कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेशमा नेपालीमूलका मन्त्री

छैटौंपल्ट सांसद भएका वीरबहादुर जनवरी ७ मा गठित नयाँ मन्त्रिमण्डलमा चितागोङ (चटगाव) हिल ट्रयाक्ट्स अफेयर्स मन्त्री बनेका छन् । उनी सन् १९९८ मा सहायकमन्त्री र २००८ मा राज्यमन्त्री बनेका थिए । 
पर्वत पोर्तेल

ढाका, बंगलादेश — बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे ।

बंगलादेशमा नेपालीमूलका मन्त्री

यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन््– ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु ।’ प्रधानमन्त्रीको कुरा सुनेर राजदूत भुसाल छक्क परेछन् । उनले कान्तिपुरसँग फोनमा भने, ‘बंगलादेशमा नेपालीमूलका मान्छेको बसोबास छ भन्ने थाहा थियो । तर, नेपालीमूलका मन्त्री नै छन् भनेर प्रधानमन्त्रीले भनेपछि चकित भएँ, गर्व लाग्यो ।’


नेपालीमूलका वीरबहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री छन् । गत निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले बहुमत हासिल गरेपछि जनवरी ७ मा नयाँ मन्त्रिमण्डल गठन भएको थियो । वीरबहादुरलाई चितागोङ ९चटगाव० हिल ट्रयाक्ट्स अफेयर्स मन्त्रीको जिम्मेवारी दिइएको छ ।


बंगलादेशको उत्तरीपूर्वी सीमामा खाग्रासरी, रांगामाटी र वान्दरवन जिल्ला छन् । यी तीनै जिल्लाको साँधसीमा भारत र म्यानमार ९बर्मा० सँग जोडिन्छ । हालै सम्पन्न ११ औं संसदीय निर्वाचनमा वान्दरवन क्षेत्रबाट विजयी बनेपछि वीरबहादुर छैटौं पटक सांसद बने । सँगै पहिलो पटक क्याबिनेट मन्त्री पनि । उनले यही क्षेत्रबाट सन् १९९१ मा पहिलोपटक सांसद जितेका थिए । त्यसपछि वीरबहादुर सन् १९९८ मा सहायक मन्त्री र २००८ मा राज्यमन्त्री बनिसकेका थिए ।

वीरबहादुर मन्त्री बनेपछि बंगलादेशको अखबार ‘एसियन एज’ले गत जनवरी २० को अंकमा उनको राजनीतिक योगदानको चर्चा गर्दै कभरेज गरेको थियो । अखबारका अनुसार सन् १९७६ मा वीरबहादुरले वान्दरवन सरकारी स्कुलबाट माध्यमिक पढाइ सके । त्यसपछि उच्च शिक्षाका लागि चितागोङ ९चटगाव० सरकारी कलेज भर्ना भए । यही क्रममा विद्यार्थी संगठन बंगलादेश छात्र लिगमा आबद्ध भए । पछि छात्र लिगको सचिव बने । पढाइसँगै राजनीतिमा आबद्ध वीरबहादुरले राजशाही विश्वविद्यालयवाट राजनीतिकशास्त्रमा मास्टर्स गरे । सन् १९९२ मा उनी अवामी लिगमा पूर्ण रूपमा आबद्ध भइसकेका थिए ।


पार्टीले युवाहरूको संगठन बंगलादेश अवामी जुवा ९युवा० लिगको स्थायी कमिटी सदस्य बनाएको थियो । सन् १९९१ मा पार्टीले सांसदको टिकट नै दियो । पहाडी क्षेत्रमा बसोबास गर्ने नेपालीमूलका बंगलादेशीसँगै रैथाने आदिवासी जनजातिहरू मग, मार्मा,

चाक्मा, त्रिपुरालगायत समुदायको मतले सांसदमा विजयी बने । ‘यो क्षेत्रमा मन्त्री वीरबहादुर ज्यादै लोकप्रिय छन्,’ बंगलादेशको पाब्ना जिल्लाका नेपालीभाषी शमशेर थापा मगरले भने, ‘उनले अहिलेसम्म हारेकै छैनन् ।’


