कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सदरमुकामकाे विवाद चर्किएपछि रुकुमकोटमा कर्फ्यू 

हरि गौतम

रुकुम पूर्व — जिल्ला प्रशासन कार्यालयले रुकुमकोटमा कर्फ्यू जारी गरेको छ । स्थायी सदरमुकाम गोल्खाडा कायम गर्ने सरकारको निर्णय कार्यान्यनको मागसहित गोल्खाडा पक्षधरले रुकुमकोटमा र्‍याली तथा सभा गरी छाड्ने अडान लिएपछि प्रशासनले रुकुमकोटको ठूलो भूगोल समेटेर निषेधाज्ञा जारी गरेको हो । 

सदरमुकामकाे विवाद चर्किएपछि रुकुमकोटमा कर्फ्यू 

आइतबार बेलुकी ७ बजेटबाट सुरु भएको कर्फ्यू अनिश्चितकालका लागि भएको जनाइएको छ । प्रशासनले अनुरोध गर्दागर्दै विवाद नटुंगिएपछि घटनाक्रम बढ्न नदिन र शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) को उपदफा (३) अनुसार अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।


उनका अनुसार पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापैरा खोला, पश्चिममा सिस्ने गाउँपालिका–५, रानीकोट उत्तरमा सिस्ने गाउँपालिका–६, को रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म, दक्षिणमा सिस्ने–५, को रुमालबारा हुँदै सहिदपार्कसम्म कफ्र्यु आदेश जारी गरिएको छ ।


तोकिएको चार किल्लामा अर्को सूचना नआएसम्म कुनै किसिमको विरोध प्रदर्शन, सभा जुलुस र भेला गर्न गराउन निषेध गरिएको प्रजिअ शर्माले बताए । गोल्खाडा सदरमुकाम कायम हुनुपर्ने पक्षधरले भोली २२ गते रुकुमकोटमा शान्तिपूर्ण र्‍याली तथा सभा गर्ने तयारी गरिरहेको छ भने रुकुमकोट पक्षधरले कुनै पनि हालतमा कार्यक्रम हुन नदिने बताउँदै आएका छन् ।


जिल्लाको सदरमुकामको विषय सर्वोच्च अदालतमा विचाराधीन छ । २०७४ माघ ११ गतेको मन्त्रीपरिषद् बैठकले जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै अस्थायी सदरमुकाम रहेको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोट तथा त्यस आसपासका सर्वसाधारण आन्दोलनमा उत्रिएका थिए ।


सरकारको निर्णय खारेजको माग गर्दै २०७४ माघ १७ गते सर्वोच्चमा रिट दायर गरिएको थियो । दुवै पक्ष आ–आफ्नै अडानमा कायम छन् । गोल्खाडा पक्षधर रुकुमकोटमा कार्यक्रम गर्ने पक्षमा छन् भने रुकुमकोट पक्षधर कार्यक्रम गर्न नदिने भनेर आन्दोलनमा छन् ।


समस्या बढ्दै गएपछि जिल्लामा सुरक्षाकर्मी थपिएका छन् । समस्या समाधानका लागि शनिबार र आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक विना निष्कर्ष सकिएको थियो । दुवै पक्ष अडानबाट पछि नहटेपछि छलफलमा कुनै निस्कर्ष आउन सकेन ।


रुकुमकोट पक्षधर संघर्ष समितिका संयोजक नन्दलाल शर्माले रुकुमकोटमा कुनै पनि हालतमा बाहिरको कार्यक्रम गर्न नदिने बताए । गोल्खाडा पक्षधर सरोकार समितिका संयोजक केशरमान रोकाले सरकारी अड्डा रहेकै ठाउँमा र्‍याली गर्ने र शान्तिपूर्ण र्‍याली, सभा तथा विरोध गर्न पाउने अधिकार जनताको नैसर्गिक अधिकार भएको बताए ।

प्रकाशित : माघ २१, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?