२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

आईसीयूमा राख्न सुझाव

अतुल मिश्र

काठमाडौँ — अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति अवलोकन गरिरहेको चिकित्सा टोलीले उनलाई इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा सार्नुपर्ने सुझाव दिएको छ ।

आईसीयूमा राख्न सुझाव

अनशनको २१ औं दिन मंगलबार डा. केसीले आईसीयूमा भर्ना हुन अस्वीकार गरेका छन् । टोलीका चिकित्सक डा. प्रमेशसुन्दर श्रेष्ठका अनुसार लामो अनशनले गर्दा शरीरमा ‘इलेक्ट्रोलाइट’ को असन्तुलन र कडा छाती दुखाइ भएकाले निरन्तर निगरानीमा राख्न आईसीयूमा सार्नुपर्ने भएको हो । उनको स्वास्थ्यमा नयाँ समस्या देखिए आकस्मिक चिकित्सकीय हस्तक्षेप आवश्यक हुने पनि टोलीको भनाइ छ ।


मंगलबार जारी गरिएको डा. केसीको स्वास्थ्य बुलेटिनमा छातीमा कडा दुखाइ भएको, सास फेर्न असजिलो भएको, निद्रामा समस्या देखिएको र उनले कमजोरी अनुभव गरिरहेको उल्लेख छ । बुलेटिनअनुसार स्वास्थ्य स्थिति क्रमश: खस्किँदै गएको छ । मुटुको चाल कम हुनुका साथै चाल हराइरहेको (मिस्ड विट) देखिएको छ । रक्तचाप स्थिर छ । उनलाई अतिरिक्त अक्सिजन दिएर राखिएको छ । शरीरमा ग्लुकोज र पोटासियम पनि कम भएको छ । उनले कुनै प्रकारको ‘इलेक्ट्रोलाइट’ लिनसमेत अस्वीकार गरेका छन् । पिसाबमा पहिलेदेखि नै एसिटोन पोजेटिभ देखिएको छ ।


‘संवाद सुरु गर्नुपर्छ’

ऐक्यबद्धता जनाउन अनशनस्थलमा मंगलबार पुगेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारले तुरन्त डा. केसीसँग संवाद गर्नुपर्ने बताएका छन् । उनले चिकित्सा शिक्षासम्बन्धी विधेयकको प्रक्रिया यथास्थितिमा रोकेर संवाद गर्न सुझाव दिएका छन् । डा. केसीलाई भेटेपछि कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘दुई तिहाइ बहुमतको सरकारले गरेको सहमति पूरा गर्ने क्षमता राखेन भने लोकतन्त्र र राष्ट्रका लागि योभन्दा ठूलो विडम्बना केही हुँदैन । यो संवादहीनता देखेर म निराश छु ।’ सरकारले संवादका लागि सबैखाले बाटो खुला गर्नुपर्ने पनि उनले बताए ।


सरकारले कसैको न्यायोचित माग सम्बन्धमा सहमति गर्छ भने त्यसलाई कार्यान्वयन गर्ने इच्छा शक्ति, इमानदारी र क्षमताको पनि प्रदर्शन गर्नुपर्ने उनले बताए । ‘कुनै कारणले त्यो सहमति कार्यान्वयन गर्न सकेन भने सरकारले आफ्नो जनाधारको पुनर्मूल्यांकन गर्नुपर्ने हुन्छ । सहमति इमानदार थियो र सरकारको पक्षमा जनमत कायम छ भने त्यो सहमति कार्यान्वयन गर्ने इमानदार प्रयास र क्षमता सरकार प्रदर्शित गरेरै सरकारले आफ्नो औचित्य प्रमाणित गर्नुपर्छ ।’


‘प्रधानमन्त्रीज्यूले वा सरकारले अहिलेको प्रक्रिया यथास्थितिमा रोकेर संवादको ढोका खुला गरेर कुनै पूर्वाग्रहबिना संवादको च्यानल ओपेन गर्नुपर्छ,’ श्रेष्ठले भने ।


कांग्रेसका नेता अर्जुननरसिंह

केसीले पनि मंगलबार केसीलाई भेटी उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका थिए । उता, सरकारले तुरुन्त संवाद सुरु गरी केसीका माग पूरा गर्नुपर्नेलगायत माग राखी नेपाल चिकित्सक संघले सुरु गरेको रिले अनशन मंगलबार पनि जारी रह्यो । सरकारले संवेदनशीलता नदेखाए सबै चिकित्सकले काम छोडेर दिनहुँ १० देखि ५ बजेसम्म रिले अनशन बस्नुपर्ने अवस्था आउने पनि संघले बताएको छ । स्वास्थ्य मन्त्रालयले भने आफूले प्रदान गर्नुपर्ने सेवा यथावत् रूपमा सञ्चालन गर्न स्वास्थ्यकर्मी/चिकित्सकलाई अपिल गरेको छ ।

प्रकाशित : माघ १६, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?