१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

त्यो एक पल

काठमाडौँ — साइकल लेन छैन भन्दैमा साइकल छाड्न सकिँदैन । २५ वर्षीया शिला लिम्बूलाई त साइकलकै भर छ । पेसाले उनी सुरक्षा गार्ड हुन् । उनी ड्युटीका लागि सिनामंगलदेखि तीनकुने–नयाँ बानेश्वर सडक हुँदै न्युरोड जान खोज्दै थिइन् ।

त्यो एक पल

तीनकुने पुग्दा नपुग्दै उनलाई बसले ठक्कर दिने आशंका भइसकेको थियो । त्यही भएर उनी सडकको खाली ठाउँमा उछिट्टिइन् । उनको कस्तो विवेकपूर्ण निर्णय । तत्क्षण त्यस्तो आँट गर्न सकेकीले नै उनी बाँचिन् । उनको प्रिय साइकललाई भने विपरीत दिशाबाट आएको वेगवान बसले किचिदियो । साइकलबाट पानीको बोतल पनि उछिट्टियो ।


साइकल किचिएपछि पनि महानगर यातायातको बसको वेग थामिएन । शिलाका अनुसार मोटरसाइकलमा आएका एकजनाले जोडसाथ हारगुहार गरे । वरपर रहेका व्यक्तिहरूले बसलाई रोकिदिए । केही क्षणमै ट्राफिक प्रहरी आए अनि बस चालकलाई नियन्त्रणमा लिए ।


राजधानीको तीनकुनेमा सोमबार बिहान पौने ९ बजे सधैँझैँ ‘अफिस आवर’को व्यस्तता थियो । चक्रपथ गुड्ने बसहरू यात्रु छोप्न एकपछि अर्को होड गर्दै थिए । सातदोबाटो घुम्दै कोटेश्वरतिरबाट आइरहेको त्यो बस तीनकुनेमा शिलाको साइकलतिर सोझियो । उनले भनिन्, ‘मैतिर ताकेर आएको थियो । जसरी पनि मलाई अब यसले किच्ने भयो भन्ने मलाई लाग्यो ।’


लेन साँघुरिसकेको थियो र धन्य अर्को गाडी त्यही बेला आइपुगेन । उनी सडकमा पछारिइन्, बायाँ हात र कान ताछियो ।


प्रत्यक्षदर्शीका अनुसार कोटेश्वर–सिनामंगल जामबाट छलिन महानगर बस कोटेश्वर–तीनकुने–सिनामंगलको घुमाउरो रुटतिर वेगले मोडिएपश्चात् दुर्घटना भएको हो ।


‘म त एकै पलले बाँचेँ,’ ट्राफिक प्रहरीले पुर्‍याइदिएको नजिकको कान्तिपुर अस्पतालमा उपचार गराउँदै उनले भनिन्, ‘नयाँ संसार पाएकी छु ।’

प्रकाशित : माघ १५, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?