक संकट बढ्न थालेपछि त्यसमाथि वक्तव्य निकाल्न माहोल बनाउनेमध्येका एक नेता थिए– बलराम बाँस्कोटा । बाँस्कोटा नेकपाका केन्द्रीय सदस्य र राष्ट्रिय सभाका सांसद हुन् । उनी दुई साताअघि राष्ट्रपति मडुरोको शपथग्रहण समारोहमा समेत सहभागी थिए । उनले त्यहाँ चुलिँदै गएको संकटबारे पार्टीले बोल्नुपर्ने सन्देश अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसमक्ष पुर्‍याए ।


त्यहाँ अमेरिकी हस्तक्षेप भएको, जननिर्वाचित राष्ट्रपतिलाई हटाउन खोजिएको कदमबारे नेताहरूलाई ब्रिफिङ गरे । एउटा कम्युनिस्ट पार्टीले कुनै पनि हस्तक्षेपप्रति मौन बस्न नहुने भन्दै नेताहरूबीच वक्तव्य दिने समझदारी बन्यो । वक्तव्यको भाषा कस्तो हुने र कसरी जारी गर्ने भन्ने टुंगो थिएन । नेकपाकै एक नेताले वक्तव्य तयार पारे र दाहालसमक्ष पुर्‍याइयो । दाहालको नामबाट वक्तव्य जारी भयो । बाँस्कोटाले वक्तव्य सही आएको तर आफूहरूसँग सल्लाह नभएको प्रतिक्रिया दिएका छन् । ‘राजनीति भनेको स्पष्ट हुनुपर्छ, आफ्नो क्याम्प क्लियर गर्नुपर्छ, अध्यक्षले भेनेजुयलाको सन्दर्भमा जुन विश्लेषण गरेर वक्तव्य दिनुभएको छ त्यो सही छ,’ उनले भने, ‘वक्तव्य जारी गर्ने विषय मसँग सल्लाह भएको होइन ।’

स्रोतका अनुसार वक्तव्य जारी गर्ने विषयमा नेता नेपाल र अध्यक्ष दाहालबीच कुराकानी गर्ने नेतामा बाँस्कोटा नै थिए । उनको भेनेजुयलालगायत मुलुकसँग हुने साना पार्टीको अलाइन्समा संलग्नता छ । उनी दुई साताअघि एउटा सम्मेलनमा त्यहाँ पुगेका थिए । सम्मेलनबाट मडुरोको शपथग्रहणमा सहभागी भएका थिए । आउँदो फेब्रुअरी २२ देखि २७ सम्म जनपक्षीय पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नेता नेपाल र बाँस्कोटालगायत जाने कार्यक्रम छ । ‘माधव कमरेड र म त्यो कार्यक्रममा जाने तयारीमा छांै,’ उनले भने, ‘यही सम्मेलनको तयारीका लागि यसअघि भेनेजुयला गएको हुँ ।’




प्रकाशित : माघ १४, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?