संसदीय समितिले गर्‍यो हुलाकीसडक अनुगमन 

श्यामसुन्दर शशि

जनकपुर — संघीय संसद भित्रको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले सोमबार धनुषास्थित हुलाकी तथा यसका लिंक सडकहरुको स्थलगत निरीक्षण गरेको छ । 

संसदीय समितिले गर्‍यो हुलाकीसडक अनुगमन 

निरीक्षण टोलीमा सभापति खडकासँगै समिति सदस्यहरु मीनाक्षी झा, लीलानाथ श्रेष्ठ, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसँगै स्थानीयवासीहरुको पनि सहभागिता थियो ।

समितिका सभापति खड्काले हुलाकी राजमार्गको निर्माण कार्यलाई तिव्रता दिन तथा गुणस्तर बारे जानकारी लिन स्थलगत निरीक्षणमा निस्केको जानकारी दिइन्, ‘सरकार हुलाकी राजमार्गको निर्माणलाई तिव्रता दिन खोजेको छ । हामी स्थलगत निरीक्षण गरेर प्रगति तथा समस्या बारे प्रतिवेदन दिने छौं ।’


तराइका २२ जिल्ला जोड्ने हुलाकी राजमार्गको थालनी २००५ सालमा राणा प्रधानमन्त्री पद्म शमशेरले गरेका थिए । २०१६ सालमा कांग्रेस प्रधानमन्त्री वीपी कोइरालाको कार्यकालमा माटो पूर्ने काम भएको थियो तर अद्यावधि यो सडक निर्माण हुन सकेको छैन ।


राणा प्रधानमन्त्रीहरुले तराइमधेसमा कर संकलन गर्न तथा प्रशासनिक सुलभताका लागी जनकपुर, राजविराज, बिरगंज, विराटनगर, मलंगवा लगायत माल अड्डा स्थापना गरेका थिए । ती मालअड्डाहरुलाई जोड्न हुलाकी मार्ग निर्माण गरिएको थियो ।


हुलाकीहरु चिठी पत्रसँगै सरकारी लिखतहरु लग्थे, यसै कारण यस मार्गको नाम हुलाकी राजमार्ग रहन गयो ।


हुलाकी राजमार्ग निर्माण हुन नसक्दा मध्य तराइवासीहरुलाई सास्ती भोग्नु परेको छ । धनुषा सदरमुकाम जनकपुरबाट सिरहा बाजारको दूरी २८ किलोमीटर भए पनि कमलापूल नबन्दा सर्वसाधारणलाई ८६ किलोमीटरको घुमाउरो बाटोबाट आउ जाउ गर्नु परेको छ । जनकपुरबाट राजविराजको दूरी ८० किलोमीटर छ तर बलान पूल बन्न नसकेको कारण सर्वसाधारणलाई झण्डै १ सय ५० किलोमीटर घुमाउरो बाटोबाट आउजाउ गर्नुपरेको छ । यसैगरी बिरगंजको दूरी १ सय किलोमीटर भए पनि हुलाकी सडक निर्माण हुन नसक्दा झण्डै २ सय किलोमीटरको घुमाउरो बाटोबाट आउजाउ गर्नु परेको छ ।


दोहरो मापदण्डका कारण स्थानीयवासी त्रसित

जनकपुर उपमहानगरपालिका र हुलाकी सडक आयोजनाको फरक फरक मापदण्डको कारण जनकपुर उपमहानगरपालिका–१, मिल्सएरिया र पूजचौक वासी त्रसित बनेका छन् ।


हुलाकी लिंक रोडमा पर्ने जनकपुर–यदुकुहा (शहिद पथ)को लागी जनकपुर उपमहानगरपालिकाले साढे ५२ फिटको मापदण्ड निर्धारण गरेको छ । स्थानीयवासी उक्त मापदण्ड अनुसार आफ्ना घर टहरा भत्काइरहेका छन् तर हुलाकी सडक परियोजना सम्बद्ध प्राविधिकहरुले उक्त एरियामा १ सय ५ फिटमा अर्को चिनो पनि लगाएका छन् ।


‘सडकको मापदण्ड साढे ५२ फिट मान्ने कि १ सय ५फिट ? हामी दहसतमा छौं,’ पुलचोकका गद्दी व्यावसायी चन्देश्वरप्रसाद साहले भने । सडकको चौडाई १ सय ५ फिट निर्धारण गरेमा दुई सय अधिक घर परिवार विस्थापित हुने साहको कथन छ ।


प्रकाशित : माघ २१, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?