कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुलको सामाग्री काटेर लैजाँदै गरेको ट्रक नियन्त्रणमा

टीकाप्रसाद भट्ट

रामेछाप — बाढीले बगाएको छतिवने खोलाको मोटरपुलका स्टिलट्रसका सामाग्री काटेर लैजाँदै गरेका कवाडी व्यवसायीलाई ट्रक सहित प्रहरीले रामेछापको गेलुमा नियन्त्रणमा लिएको छ । 

पुलको सामाग्री काटेर लैजाँदै गरेको ट्रक नियन्त्रणमा

डेढ वर्षअघि रामेछापको छतिवने खोलाबाट बगाएको पुलको सामान उठाएर लैजाँदै गरेको अवस्थामा ना ५ ख ८२४९ नम्बरको ट्रक गेलुको सिक्रालमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


सामान लैजानै व्यवसायी मन्थली नगरपालिका १२ का वडा सदस्य मुकुन्द भन्ने उमेश कार्की हुन् । उनले कवाडी कारोबार गर्ने व्यक्तिलाई बोलाएर पुलको सामान काटेर ट्रकमा लोड गराएका थिए ।

लोड गरेको सामग्री मध्ये केही सामान झारिएको र केही अझै ट्रकमा रहेका छन् । प्रहरीले सामाग्री सहितको ट्रकलाई जिल्ला सदमुकाममा ल्याउने प्रक्रिया थालेको छ ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक शेष अदालतले भने,‘नियन्त्रणमा लिइएका व्यवसायीलाई कुन प्रक्रियाबाट कवाडी सामाग्री खरिद गरेको हो ? सो को प्रमाण पेस गर्न भनिएको छ ।’


तर व्यवसायीले वडाको सिफारिसको आधारमा उक्त सामाग्रीहरू लैजान लागेको बताएका छन् । वडा कार्यालयले करिब २ ट्रक सामाग्री लैजानका लागि कवाडी दस्तुर बापत ३ हजारको रसिद काटेर सामान लैजान सिफारिस दिएको थियो ।


प्रचलित कानुनमा कुनै पनि सरकारी सम्पत्तिको बेचबिखन गर्नुपर्दा लिलामी प्रक्रिया अपनाउनु पर्छ । लिलामी सूचनामा सामाग्रीको न्यूनतम मूल्याङ्कन खोलिएको हुन्छ । तर छतिवने खोलाको पुलबाट बगेका स्टिल ट्रसको कुनै पनि सरकारी निकायबाट मूल्याङ्कन गरी लिलामको सूचना आहन भएको छैन । छतिवनेबाट बगेका उक्त सामान मन्थली नगरपालिकाको १२ नम्बर अम्बास बगरमा पुगेका थिए । तामाकोसी बगरमा पुगेर आधा भाग बालुवामा छोपिएका सामग्री बारे कसैको चासो पुगेको थिएन ।


वडा अध्यक्ष कृष्णहरी अधिकारीले डेढवर्षदेखि वेवारिसे अवस्थामा कोसीको बगरमा बसेको सामाग्री आफ्नै खर्चमा झिकेर लैजान्छु भनेकाले कवाडी दस्तुर लिएर सिफारिस दिएको बताए । उनले बगेको पुलको सामान कुन निकायको हो ? भन्ने कुराको खोजी गर्दा कुनैले पनि आफ्नो भएको दाबी नगरेपछि खेर जाने सामान लैजान दिएको अधिकारीले बताए ।


बाटो खन्दै जाने क्रममा उक्त स्टिल ट्रस डोजर लगाएर कार्की आफैले निकालेको पनि अधिकारीले दाबी गरे । ‘आधा पुरिएको थियो , नझिकेको भए अर्को वर्ष बाढीले लैजान्थ्यो’ अधिकारीले भने,‘ त्यही देखेर मैले सिफारिस दिएको हो ।’ उनले उक्त पुलको सामाग्रीका बारेमा मन्थली नगरका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय प्रशासनलाई समेत जानकारी गराएको बताए ।


छतिवने खोलामा जापान सरकारको सहयोगमा निर्माण भएको उक्त पुलको तथ्याङ्क जिल्लाका कुनै पनि निकायमा छैन । डिभिजन सडक कार्यालय खुर्कोट, जिल्ला समन्वय समिति र सडक विभागको पुल महाशाखामा समेत उक्त पुलको तथ्याङ्क छैन ।


स्थानीय विकास मन्त्रालयको डोलीडार विभाग मार्फत जापनिज नागरिकको सहयोगमा निर्माण भएको उक्त पुल सम्बन्धित निकायलाई हस्तान्तरण हुनै नपाइ बगेको हो । निर्माण भएको २ वर्षमा नै बाढीले उक्त पुल बगाएको थियो ।


पाँच वर्षअघि पुष्पलाल मार्गमा पर्ने धोलिखोला पुल बाढीले बगाएको थियो । धोलिखोलाले बगाएको सडक विभागको उक्त पुलमा प्रयोग भएको स्टिलट्रसको सामाग्री तामाकोसी किनारमा ल्याएर थुपारेको थियो । कवाडीले उक्त सामान काटेर विक्री गर्न लैजाँदै गर्दा वीरगन्जमा पुगेर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : माघ २०, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?