कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भीर छिचोल्दै विद्यालय

धनकुटा — विद्यालय जाने क्रममा पाख्रिबास नगरपालिका चुङमाङका ६ वर्षीय विपेन योञ्जनले गत वर्ष ज्यामिरे खोलाले बगाएर ज्यान गुमाउनुपर्‍यो । उनका दाजु दिनेशलाई उद्धार गरी बचाइयो ।

भीर छिचोल्दै विद्यालय

खोलाले बगाएर बर्सेनि ज्यान गुमाउनेको संख्या प्रहरी कार्यालयको तथ्यांकमा बढिरहेको छ । खासगरी ग्रामीण क्षेत्रमा पर्याप्त पुल अभावमा यस्ता घटना दोहोरिन्छन् । सहिदभूमि गाउँपालिकाको दिलुङटार क्षेत्रमा भरपर्दो गोरेटो अभावमा भीरको जोखिमपूर्ण बाटोमा यात्रा गर्नुपर्ने अवस्था छ ।


खासगरी विद्यालय आउजाउ गर्ने बालबालिका जोखिम मोल्न बाध्य रहेको स्थानीय विनोद विष्ट बताउँछन् । भीरमा सुक्खा पहिरो भएका ठाउँबाट विद्यालय जानुपर्ने बाध्यता छ । विद्यालय गएका बालबालिका घर नफर्कंदासम्म चिन्ताले सताउने गरेको अभिभावक तिलक राईले बताए । ‘ग्रामीण बस्तीमा खोला खोल्सीमा पुल नहुनु सामान्य हो, तर ठूला खोलामा समेत पुल छैनन्,’ उनले भने ।


घाँस/दाउराका लागि वारपार गर्न सुकेका रूख, ट्युब र बाँसको भरमा नदी वारपार गर्दा बर्सेनि सर्वसाधारणले ज्यान गुमाउने गरेको चौबीसे गाउँपालिका ५, सदामटारकी दीपा माझीले सुनाइन् । बाक्लो बस्ती रहेको स्थानमा पनि पुल अभाव छ ।


स्थानीयले पुलको माग गर्दै आएको वर्षाैं भइसकेको छ । चुनावताका आश्वासन पाए पनि अन्य बेला बेवास्ता गरिने उनले गुनासो पोखिन् । ‘हाम्रा माग चुनावपछि सेलाउने गर्छ,’ उनले भनिन् । सदामटारस्थित तमोर नदीमा पुल छैन । हिउँदमा पानीको सतह घटे पनि अत्यधिक चिसोले पौडन सास्ती हुने स्थानीय बताउँछन् । तमोर तर्दा दाउराको चेफाको सहारा लिनुपर्ने सदामटारका सुरेन्द्र न्यौपानेले बताए । ‘घाँस/दाउरा होस् वा वारिपारि मेलापात गर्दा चेफाकै भर पर्नुपर्छ,’ उनले भने, ‘पुलको माग त वर्षौंदेखि गरिएको हो, कसैले सुन्दैन ।’


सदामटारबाट नदीपारि रहेको छथर जोरपाटी गाउँपालिका क्षेत्रमा खेतबारी भएकाले आवतजावत गरिरहनुपर्ने हुँदा पुल अभावमा सास्ती खेप्नुपरेको स्थानीय महेन्द्र न्यौपाने बताउँछन् । फलामेटार, सदामटार र चौबीसे ४ को भैंसेटार, देउरालीघाट क्षेत्रमा पनि पुल अभावमा स्थानीयले ज्यान जोखिममा पार्दै नदी वारपार गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।


महालक्ष्मी नगरपालिकाको तल्लो भेकमा पनि यस्तै समस्या छ । पूर्वसांसद हेमराज भण्डारीका अनुसार बाक्लो बस्ती रहेका क्षेत्रमा स्थानीयलाई राहत पुग्ने गरी विभिन्न स्थानमा झोलुंगे पुल निर्माण गर्न लागिएको बताए । अरुण नदीको ललाहनी, अखुवाटार तथा तमोरको याक्चानाघाट क्षेत्रमा केही वर्षपहिले झोलुंगे पुल बनेपछि स्थानीयलाई राहत पुगेको छ ।


सहिदभूमि गाउँपालिकाको साप्तिनटार, त्रिवेणीका साथै चौबीसे गाउँपालिकाको फलामेटारस्थित आँपखोलाघाटमा पनि पुल बन्ने क्रममा रहेको भण्डारीले जनाए । अखुवाटार, सदामटार, भैंसेघाटमा पनि झोलुंगे पुल बनाउने प्रक्रिया अघि बढाउने बताए ।

प्रकाशित : माघ २१, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?