कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृत शिक्षाको महत्व सधैं उच्च : राष्ट्रपति भण्डारी

भीम घिमिरे

देवघाट — राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षाको महत्त्व सधैँ उच्च भएकाले यसको संरक्षण जरुरी रहेको बताएकी छन् । देवघाटस्थित महेश सन्न्यास आश्रमको गुरुकुलको ३२ कोठे भवन र डेढ साता चल्ने महायज्ञ उद्घाटनपछि उनले यस्तो बताएकी हुन् ।

संस्कृत शिक्षाको महत्व सधैं उच्च : राष्ट्रपति भण्डारी

सनातन संस्कृतिमा आधारित शिक्षा पद्धतिलाई जगेर्ना गर्दै गुरुकुलहरू सबैका लागि सुलभ बनाउनुपर्ने धारणा उनले राखिन् । ‘संस्कृत शिक्षा आजका युवाका लागि जरुरी छ,’ उनले भनिन्, ‘शिक्षामा समयानुकूल सुधारसँगै संस्कार संस्कृति जोगाइराख्न संस्कृत शिक्षाले मद्दत गर्छ ।’


कार्यक्रममा आश्रमका प्रमुख रमणनन्द गिरिले धर्म अनुरागीको मद्दतले आश्रम र संस्कृत गुरुकुललाई देशकै नमुना शिक्षालय बनाउन सकेको बताए । चितवन, पूर्वी नवलपरासी र तनहुँ जिल्लामा पर्ने देवघाटको आश्रम क्षेत्र तनहुँको देवघाट गाउँपालिकामा पर्छ ।


गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले वर्षौँदेखि विभिन्न संकटका चरणबाट गुज्रिँदै पनि संस्कृत शिक्षाको महत्त्व कम नभएको बताएका छन् । ‘हामीले शब्दमा समावेशी नभनेपनि संस्कृत शिक्षा लिन चाहने विद्यार्थीको छनोट र पहुँच सहज पार्दै लगेका छौँ,’ उनले संवाददातासँग भने, ‘अहिले हामी प्राथमिक तहदेखि संस्कृतमा स्नातकोत्तर तहसम्म पढाउने संरचना बनाउन सफल भएका छौँ । यो हाम्रो एक्लो प्रयास होइन ।’


देवघाटको महेश सन्यास आश्रममा गुरुकुलमको नवनिर्मित ३२ कोठे भवन । ५ करोडको लागतमा निर्मित भवनमा प्राथमिक तहदेखि स्नातकोत्तरसम्म पढाइन्छ । तस्बिर : भीम घिमिरे/कान्तिपुर


धर्मसंस्कृतिसँग जोडिएकाले बाहुन क्षेत्रीले मात्रै लिने भनेर हेपिएको अवस्था अब नभएको उनले बताए । ‘अबका सबै गुरुकुलमा शिक्षासँगै धर्मसंस्कृति जान्न र जोगाउन रुचि भएकालाई पहुँच खुला हुँदै आएको छ,’ उनले भने, ‘संस्कृत शिक्षाको महत्त्व बल्ल देशले बुझ्न थालेकोले गुरुकुलहरू सञ्चालन गर्न चाहनेलाई सहज हुने अवस्था छ ।’


६५ रोपनी क्षेत्रफलमा रहेको आश्रममा मन्दिर, गुरुकुल लगायत २१ वटा विभिन्न संरचना छन् । आश्रम स्थापनाको २५ औँ वर्षको अवसर पारेर आयोजित महायज्ञ गुरुकुलको दिगो सञ्चालनका लागि अक्षय कोष खडा गर्न लक्षित रहेको डा. सुवेदीले बताए ।


गुरुकुलमा हाल २ सय ५० विद्यार्थी र २५ शिक्षक छन् । गुरुकुलका सबै कक्षा एउटै थलोबाट चलाउन निर्मित नयाँ भवन करिब ५ करोडको लागतमा तयार भएको हो । समारोहमा सहभागी सेनाको हेलिकप्टरमा देवघाट आएकी राष्ट्रपति भण्डारीले आश्रम परिसरको विद्येश्वर महादेवको मन्दिरमा पूजाअर्चना पनि गरेकी थिइन् ।

प्रकाशित : माघ २२, २०७५ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?