कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय पुस्तकालयलाई जमलको जग्गा

आफ्नो जग्गा हडप्न खोजेको भन्दै त्रिवि र शंकरदेव क्याम्पसको विरोध
गणेश राई

काठमाडौँ — सरकारले भूकम्पले क्षतिग्रस्त नेपाल राष्ट्रिय पुस्तकालयको नयाँ संरचना बनाउन जमलस्थित करिब ८ रोपनी जग्गा दिएको छ । त्रिभुवन विश्वविद्यालयले उपभोग गर्दै आएको उक्त जग्गा र त्यसमा रहेका संरचना मन्त्रिपरिषदको असोज २८ गतेको निर्णयबाट पुस्तकालयलाई दिइएको हो ।

राष्ट्रिय पुस्तकालयलाई जमलको जग्गा

मालपोत कार्यालयले जमलस्थित कित्ता नं. १२७० को ४ हजार ६७ दशमलव ८५ वर्गमिटर जग्गा राष्ट्रिय पुस्तकालयको नाममा धनीपुर्जा जारी गरेको छ । उक्त जग्गा र त्यसभित्रका भवन यसअघि त्रिभुवन विश्वविद्यालयले भोगचलन गर्दै आएको थियो । त्यहाँ हाल त्रिविअन्तर्गत शंकरदेव क्याम्पसले एमबीए कक्षा सञ्चालन गर्दै आएको छ । त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त जग्गा कुनै हालतमा नछाड्ने अडान लिएका छन् । शंकरदेव क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले भने जग्गा जोगाउन प्रतिपक्ष गुहार्ने बताएका छन् ।


त्रिवि र क्याम्पसले ठाउँ नछाड्ने अडान लिएपछि गृह मन्त्रालय, शिक्षा मन्त्रालय, काठमाडौं महानगरका जनप्रतिनिधि र पुस्तकालय प्रतिनिधिको रोहवरमा उक्त जग्गा परिसरको मूलढोकामा पुस १५ गते मुचुल्का गरी ताला लगाइएको छ । शिक्षा मन्त्रालयले माघ ३ को मन्त्रीस्तरीय निर्णय गरी नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण स्थलमा कुनै पनि शैक्षिक क्रियाकलाप सञ्चालन नगर्न र आफ्नो फर्निचर तथा कागजात स्थानान्तरण गर्न शंकरदेव क्याम्पसलाई निर्देशन दिएको छ ।


पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले स्थिति सुल्झाएर अघि बढ्ने प्रयास भइरहेको बताए । ‘हरिहर भवनको मन्त्री आवाससँगै रहेको पुस्तकालय यतिखेर जीर्ण अवस्थामा छ,’ उनले भने, ‘भूकम्पपछि तबेला भवनमा पुस्तकालयको कार्यालय र बाल पुस्तक कक्षा सुचारु छ । मन्त्रिपरिषद्ले यो तबेला क्षेत्रमा अतिथिगृह बनाउने निर्णय गरिसकेको छ । त्यसैले सरकारले दिएको जग्गामा व्यवस्थापन गर्नैपर्छ ।’


शंकरदेव क्याम्पस प्रमुख आचार्यले भने विश्वविद्यालयको जग्गा प्रधानमन्त्री र शिक्षामन्त्रीले अर्को निकायलाई पास गरिदिनु गलत भएको बताए । ‘विश्वविद्यालयलाई जानकारी नदिई जबर्जस्ती सरकारले राष्ट्रिय पुस्तकालयलाई जग्गा दिएको छ,’ उनले कान्तिपुरसँग भने, ‘सरकारले सहयोग गरेन । त्यसैले अब हामी प्रतिपक्ष (कांग्रेस) र अदालत गुहार्छौं ।’ सरकारभन्दा विश्वविद्यालय माथि रहने उनले बताए ।


