ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी

विनोद भण्डारी

मोरङ — जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयकी शिक्षिका दुर्गावती राजवंशी सोमबार १० बजेर ५ मिनेटमा विद्यालय पुगिन् । मूलढोकामा बसेका कक्षा ७ का दुर्गी ऋषिदेव र चन्द्रिकाकुमारी सरबरियाले उनलाई सोधे, ‘मिस तपाईंको घडीमा कति बज्यो ?’ घडी हेरेर शिक्षिकाले जवाफ फर्काइन्,‘आउँदाआउँदै ५ मिनेट ढिला भएछ ।’

ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी

दुवै छात्राले भने,‘आज तपाईं घर फर्कनुस्, भोलिदेखि १० बजेभित्र आइपुग्नुस् ।’घरबाट हिँडदा ढिला भएको भन्दै मनाउन खोजिन् तर विद्यार्थी मानेनन् । ‘आउँदाआउँदै ढिलो भइहाल्यो, आज घर फर्कन्छु, भोलिदेखि समयमै विद्यालय आइपुग्छु,’शिक्षिका राजवंशीले कान्तिपुरसँग भनिन्,‘आफैंले बनाएको नियम हो, पालना नगरी सुखै छैन ।’


यसअघि शिक्षिकाद्वय मनमाया गुरुङ र पूजा मण्डललाई पनि विद्यार्थीले ढोकैबाट फर्काएका थिए ।शिक्षक–शिक्षिका मात्र होइन, विद्यार्थीलाई पनि ढिलो आए घर फर्काउने नियमै बनाइएको छ । यो नियम सबैले सहज रूपमा मान्दै आएका छन् ।


१० बजेर ढिलो भइसकेपछि विद्यालय पुग्ने ६० जना विद्यार्थीलाई पनि सहपाठीले फर्काइसकेको प्राचार्य वीरेन्द्रप्रसाद मण्डलले बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानसहित शिक्षक र विद्यार्थी समयमा विद्यालय नआउने र आए पनि लगत्तै हिँडिहाल्ने प्रवृत्ति रोक्न दुई महिनादेखि १० बजेर एक मिनेटपछि भए पनि शिक्षक–विद्यार्थीलाई फर्काउने नियम लागू गरिएको प्राचार्य मण्डलले बताए ।


हरेक दिन १० बज्न ५ मिनेट बाँकी रहँदा कक्षा ७ र ८ का विद्यार्थी मूलढोकामा बस्छन् । घण्टी लागेपछि आइपुग्ने शिक्षक र विद्यार्थीलाई उनीहरूले फर्काइदिन्छन् । विद्यालयमा ३ सय ६५ जना अध्ययनरत छन् । तीमध्ये २ सय ५८ जना दलित सरबरिया समुदायका छन् ।


करिब ८० प्रतिशत बालबालिका नियमित विद्यालय जाने गरेको विद्यालयको अभिलेख छ । ‘नियम लागू भएपछि शिक्षक र विद्यार्थी ढिलो आउने र दिउँसै घर फर्कने रोग निवारणजस्तै भएको छ,’ प्राचार्य मण्डलले भने, ‘ढिलो आउने गेटबाटै घर फर्कन्छन्, समयमा आउने पनि ४ बजेअगाडि निस्कन पाउँदैनन् ।’


आपतकालीन समस्या आइपरे मात्र शिक्षक र शिक्षिका चार बजेअगाडि बाहिर निस्कन पाउने र छुट्टी भएपछि निर्धारित समयमा निस्कन पाउने मण्डलले बताए । विद्यार्थी टिफिनमा पनि बाहिर निस्कन पाउँदैनन् । टिफिन लिएर आउँछन्, नल्याउनेका अभिभावकले ल्याइदिन्छन् । उनका अनुसार टिफिनमा बाहिर निस्कन दिँदा विद्यार्थी घर भाग्ने समस्या थियो । विद्यालय प्रवेश गरिसकेपछि उनीहरू कक्षाकोठा र मूलढोकाबाट आफूखुसी बाहिर निस्कन पाउँदैनन् ।


कक्षा ८ मा अध्ययनरत ज्योति केवटले भनिन्, ‘विद्यार्थीले कक्षाकोठाबाट बाहिर निस्कँदासमेत गेट पास प्रयोग गर्नुपर्ने नियम छ ।’ विद्यालयको यो नियमको पालना सबैले गरेको उनले बताइन् ।


जहदा गाउँपालिकामा ३० वटा सामुदायिक विद्यालय छन् । तीमध्ये यो विद्यालय शैक्षिक गुणस्तर सुधार र अनुशासनमा उत्कृष्ट भएको गाउँपालिका शिक्षा संयोजक विन्दुकुमार लावतीको बुझाइ छ । छिमेकी विद्यालयमा दिउँसो १२ बजेसम्म शिक्षक र विद्यार्थी विद्यालय आउने अनि मन लागेको बेला घर जाने गर्छन् । ती विद्यालयका प्राचार्यलाई जनता बाल आधारभूत विद्यालयको जस्तो नियममा बाँध्न सुझाव दिँदा बेवास्ता गरेको लावतीको गुनासो छ ।


यो विद्यालय परिसर सफा छ । कक्षा ५ देखि ८ सम्मका विद्यार्थीले पालो गर्दै हरेक दिन विद्यालय परिसर सफाइ गर्छन् । विद्यालयमा स्वच्छ पानीको व्यवस्था छ । कक्षा ५ देखि ८ का बालबालिकालाई बेलाबेला प्रोजेक्टर र कम्प्युटरबाट पढाउनका लागि एक थान प्रजेक्टर र सात थान कम्प्युटरको व्यवस्था गरिएको छ ।

विद्यालयमा पुस्तकालय र लोपोन्मुख वस्तुको संग्रहालय पनि छ ।


लोप हुँदै गएका पुराना वस्तुको विद्यार्थीलाई जानकारी दिन ढिँकी, जाँतो, ओखल, पुराना हतियार, ढाका टोपी, डोली, विराट राजाको दरबारका इँटा, ओदान, ठेकी, हर्पे, मादल, भड्डु, करुवा, दियो, ढाकी, डोकोजस्ता सामान संग्रहालयमा राखिएको प्राचार्य मण्डलले बताए । अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने प्रयास गरे पनि दक्ष जनशक्ति अभावमा सम्भव नभएको उनको गुनासो छ ।

प्रकाशित : माघ २१, २०७५ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?