२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महानगरमा सवारीसाधनको  हेलचेक्र्याइँ

विद्या राई

काठमाडौं — काठमाडौं महानगरपालिकासँग सेल्फ डिस्चार्जिङ एन्ड लोडिङ गार्बेज ट्रक ३० वटा, ह्यार्मेटिक सेल्फ डिस्चार्जिङ ग्यार्बेज ट्रक ४९ वटा छन् । यी मेसिनहरू महानगरले फोहोर व्यवस्थापनको क्रममा प्रयोग गर्ने जानकारी दिइएको छ । मेकानिकल डिपार्टमेन्टले दिएको यो तथ्याङलाई जेट युनिटले दिएको जानकारीसँग दोहोरो जाँच गर्दा मेल खाएन ।

महानगरमा सवारीसाधनको  हेलचेक्र्याइँ

यी मध्ये अधिकांश मेसिन कामै नलाग्ने भएर थन्किएका छन् । युनिटले दिएको जानकारी अनुसार सेल्फ डिस्चार्जिङ एन्ड लोडिङ गार्बेज ट्रक ४ वटा र ह्यार्मेटिक सेल्फ डिस्चार्जिङ गार्बेज ट्रक ३५ वटा मात्रै प्रयोगमा छन् । युनिटले महानगरका सवारी साधनलाई दैनिक रूपमा तोकिएको इन्धन दिने गर्छ ।


मेकानिकल इन्जिनियर प्रमोद डंगोल यसबारे स्विकार्छन् । र भन्छन्,‘मेसिनहरू पुराना पनि भइसके, फेरी एक पटक बिग्रेपछि बनाउनलाई हाम्रो क्षमता र सिपले भ्याउदैन ।’ यसरी बिग्रेर मर्मतको पखाईमा रहेका मेसिनहरू अहिले पनि महानगरको परिसरभरी देख्न सकिन्छ । विशेषगरी विदेशबाट अनुदानका रूपमा आएका तथा खरिद गरेर ल्याएका जसलाई मर्मत गर्न आन्तरिक स्रोतले असम्भव छ, यस्ता मेसिनहरू चालु अवस्थामा रहेको तथ्याङ भए पनि प्रयोगमा हुँदैनन् ।


यस्ता मेसिन मर्मत गरेर पुन:प्रयोगमा ल्याउन गाह्रो हुन्छ । लिलाम गर्न पनि सकिँदैनन् । जसले गर्दा चालु अवस्थाकै तथ्याङमा अपडेट गरिन्छन् । माथि उल्लिखित मेसिनहरू २०६८ साल असारमा खरिद गरिएका मेकानिकल डिपार्टमेन्टको अपडेट छ ।


काठमाडौँ महानगरपालिकासँग टिपर, कन्टेनर ट्रक, वाटर ट्याकं, जेट, जेसिबी लोडर, सेल्फ डिस्चार्जिङ एन्ड लोडिङ गार्बेज ट्रक, कम्प्याक्टर, टाटा मोबाइल, डोजर, मारुती गाडी, कार गरी कुल २ सय ५३ वटा सवारी साधन छन् । जसमध्ये ९ वटा लिलाम गरिएका छन् । एउटा मर्मतको क्रममा छ भने, तीनवटा काम नलाग्ने अवस्थामा छन् ।


यसै गरी चालु अवस्थाका मोटरसाइकल ४५ वटा छन् । जेटयुनिटका राजकुमार भट्टराईका अनुसार एकदिनमा यी २ सय ५३ वटा सवारीसाधन मध्ये औसत सय वटा मात्रै सञ्चालनमा हुन्छन् । तर महानगरपालिकाले सवारी साधन सञ्चालनमा गर्ने खर्च भने अस्वाभाविक देखिन्छ । आर्थिक वर्ष ०७३/०७४ मा यथार्थ खर्च १० लाख ९६ हजार ७ सय ६३ रुपैयाँ भएको छ । जतिबेला दुई करोड ५ लाख रुपैयाँ अनुमानित बजेट विनियोजन भएको थियो । जसमध्ये पेट्रोल र डिजेल खर्चमा १० लाख ८२ हजार १ सय ४१ रुपैयाँ खर्चेको छ भने मर्मतका लागि १४ हजार ६ सय २१ रुपैयाँ मात्रै खर्च गरेको छ ।


आर्थिक वर्ष ०७४/०७५ मा यही शीर्षक अन्तर्गत १ करोड ८० लाख बजेट विनियोजन गरेको थियो । जेठसम्मको खर्चलाई हेर्दा सवारी साधन सञ्चालनमा दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ खर्च भएको छ । पेट्रोल र डिजेल शीर्षकमा मात्रै जम्मा खर्चको ७१.९८ प्रतिशत खर्चेका छन् । दर्ता नवीकरणमा १८.५४ प्रतिशत, मर्मत सम्भारमा ८.८७ प्रतिशत र सवारी बीमामा ०.६० मात्रै खर्च गरेका छन् । यो तथ्याङलाई हेर्दा महानगरका जनप्रतिनिधि र कर्मचारीले सवारीसाधनको प्रयोग हेलचेक्र्याइँ तरिकाले गर्छन् । करोडौँ रकम छुट्याएपनि संरक्षण, संवर्द्धनमा कति पनि चासो दिँदैनन् । बरु प्रयोग गर्छन् र बिग्रेपछि थन्‌काउँछन् ।


उपमेयर हरिप्रभा खड्गी आफैले पनि साता दश दिन अघि वातावरण विभागमा अनुगमनको क्रममा गएको बेला मर्मतसम्भार नभएर थुप्रै पुराना गाडी यत्रतत्र राखेको भेटाएको बताइन् । ‘अधिकांश सवारीसाधन पुराना भएकाले पनि इन्धन खर्च बढी भएको छ, व्यवस्थापन गर्न चासो पनि लिएको छु,’ उनले भनिन्, ‘हामीसँग नयाँ गाडी थप्ने योजना छैन, मर्मत हुनेलाई मर्मत गरेर चलाउने नहुनेलाई व्यवस्थापन गर्नेछौँ ।’ इन्धन कटौती गर्न स्कारपियो जस्ता धेरैजना अट्ने साधन प्रयोगमा ल्याउने, प्रत्येकलाई गाडी किन्न चाहिने बजेट विकास केन्द्रित गर्ने बताइन् ।

प्रकाशित : माघ १४, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?