त्रिवि उपकुलपति खनियाँले सरकारको जग्गा विश्वविद्यालयले भोगचलन गर्दै आएको र त्रिविकै कतिपय जग्गा पनि सरकारका निकायले उपभोग गर्दै आएको बताए । जमलको जग्गा तेस्रोपटक सरकारले हडप्न खोजेको आरोप उनले लगाए । ‘सरकार र विश्वविद्यालय लालपुर्जाको भरमा होइन, आपसी सहमतिको भरमा अघि बढ्ने हो,’ उनले भने, ‘लालपुर्जाले रोक्दैन । हामी सरकारलाई त्रिविको जग्गा दिँदैनौं ।’


शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले मन्त्रिपरिषदको निर्णयलाई जुनसुकै निकायले पालना गर्नुपर्ने बताए । ‘क्याबिनेटले गरेको निर्णय जसले पनि पालना गर्नुपर्छ । आफू प्रतिकूल भयो भने पालना गर्दिनँ भन्न पाइन्न,’ उनले भने । जमलको मूलढोकामा एकातर्फ शिक्षा मन्त्रालयको मुचुल्का र अर्कोतर्फ त्रिवि रजिस्ट्रारको कार्यालयले जारी गरेको पत्र टाँसिएको छ ।


डेढ लाख पुस्तक बोरामा

भूकम्पले ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि त्यहाँका डेढ लाख पुस्तक बोरामा थन्किएका छन् । तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थसमेत लथालिंग छन् । पुस्तकालयको प्रशासनिक काम हरिहर भवनको घोडा तबेलाका टहरामा सुचारु छ ।


पुस्तकालय प्रमुख मैनालीका अनुसार भूकम्पपछि ती पुस्तकमध्ये ८० हजार थान काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको दुईतले भवनमा पुर्‍याइएको छ । करिब २१ हजार थान पुस्तक सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको गोदाममा छन् । आधाजति मात्र र्‍याकमा राखिएको छ । झन्डै सात हजार थान बालपुस्तक र नयाँ खरिद गरिएको तीन हजार पुस्तक हरिहर भवनकै बालशाखामा गोदामभित्र बोरामा राखिएको छ ।


‘दुर्लभ हस्तलिखित ७ सय ५० वटालाई ट्याग गरेर राखेका छौं,’ मैनाली भन्छन् । भूकम्पबाट पुस्तक जोगिए पनि राष्ट्रिय पुस्तकालयले सेवा दिन सकेको छैन । ऐतिहासिक महत्त्वका हजारौं पुस्तकलाई कीरा लाग्नबाट जोगाउन कपुर र बेगन प्रयोग गरिएको छ । बर्खामा पानी पसेर किताब भिजेका छन् भने धमिरासमेत लागेको छ । कतिपय पुस्तक तथा कागजात धुजाधुजा भएका छन् । हस्तलिखित ग्रन्थमध्ये केहीलाई कपडाले बेरेर राखिएको छ ।


यसअघिको रेकर्डअनुसार राष्ट्रिय पुस्तकालयमा दर्ता गरिएका १ लाख ८ हजार किताब र पत्रपत्रिकासहित १ लाख ५० हजारभन्दा बढी छन् । पुस्तकालयले नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा विस्तार गरेको थियो । पुस्तकालयमा तीलगायत मराठी, पाली, फ्रेन्च, जापानिज, थाई, मलेसियन र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् ।


प्रमुख मैनालीले जमलको जग्गामा पुस्तकालय व्यवस्थापन तथा नयाँ भवन निर्माण कार्ययोजना निर्माणमा जुटेको बताए । राष्ट्रिय पुस्तकालयमा २३ कर्मचारी दरबन्दी रहेकामा कटौती भई हाल १५ जना कार्यरत छन् । चालु आर्थिक वर्षमा राष्ट्रिय पुस्तकालयको बजेट ८९ लाख रुपैयाँ छ । त्यसमध्ये अधिकांश रकम कर्मचारी तलब भत्तामा सकिन्छ । सरकारले २०१३ पुसमा स्थापना गरेको पुस्तकालय राजगुरु हेमराज पाण्डेका निजी पुस्तक खरिद गरेर सुरु गरिएको थियो । सुरुमा सिंहदरबार परिसरको सिक्री ढोका भवनमा रहेको पुस्तकालय २०१७ सालमा हरिहर भवन सारिएको थियो ।


प्रकाशित : माघ १८, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?