१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

२४ औं दिनमा डा. केसीको अनशन स्थगित 

अतुल मिश्र

काठमाडौँ — डा. गोविन्द केसीले शुक्रबार २४ औं दिनमा आफ्नो १६ औं आमरण अनशन स्थगित गरेका छन् । केसीले शुक्रबार राति ७ बजे पत्रकार सम्मेलन गरी अनशन स्थगित गरे पनि चिकित्सा शिक्षा र सेवा सुधारको आफ्नो अभियान जारी रहने बताएका छन् ।

२४ औं दिनमा डा. केसीको अनशन स्थगित 

केसीले सरकारले मानवीय संवेदना र लोकलाज गुमाएको भन्दै ‘यस्तो अवस्थामा सत्याग्रह जारी राख्दा असहज अवस्था सिर्जना हुने र बिरामीले दु:ख पाउने’ भएकाले आफूले अनशन स्थगित गरेको उनले बताए ।


उनले प्रेस विज्ञप्ति जारी गरी सरकार र प्रधानमन्त्री केपी ओलीमा संस्थागत र व्यक्तिगत इमान तथा विश्वसनीयता नभएको आरोप लगाए । ‘प्रधानमन्त्री आफैंले विगतमा गरेको निर्णय र गराएको सम्झौताबाट विचलित हुनु, आफ्नो बेइमानी र अनैतिक कामको बचाउ गर्नुले प्रधानमन्त्रीको निर्णय क्षमता प्रभावित भएको देखाउँछ,’ उनले भनेका छन् ।


उनले सरकारले तीन करोड जनताको हित नहेरी आफूनिकट केही व्यक्तिका लागि कानुन बनाउन खोजेकाले यसलाई नीतिगत भ्रष्टाचार तथा जनमतको अपमानको उत्कृष्ट उदाहरण भनेका छन् । उनले सरकार र सत्तारूढ दलको वैधतामाथि समेत गम्भीर प्रश्न उठेको बताएका छन् । ‘सम्बन्धनको विकृतिलाई कानुनी वैधता दिने र यसबाट सीमित मुट्ठीभर आसेपासेलाई फाइदा पुर्‍याउने सरकारको नियत प्रस्टै देखिन्छ,’ उनको विज्ञप्तिमा भनिएको छ ।


पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, नागरिक समाजका अगुवा र तत्कालीन माथेमा कार्यदलका पदाधिकारीको आग्रह र दबाबमा डा. केसीले अनशन स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत बिहीबार केसीलाई भेटेर स्वास्थ्यलाई ध्यान दिई अनशन स्थगित गर्न आग्रह गरेका थिए ।


यसअघि प्रतिनिधिसभाबाट पारित भइसकेको चिकित्सा शिक्षा विधेयक शुक्रबार राष्ट्रिय सभाले पारित गरेपछि नागरिक अगुवाले केसीलाई अनशन स्थगित गर्न आग्रह गरेका थिए । केसीले आफ्नो १५ औं अनशनमा गरिएका सहमति सरकारले विधेयकमा तोडमोड गरिएको बताउँदै अनशन थालेका थिए । उनले संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्था, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्नुपर्ने पनि माग गरेका थिए ।


दुई तिहाइको सरकारले बलैले मिचेर विधेयक पारित गरेको र सत्याग्रहको सम्मान गर्नुको साटो बलपूर्वक प्रतिकार गर्ने तथा हिंसात्मक प्रवृत्तिलाई बढावा दिने काम गरेको भन्दै शुक्रबारै नागरिक समाजका अगुवा र शुभेच्छुकले उनको बिग्रँदो स्वास्थ्य स्थितिका कारण दबाबका अन्य उपाय अपनाउन सुझाव दिएका थिए ।


‘सत्याग्रहजस्तो अहिंसात्मक आन्दोलनमा हिलो छ्याप्ने डरलाग्दो प्रवृत्ति देखिएको’ विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, भोजराज पोखरेल, सुरेन्द्रप्रसाद पोखरेल, प्रभु बुढाथोकी, दिनेश प्रसाईं र रवीन्द्रसिंह बानियाँले वक्तव्य प्रकाशित गरी डा. केसीलाई जीवनरक्षाका लागि हाललाई अनशन तोड्न आग्रह गरेका थिए ।


पूर्वराष्ट्रपति यादवले पनि केसीलाई भेटेर स्वास्थ्यका कारण अनशन स्थगित गरेर सत्याग्रह जारी राख्न सुझाएका थिए । केदारभक्त माथेमा, प्रा. मदन उपाध्याय, प्रा. रमेशकान्त अधिकारी, डा. अर्जुन कार्की, डा. भगवान कोइरालाले नाजुक स्वास्थ्यलाई ध्यान दिँदै केसीलाई अनशन तोड्न आग्रह गरेका थिए ।


केसीले पूर्वप्रधानन्यायाधीश कार्की र त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी अमृत पुजारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । अनशन स्थगित गरेपछि केसीलाई त्रिवि शिक्षण अस्पतालको आईसीयूमा राखिएको छ । डा. प्रमेशसुन्दर श्रेष्ठका अनुसार स्वास्थ्यमा देखिएको जटिलताका कारण डा. केसीलाई केही दिन आईसीयूमै राख्नुपर्ने हुन्छ । शनिबारदेखि डाइटिसियनको सुझावमा झोल खाद्य पदार्थ दिन सुरु गरिनेछ ।


२०६९ असार २१ मा सुरु भएको पहिलो ४ दिने अनशनपछि हालसम्म डा. केसी दुई सय १२ दिन अनशन बसिसकेका छन् । पहिलोपटकको अनशनमा उनले राजनीतिक हस्तक्षेप बन्द गरी वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गरिनुपर्ने माग राखेका थिए । लगत्तै २०६९ साउन २७ गतेदेखि पहिलेकै विषयमा उनी दोस्रोपटक ६ दिन अनशन बसेका थिए । यसपछि हालसम्म मागमा सहमति गर्ने तर कार्यान्वयनमा आलटालले गर्दा अनशनको क्रम १६ सम्म पुगिसकेको छ ।

यो पनि पढौं : चिकित्सा शिक्षाका अभियन्ता डा. केसीको १६ औं अनशन सुरु

प्रकाशित : माघ १८, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?