कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

५ महिनापछि बुझे शव

नेपालगन्ज — प्रहरी हिरासतमा यातनाले उपचारका क्रममा मृत्यु भएको भनिएका जानकी गाउँपालिका ६, कपासीका राममनोहर यादवको शव ५ महिनापछि परिवारले बुझेका छन् ।

काठमाडौंबाट शव आएको खबरलगत्तै सोमबार परिवार र समर्थकले प्रदर्शन गरे । शवसँगै लिएर आइरहेका समर्थकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।


मृतक यादवको दाहसंस्कारमा सहभागी हुन आएका व्यक्तिलाई पक्राउ गरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । पक्राउ गरिएका करिब तीन दर्जन व्यक्तिलाई रिहा नगर्दासम्म प्रदर्शनकारीले शव सडकमै राखेर प्रदर्शन गरेका थिए ।


प्रदर्शनकारी र प्रहरी आमनेसामने भएपछि तनाव भएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रमेशबहादुर सिंहले पक्राउ गरिएका व्यक्तिलाई दाहसंस्कारमा सहभागी गराउने प्रतिबद्धता जनाएपछि आफन्तले शव बुझेका थिए । तनावपछि बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी प्रमुख एसपी अरुण पौडेल घटनास्थल पुगेका थिए ।


सयौं सुरक्षाकर्मी तैनाथ गरिएका छन् । राममनोहर पहिलेदेखि नै सीके रावत समूहमा आबद्ध रहेको परिवारले जनाएको छ । गत भदौ ७ गते बर्दियाको गुलरियामा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा उनी पक्राउ परेका थिए ।


प्रहरीले उनीविरुद्ध राजद्रोहको मुद्दा चलाएको थियो । परिवारले प्रहरीको यातनाले मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गर्न माग गर्दै आएका छन् । घटनाबारे छानबिन नभएको भन्दै परिवारले पाँच महिनासम्म शव नबुझेका हुन् । राममनोहरकी आमा धिरजा यादवले प्रहरी हिरासतभित्र यातना दिएका कारण छोराको मृत्यु भएको आरोप लगाइन् ।


प्रहरीका अनुसार उपचारका क्रममा उनको काठमाडौं अस्पतालमा मृत्यु भएको हो । राममनोहरको मृत्युपछि परिवार तथा आफन्त आक्रोशित छन् । उनीहरूले सहिद घोषणा गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा सीके रावतका कार्यकर्ताको सहभागिता थियो । बाँकेका प्रजिअ मदन भुजेलले परिवारले शव बुझेपछि स्थिति सामान्य बनिसकेको बताए ।

प्रकाशित : माघ २२, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?