नक्कली बिल बुक बनाएर करोडौं ठगी

काठमाडौँ — केही वर्ष अघिसम्म काभ्रेको भुम्लु गाउँपालिका १ का नारायण श्रेष्ठ एकान्तकुनास्थित यातायात कार्यालयअघि लेखन्दासको काम गर्थे । केही रकम लिएर सेवाग्राहीको कागजपत्र मिलाइदिने, फारम भरिदिने र कर्मचारीसँग चिनाजानीको सम्बन्धका आधारमा लाइन नबसी फाइल दर्ता गरिदिने काम गर्थे ।

यही चिनाजानी र सम्बन्धका आडमा नारायण पछिल्ला वर्ष लेखन्दासको काम छाडेर गाडी खरिदबिक्रीमा लागे । उनैलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।


ब्युरोका अनुसार नारायण सवारीको स्वामित्व दर्साउने बिल बुक हराएको भन्दै प्रतिलिपि निकाल्न प्रक्रिया थाल्थे, यही क्रममा प्रतिलिपि बिल बुकमा फर्जी नाम र फर्जी जानकारी चढाउँथे ।


यसरी तयार पारिएको बिल बुकका आधारमा उनले सवारी धितो राखेर देव विकास बैंकबाट ११ ऋणीका नाममा १६ वटा फरक फरक सवारी धितो राखेर दुई करोड एकहत्तर लाख ७६ हजार रुपैयाँ निकालेका थिए । नारायणको यो फर्जी धन्दामा तत्कालीन देव विकास बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठले पनि सघाएको प्रहरीको दाबी छ ।


प्रहरीले नारायण र सरिनसहित बैंकिङ कसुर तथा किर्ते गरेको आरोपमा सवारी मूल्यांकनकर्ता नरेशमानसिंह अमात्यका अलावा काभ्रेको भुम्लु गाउँपालिका घर भएका बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ र काठमाडौं गोठाटार बस्ने कृष्णबहादुर खत्रीलाई पक्राउ गरेको छ ।


ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार फर्जी नाम र जानकारी राखेर निकालिएको बिल बुक देखाएर सवारीसाधनको मूल्यांकन नै नगराई ऋण प्रवाह गर्ने काम भएको छ । सवारी धितोको कर्जा समयमै नतिरेपछि बैंकले ऋणीको खोजी गरेको र फेला नपरेपछि प्रहरी गुहारेको चतुर्वेदीले बताए ।


त्यसपछि ब्युरोले गरेको अनुसन्धानमा नारायणको फर्जी धन्दाको रहस्य खुल्यो । त्यसमा यातायात कार्यालयका कर्मचारीको पनि सहयोग भए–नभएका बारेमा समेत प्रहरीले अनुसन्धान गरेको थियो । ब्युरोले यातायात कार्यालयका ५ कर्मचारीसँग बयान लिए पनि उनीहरूको संग्लनता नदेखिएका कारण छाडेको छ ।

प्रकाशित : माघ १५, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?