नवनियुक्त राजदूत आचार्यले लिए शपथ

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नीलाम्बर आचार्यलाई भारतको राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् । 


आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराइन्।

मन्त्रिपरिषद्को हालैको निर्णय अनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका थिए। नेपालको इतिहासमा राष्ट्रप्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो। राष्ट्रपतिबाट शपथ लिने उनी पहिलो नेपाली राजदूत हुन्।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो।

प्रकाशित : माघ २०, २०७५ १६:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सरकारलाई गल्ती गर्नबाट रोक्न कांग्रेसको नियमित दबाब : थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारलाई गल्ती गर्नबाट रोक्न आफूहरूले प्रतिपक्षीको भूमिकामा नियमित दबाब दिइरहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको प्रारम्भमै काङ्ग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुखले काङ्ग्रेसका तर्फबाट सांसद थापालाई बोल्न समय दिएका थिए ।

सांसद थापाले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताल सरकारले विघटनको सङ्घारमा पुर्‍याएको उल्लेख गर्दै प्रतिप्रक्षी दलको नियमित दबाबका कारण सरकार उक्त गल्ती सच्याउन बाध्य भएको बताए।

उनले पूर्वप्रधानमन्त्रीद्वय कोइरालाको नाम कसैले अस्पतालबाट हटाउने प्रयास गरे पनि उनीहरूले नेपालको राजनीतिमा गरेको योगदान कसैले मेट्न नसक्ने चेतावनी दिए। सांसद थापाले प्रतिपक्षी दलसँग सरकारले गरेको व्यवहारका कारण आगामी दिनमा प्रतिपक्षीको भूमिकामा यथास्थितिमा रहने नसक्ने बताए।

डा गोविन्द केसी अनशनमा भएका बेला सरकारका तर्फबाट कुनै माग सुनुवाइ नगरी अनशन टुङ्गिएकोप्रति सरकारलाई बधाई दिँदै उनले डा केसीकै चिकित्सा शिक्षा क्षेत्रमा सुधारको अभियानले चिकित्सा शिक्षा अध्ययन गर्न रु एक करोड पुग्न लागेको शुल्क आधा कम भएको धारणा व्यक्त गरे।

डा केसीको यसअघिको अनशनका बेला स्वयं प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता कार्यान्वयन नहुँदा प्रधानमन्त्रीप्रतिको विश्वास गुमेको उनले टिप्पणी गरे। सांसद थापाले मुलुकमा शान्तिसुरक्षाको अवस्था कमजोर हुनाका साथै हत्या हिंसा बलात्कार बढेको र अर्थतन्त्र सङ्कट उन्मुख भएको भन्दै जनतामा निराश छाएको बताए।

व्यापारीहरू ब्याज चर्को भयो भनेर सडकमा आउँदासमेत सरकारले ठोस पहल गर्न नसकेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने र आफू पनि नगर्ने बताइरहँदा मुलुकमा भ्रष्टाचार बढेको तथ्याङ्क सार्वजनिक भएको अवगत गराए।

प्रकाशित : माघ २०, २०७५ १६:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT