कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुरीतिविरुद्ध लड्न एकमत

बाबुले छोरीलाई स्कुल जान नदिँदा धेरैका आँखा रसाउँछन्
भूषण यादव

वीरगन्ज — भाइलाई स्कुल गएको देखेर एक बालिकाले स्कुल जाने चाह्ना राखेपछि वयस्क युवकले झपारेको दृश्यले सबैलाई मञ्चतर्फ एकाग्र बनायो । नाटकमा ती बालिकाको बुबा बनेका ती युवकले छोराले पढेपछि बिहेमा दाइजो ल्याउँछ, क्यास पैसा ल्याउँछ, मोटरसाइकल ल्याउँछ, तिमीलाई पढाए पनि नपढाए पनि चुलामै सीमित बन्ने भन्दै स्कुल जान दिँदैनन् ।’ 

कुरीतिविरुद्ध लड्न एकमत

समुदाय–प्रहरी साझेदारीअन्तर्गत पर्सामा बालविवाह, लैंगिक हिंसा, लागूऔषध, दाइजो प्रथालगायत कुरीतिविरुद्ध अभियान थालिएको छ । बिहीबार वीरगन्ज महानगरपालिका २६ सुगौलीविर्तामा विद्यार्थी, अभिभावक, शिक्षकलगायतको सहभागितामा समाजमा व्याप्त विभिन्न कुरीति विरुद्धको नाटक प्रदर्शन गरिएको थियो ।


लैंगिक हिंसा, बालविवाह, बाहिर शौच र दाइजोले परिवारमा निम्त्याउने घरेलु हिंसालाई चित्रण गरिएको नाटक सबै एकग्र भएर हेर्ने गरेका छन् । बाबुले छोरीलाई स्कुल जान नदिँदा धेरैको आँखा रसाउँछ । बाहिर शौचले परिवारप्रति समाजले हेर्ने दृष्टिकोण र सानै उमेरमा खेतीदेखि घरायसी कामको बोझले परेको मानसिक र शारीरिक पीडाबारे नाटकमा प्रस्तुति गरिन्छ । नाटक हेर्न आएका वृद्ध महिलाका आँखाबाट असरल्ल आँसु झर्छन् । अभिभावकले उमेर नपुगेका छोरा/छोरीको विवाह नगर्ने प्रतिबद्धता गर्छन् । विद्यार्थीहरूले पनि जीवनमा आत्मनिर्भर भएर मात्र विवाह गर्ने सामूहिक प्रतिबद्धता जनाउँछन् ।


कार्यक्रमका सहजकर्ताले वर्षौं देखि चलिआएको कुरीतिविरुद्ध प्रतिबद्धता जनाउन सबैमा आग्रह गर्छिन् । अभियानअन्तर्गत भिस्वा, जगरनाथपुर, पटेर्वासुगौलीमा जनचेतनामूलक नाटकमार्फत विद्यार्थी र अभिभावकलाई सचेत गराइसकिएको छ । समाजमा व्याप्त रहेका कुरीतिले ल्याएका अनेक जटिलता नाटकमार्फत प्रदर्शन गर्दै जागरुक बनाउन अभियान थालिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।


उनका अनुसार उमेर नपुग्दै वैवाहिक बन्धनमा बाँधिँदा समाजमा अनेक जटिलता आइपर्छन् । अभिभावक र विद्यार्थीमा नाटक प्रभावकारी देखिएको छ । नाटक हेरेर भावुक बनेकी ४५ वर्षीया अनिता देवीले भनिन्, ‘मैले भोगेको दु:ख मेरा सन्तानले भोग्दैनन्, छोरीलाई पनि स्कुल पठाउनुपर्छ ।’


दलित, हरिजन र पिछडिएका जातिमा बालविवाहको डरलाग्दो स्थिति देखिएको छ । कानुनले बालविवाहलाई अपराध मान्दै सजायको व्यवस्था गरेको छ । तर, पनि नियन्त्रणमा समस्या देखिँदै आएकाले यसका नकारात्मक प्रभावबारे जानकारी दिएर समाजलाई नै विकृति बहिष्कारतर्फ अघि बढाउन अभियान थालिएको हो । स्थानीय तहको सहकार्यमा थालिएको प्रहरी साझेदार अभियान प्रभावकारी बन्दै गएपछि विभिन्न पालिकाबाट आफ्नो गाउँ/वडामा जनचेतनामूलक कार्यक्रम गरिदिन माग आइरहेको छ ।


सानै उमेरमा छोरीको बिहे गरिदिए धेरै लगानी गर्नु नपर्ने र दाइजो कम दिए पुग्नेजस्तो कारणले मधेसमा अझै बालविवाहको प्रचलन व्याप्त छ । छोरीलाई स्कुल नपठाउने, पक्की घर भए पनि शौचालय निर्माण नगर्ने, कुलतमा फसेर परिवारमा हिंसा गर्ने लगायतका कुरीति अझै व्याप्त छन् । त्यस विरुद्ध लड्न कार्यक्रममा सहभागी युवा विद्यार्थीलाई सचेत बनाइन्छ । आफ्नो वरिपरि कुनै कुरीति भइरहेको छ भने त्यसको जानकारी तुरुन्त प्रहरीलाई दिन आग्रह समेत गरिन्छ । चौकी, कार्यालय र प्रहरी हाकिमको नम्बर सबैलाई टिपोट गराइन्छ । बालरोग विशेषज्ञका अनुसार सानै उमेरको विवाहले शारीरिक, मानसिक र संवेगात्मक विकासमा असर पर्छ ।


छिटै सन्तान जन्माउँदा रोगी हुने, शारीरिक र मानसिक रूपमा कमजोर हुने गरेका छन् । त्यसका कारणले पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुने, विभिन्न यौन रोग र फिस्टुलाको समस्या देखिएको छ । महिला तथा बालबालिका कार्यालयले दुई वर्षअघि गरेको जिल्लाका महिलाको लैंगिक हिंसासम्बन्धी अध्ययनले ७५ प्रतिशत हिंसा बालविवाह र त्यसको असरका कारण भएको देखाएको थियो ।


अधिकांश बालिका शारीरिक, मानसिक दुर्बलता र परनिर्भरताका कारण हिंसामा छन् । बालविवाहका कारण पुरुषसरह शिक्षा नहुने, परनिर्भर हुने र शरीर पनि कमजोर हुने कारण मधेसका धेरै महिला हिंसामा परेका छन् ।

प्रकाशित : माघ १८, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?