२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

राष्ट्रिय सभामा पनि बलजफ्ती विधेयक

राजेश मिश्र

काठमाडौँ — राष्ट्रिय सभामा पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रक्रिया जबर्जस्ती अघि बढाइएको छ । कांग्रेस सांसदको विरोधबीच सोमबार विधेयक टेबुल गरिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको विधयेकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ । 

राष्ट्रिय सभामा पनि बलजफ्ती विधेयक

कांग्रेस सांसदले रोस्ट्रमअगाडि नाराबाजी गरिरहेकै अवस्थामा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले विधेयक टेबल गरेका थिए भने मन्त्री पोखरेलले छलफलको प्रस्ताव पेस गरेका थिए । कांग्रेसको अवरोधबीच माघ ११ गते प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भएको थियो । राष्ट्रिय सभामा पेस भएको विधेयकमाथि संशोधन हाल्नका लागि सांसदहरूलाई ७२ घण्टाको समय दिइएको छ ।


प्रतिनिधिसभाबाट पारित भइसकेको उक्त विधेयकमा राष्ट्रिय सभाबाट आवश्यक फेरबदल हुन सक्छ । सरकारले चाहे अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि विधेयकमा संशोधन गराउन सक्छ । प्रमुख प्रतिपक्षी कांग्रेसका नेता सुरेन्द्र पाण्डेले डा.केसीसँग भएको सम्झौताअनुसारको ऐन ल्याउन अझै पनि सरकारलाई मौका रहेको बताए । ‘संशोधनका लागि ७२ घण्टाको समय छ, यही अवधिमा सरकारले विधेयक सच्याएर प्रस्तुत गरोस्,’ उनले भने, ‘तर हामी संशोधन प्रक्रियामा सहभागी हुँदैनौं ।’


सत्तापक्षले पनि विधेयकमा कुनै संशोधन नहाल्ने जनाएको छ । नेकपा नेता खिमलाल भट्टराईले विधेयकमा संशोधन आवश्यक नरहेको बताए । ‘प्रतिनिधिसभाबाट पारित भएर आएको छ, त्यसमा नराम्रो केही छैन । जसरी प्रतिनिधिसभाबाट पारित भयो, त्यसैगरी राष्ट्रिय सभामा पनि पारित हुन्छ,’ उनले भने, ‘सत्तापक्षबाट संशोधन पर्दैन । जसरी आएको छ, त्यसैगरी अगाडि बढ्छौं ।’


पूर्वसहमतिअनुसार चिकित्सा शिक्षा ऐन आउनुपर्ने माग राखेर डा.केसी अनशन बसेको २० दिन भइसकेको छ । शिक्षामन्त्री पोखरेलले सरकारले ल्याएको विधेयकको स्वामित्व लिएर डा.केसीले अनशन त्याग्नुपर्ने बताएका छन् । ‘अनशनमा बसेर संसद्लाई प्रभावित गर्ने ढंगले सोच्नुभएन, नमिल्ने कुरामा हठलाई साथ नदिऔं,’ संसद् परिसरमा पोखरेलले भने, ‘अनशन फिर्ता लिएर उहाँले आफ्नो सम्मान बढाउने काम गर्नुपर्छ ।’



५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका १३ सांसद छन् । बैठक अवरुद्ध गर्न कांग्रेस सांसदले भरपूर बल लगाउँदा पनि सक्ने स्थिति थिएन । कांग्रेसको संख्याभन्दा तीन गुणा बढी मर्यादापालक खटाइएका थिए । रोस्ट्रमअगाडि नाराबाजी गर्न पुगेका कांग्रेस सांसद तीनतिरबाट मर्यादापालकबाटै घेरिएका थिए ।


कांग्रेस सांसदले संसद्भित्रको बलजफ्ती बन्द गर, नेताका नामको अस्पताल सुचारु गर भन्ने नारा लगाइरहँदा सजिलै रोस्ट्रममा पुगेका शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । कांग्रेस सांसद पाण्डेले सरकारले मर्यादापालकको भरमा संसद् चलाउन खोजेको आरोप लगाए । ‘सरकार मुढेबलको भरमा अगाडि बढिरहेको छ, यसरी कति दिनसम्म संसद् चल्छ ?’ उनले भने, ‘संसदीय मर्यादा र परम्परालाई धज्जी उडाउने काम भएको छ ।’


सरकारले हालै विभिन्न ९ वटा अस्पताललाई केन्द्र सरकारमातहत राख्ने निर्णय गरेको छ । गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहतबाट हटाइएको प्रति कांग्रेसले सदन र सडकबाट विरोध गरिरहेको छ ।

प्रकाशित : माघ १४, २०७५ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?