सन् १९६० जनवरी १० मा पहाडी जिल्ला वान्दरवनमा जन्मिएका वीरबहादुरका पिताको नाम लालमोहन बहादुर हो । आमाको नाम मा छोइ हो । वीरबहादुरकी आमा बंगलादेशी आदिवासी मार्मा समुदायकी हुन् । वान्दरवन क्षेत्रका नेपालीभाषीका अनुसार वीरबहादुरका पिता लालमोहन बहादुर ब्रिटिस शासनकालमा गोर्खा सैनिकका रूपमा नेपालबाट आएका थिए । उनी नेपालको कुन ठाउँबाट आएका थिए भन्नेबारे यहाँका नेपालीहरूलाई थाहा छैन ।


लालमोहनले ब्रिटिस सेनाको पक्षमा जापानी सेनाविरुद्ध युद्ध लडेका थिए । त्यही क्रममा जापानी फौजको आक्रमणबाट ज्यान बचाउन लालमोहन मार्मा भन्ने स्थानको राजदरबारमा लुकेका थिए । हालको बंगलादेशमा पर्ने मार्मामा पहिला रजौटा थियो । उनलाई त्यहींका राजाले लुकाएर ज्यान जोगाएको र पछि आफ्नी छोरी बिहे गरेर यतै राखेको थापाले बताए । ‘हामीले सानैदेखि सुनेको कथा यही हो,’ उनले भने ।


वीरबहादुरले सकेसम्म आफू नेपालीमूलको हुँ भन्ने परिचय दिन हिच्किचाउने गरेको नेपालीभाषीहरूको बुझाइ छ । ‘बाबु बितेर गएपछि सबै संस्कार, संस्कृति आमातर्फको मार्मा समुदायकै सिके,’ थापाले भने, ‘यिनलाई आफ्ना पूर्वज नेपाली हुन् भन्नेसम्म थाहा हुन सक्छ, अरू केही थाहा छैन ।’


घट्दै नेपाली

बंगलादेशमा नेपालीहरूको इतिहास करिब २ सय वर्ष पुरानो छ । धेरैजसो नेपाली ब्रिटिस शासनकालमा आएका थिए । केहीचाहिँ पछि पनि काम खोज्दै आएका थिए, जतिबेला कुनै राजनीतिक सिमाना थिएन । धेरैजसो चौकिदारी गर्थे । अनि जुट मिलमा श्रमिक थिए । निक्कै कम मात्रै सेनामा आबद्ध थिए ।


जागिर सकिएर कति फर्किए । तर, कतिपय यतै रैथानेसँग घरजम गरेर बसेको पाइन्छ । विगतमा नेपाली–नेपालीबीच मात्रै बिहेसम्बन्ध हुन्थ्यो । अहिले त्यो सम्भव छैन । ‘अहिले धेरैजसो बंगलादेशीसँग मिसिइसके भइसके,’ नेपाली दूतावासमा कार्यरत रिया क्षत्री भन्छिन्, ‘नेपाली–बंगलादेशीबीच बिहेबारी बढदो छ । हिन्दु–मुस्लिमबीच पनि सम्बन्ध जोडिइरहेको छ ।’


धेरैलाई नेपाली बोल्नै आउँदैन । भाषा, संस्कृति, रहनसहन सबै मासिँदै गएको छ । नेपाली दूतावासमा कार्यरत रिया भन्छिन्, ‘मैले पनि दूतावासमा काम गर्न थालेपछि नेपाली बोल्न सिकेकी हुँ ।’ रिया उत्तर बंगलादेशको पार्वतीपुरमा जन्मिएकी हुन् । उनको मूल बसोबास अहिले पनि त्यहीं छ । जागिरका कारण अहिले ढाका बस्छिन् ।


खासगरी चितागोङ नजिकको पहाडी इलाका रांगामाटी, राजधानी ढाकाको नखलापाढा, सिलेट, पाब्नालगायत क्षेत्रमा नेपालीमूलका मान्छेको बढी बसोबास छ । रांगामाटी क्षेत्रमा नेपालीमूलका २ सय परिवार छन् । कार्यवाहक राजदूत धनबहादुर ओली भन्छन्, ‘बंगलादेशका खासगरी पहाडी क्षेत्रमा नेपालीको बसोबास ज्यादा छ । छरिएर बसेका छन् ।’


नेपालीमूलका बंगलादेशीमा उच्च पदमा पुग्ने वीरबहादुर मात्रै हुन् । अन्य न व्यापारी–उद्योगपति छन् । न त प्रतिष्ठित व्यक्ति नै । मुख्य पेसा चौकिदारी नै हो । गाडी चालक पनि छन् । उद्योगधन्दामा काम गर्ने श्रमिकको संख्या अलि बढी छ ।

प्रकाशित : माघ १९, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?