जब आमाले दुई छोरा झुन्ड्याएर आत्महत्या गरिन्...

विनोद भण्डारीे

विराटनगर — महानगरपालिका ४, अमाही इक्राहीकी कविता विराजीले गत भदौमा गरिबीका कारण दुई छोरालाई मध्यराति डोरीमा झुन्डयाएर आफूले पनि पासो लगाएर आत्महत्या गरिन् । 

जब आमाले दुई छोरा झुन्ड्याएर आत्महत्या गरिन्...

झुन्ड्याइएका दुईमध्ये ६ वर्षीय कान्छा छोरा भेगरथको मृत्यु भयो । १० वर्षका निशान संयोगले बाँचे ।


उनी आमाले झुन्ड्याउन प्रयोग गरेको डोरी चुँडिएर भुइँमा खसेका थिए । निशानको अहिले पनि घाँटीमा पासो लगाएको डोरीको डाम प्रस्ट देखिन्छ । भाग्यले बाँच्न सफल उनै निशान अहिले बेसहारा भए । स्थानीय जानकी बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्ने उनी त्यो घटनादेखि विद्यालय जान पाएका छैनन् । उनको स्याहारसुसार ६५ वर्षीय साधु हजुरबुबा वैजनाथ विराजीले गर्दै आएका छन् । उनको एउटा खुट्टा राम्रोसँग चल्दैन । लौराको सहाराले घिस्रिँदै दिनभरि वरपर पुगेर चामल र आर्थिक सहयोग माग्छन् अनि त्यसैले नाति निशान र आफ्नो दैनिकी चलाएका छन् ।


‘घिस्रँदै हिँडेर मुस्किलले दैनिक १५–२० घरमा माग्न पुग्छु । एकाध किलो चामल र ४०–५० रुपैयाँ संकलन गर्छु,’ उनले भने, ‘त्यही जेथाले ६ महिनादेखि नाति र आफ्नो पेट भर्दै आएको छु ।’ नातिलाई विद्यालय पठाउने अवस्था नभएको उनले बताए । हाल उनी अमाही इक्राहीको ऐलानी जग्गामा रहेको आफ्नो घरमा ताला लगाएर बस्ता खोलाको डिलमा रहेको एक रिजाल परिवारले छाडेको झुपडीमा बस्दै आएका छन् । ‘वंश नै मास्ने गरी बुहारीले घरमा घटना गरी,’ उनले भने, ‘त्यसैले त्यो घरमा जानै मन लाग्दैन र ताला लगाएर यहाँ आएर बसेको हुँ ।’


बैजनाथ तीन दशकअघि ‘साधु’ बन्न भन्दै घर छाडेर हिँडेका थिए । छोरो अमरलालको मृत्यु भइसकेको छ । पछि बुहारीले दुई नातिलाई झुन्ड्याएर आफूले पनि आत्महत्या गर्दा जेठो नाति बाँचेको सुनेपछि घर फर्किएर उसको पालनपोषणमा जुटेको उनी बताउँछन् ।


कविताका पति अमरलाल कहिले रिक्सा चलाउने र कहिले राजमिस्त्रीको काम गरी परिवारको गुजारा चलाउँथे । मदिरा र गाँजा प्रयोग गर्ने उनलाई एक दिन प्रहरीले गाँजासहित पक्राउ गरेपछि कारागार पुगे । ‘कारागारमै उनी सिकिस्त बिरामी परे,’ स्थानीय बलराम यादवले भने, ‘उपचार क्रममा उनको मृत्यु भएपछि कविताले बनीबुतो गरी आफू र दुई छोराको पालनपोषण गर्दै आएकी थिइन् ।’


पतिको मृत्युपछि कविताले कहिलेकाहीं अस्वाभाविक व्यवहार देखाउने गरेको छिमेकी बताउँछन् । ‘कहिले यी बच्चालाई कसरी पाल्नु त कहिले यिनलाई छाडेर हिँड्छु भन्थी,’ स्थानीय रोहिणी साहले भनिन्, ‘तर दुवै छोरालाई झुन्डयाएर आफू पनि आत्महत्या गर्छिन् होला भन्ने सोचेको पनि थिएन ।’


‘रातभर रुँगेर बसें’

आमाले लगाइदिएको पासो चुँडिएर बाँचेका निशानले रातभरि आमा र भाइको शव रुँगेर बसेको बताए । ‘त्यस दिन आमाले हामीलाई कोकाकोलामा केही हालेर खुवाउनुभयो, आफूले पनि खानुभयो,’ निशानले भने, ‘त्यसपछि हामीलाई ल सुत भनेर ओछ्यान लगाइदिनुभयो ।’


सुतेको केही बेरपछि पहिला भाइलाई डोरीमा झुन्डयाएको उनले बताए । ‘त्यसपछि मलाई पनि डोरीमा झुन्ड्याइदिनुभयो, डोरी चुँडिएर भुइँमा झरेँ ।’ उनीहरू झुन्डिएकै ठाउँमा बसेर उनले रात बिताएका थिए । भोलिपल्ट बिहान बोर्डिङ स्कुलको भ्यान घरमा आयो ।


‘भ्यानका अंकलले निकै बेरसम्म कराएको सुने पनि म बाहिर निस्किनँ,’ उनले भने, ‘त्यसपछि घरमै आउनुभयो अनि हामीलाई देखेर हल्ला गर्दै गाउँलेलाई बोलाउनुभयो ।’ गाउँलेले उनलाई बाहिर निकालेका थिए ।


उनलाई हजुरबुबा बैजनाथले कहिले कसैको चिया पसल त कहिले कुनै चोकमा राखेर दिनहुँ माग्न हिँड्छन् र साँझ फर्कंदा लिएर जान्छन् । निशानलाई पढ्ने इच्छा छ तर अवस्थाले विद्यालय जान नपाएको उनले बुझेका छन् । ‘हजुरबुबाको कमाइले पेट पाल्नै पनि अपुग हुन्छ,’ उनले भने, ‘विद्यालय जान पाएको छैन ।’

प्रकाशित : माघ २१, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?