१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हुलाकी राजमार्ग युद्धस्तरमा निर्माण गर्छौं  : प्रधानमन्त्री

भरत जर्घामगर

सिरहा — प्रधानमन्त्री केपी ओलीले अन्याय, घूसखोरी, भ्रष्टाचार सरकारलाई सह्य नहुने बताएका छन् । देशको रक्षा, जनताको भलाई, गरिबी निवारण, जनताको उत्थानका लागि काम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए । 

हुलाकी राजमार्ग युद्धस्तरमा निर्माण गर्छौं  : प्रधानमन्त्री

सदरमुकाम सिरहा बजारस्थित चन्द्र मावि प्राङ्गणमा आयोजित पूर्वसांसद हेमनारयण यादवको १५ औं स्मृतिसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार उत्साह र उमंगका साथ देश विकासको बाटोमा अगाडि बढेको दाबी गरे । ‘देश विकासका लागि मसँग जादुको छडी छैन, सडक चौंडा गर्न सजिलो हुन्न’ प्रधानमन्त्री ओलीले भने ‘विकासका काम एकैछिनमा भइहाल्दैन तर हेर्दै, गर्दै जाँदा हुँदै जान्छ, अलिकति समय लाग्छ, तर विकास हुन्छ ।’ मधेसको लाइफलाइन मानिने हुलाकी राजमार्ग युद्धस्तरमा निर्माण गरिने प्रधानमन्त्री मन्त्री ओलीले आश्वासन दिए ।


रिले अनशनमा बसेकाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले हुलाकी मार्ग निर्माण गर्ने स्वयं सरकार आइसकेपछि रिले अनशनमा भोको बस्न नपर्ने बताए । हुलाकी मार्गको निर्माण एक वर्षभित्रमा सक्नुपर्ने माग राखि रामरिझन यादवको संयोजकत्वमा एक महिनादेखि हुलाकी सडकको महावीर चोकमा रिले अनशन बसेका थिए । सरकारको आश्वासनसँगै शनिबारै संघर्ष समितिले अनशन तोडेको छ ।


चन्द्रगढी विमानस्थलबाट रात्रिसेवा सुरु गरेको बताउँदै उनले जनकपुर विमानस्थलबाट रात्रिसेवा चाँडै सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । आउँदो वर्ष वृद्ध भत्ता बढाउने उनले उद्घोष गरे । उनले वृद्ध भत्ता वृद्धि भएपछि विपक्षीको मुखमा बुजो लाग्ने बताए ।


सिरहा शिक्षामा सबैभन्दा पछाडि परेको जिल्ला भएको बताउँदै उनले आजका शिशुलाई २० वर्षसम्म शिक्षामा लगानी गरे यही ठाउँ विद्धानको स्थल बन्ने बताए । सानो जात, गरिबी भनेर हेप्ने जमाना गएकाले अब अपांगलाई हेला गर्नुभन्दा माथि उठ्न उनले सबैलाई आग्रह गरे ।


२०५६ सालमा तत्कालीन नेकपा एमालेबाट सिरहा क्षेत्र नम्बर ४ का लागि निर्वाचित सांसद हेमनारायण यादवको धनगढी पार्टीको बैठकमा भाग लिन जाने क्रममा पूर्व-पश्चिम राजमार्गको कसाहास्थित गागन खोलाको दोस्रो पुलबाट २०६० माघ १९ गते अपहरण भएको थियो । यादवको शव भोलिपल्ट अपहरण भएको स्थानभन्दा ३० किलोमिटर टाढा कमला नदीको पुलभन्दा ५ सय मिटर दक्षिणमा पोर्ताहामा फेला परेको थियो । सांसद यादवको हत्या भएको १५ वर्ष बितिसके पनि दोषी पत्ता लाग्न सकेको छैन । हत्या भएको माघ १९ को सम्झनामा सिरहामा सांसद यादवको स्मृतिसभा मनाउँदै आएको छ ।


यसैबीच प्रधानमन्त्री ओलीले नेकपाको सिरहास्थित पार्टी कार्यालय भवनको शिलान्यास गरे । हेलिकप्टरबाट सिरहा सदरमुकाम आइपुगेका प्रधानमन्त्रीले सिरहा बजारस्थित स्वर्गीय हेमनारायण यादवको सालिकमा मार्ल्यापण गरेका थिए ।


स्मृति कार्यक्रमलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले तराई/मधेस समृद्धि कार्यक्रमअन्तर्गत ७० लाख बजेटमा निर्माण गर्न लागिएको चन्द्र मावि परिसरमा छात्रावास भवनको शिलान्यास गरे । सो बजेटबाट तीनतले छात्राबास भवन निर्माण गरिने विद्यालयले जनाएको छ ।

प्रकाशित : माघ १९, २०७५ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?