कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

दाहाल वक्तव्यमा ‘शब्द चिप्लिएको’: प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् । 

दाहाल वक्तव्यमा ‘शब्द चिप्लिएको’: प्रधानमन्त्री

भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै रूपमा लिन अथ्र्याएका थिए ।

ओलीले बुधबार बिहान बालुवाटारमा कान्तिपुरलाई संक्षिप्त जवाफ दिँदै भने, ‘हाम्रो कुनै विवाद होइन, कहिलेकाहीँ (राष्ट्रपति) ट्रम्पको पनि टङ स्लिप हुन्छ, हाम्रा प्रचण्डजीको पनि वर्ड स्लिप भएको हो । स्लिप भएपछि भयो । दुई–तीन शब्द बढी गएको हो ।’

ट्रम्पले ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको ब्रिफिङमा नेपाल भारतमा पर्ने भन्ने होइन र भन्दै अज्ञानता प्रकट गरेको खुलासा हालै ‘टाइम’ म्यागेजिनले गरेको थियो ।

‘यस्ता संवादका विषयवस्तुबारे हामी साधारणतया प्रतिक्रिया दिँदैनौं,’ प्रधानमन्त्री ओलीसँगको भेटबारे जिज्ञासा राख्दा अमेरिकी दूतावासकी प्रवक्ताले भनिन्, ‘तर राजदूतले प्रधानमन्त्रीसँग अमेरिका–नेपाल सम्बन्धबारे बोल्न पाउने अवसरको स्वागत गर्नुभयो ।’

बुझिएअनुसार राजदूत बेरीले आगामी सम्बन्ध कसरी अर्थपूर्ण र महत्त्वशाली बनाउनेबारे प्रधानमन्त्रीसँग भनाइ राखेका थिए ।

द्विदेशीय सम्बन्ध र साझेदारी लामो रहेको र अब यो साझेदारीको नेपाललाई कस्तो अर्थ छ भन्ने काममा हेर्न चाहेको उनले बताएका थिए । ओलीले बुधबार राति नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ साक्षात्कारमा पनि दाहालको वक्तव्य जरुरी नभएको प्रस्ट पारे । ‘अलिकति स्लिप भएकै हो, अघिल्लै दिन वक्तव्य नदिई नहुने जरुरी थिएन, भोलिपल्ट म (स्वदेश) आउँदै थिएँ, वक्तव्यमा उपयुक्त भाषा पनि भएन भन्ने छ,’ उनले अध्यक्ष दाहालको नाम नलिई भने ।


आफू स्विट्जरल्यान्डमा हुँदाको प्रसंग दिँदै भने, ‘कोही एकजना साथीले वक्तव्य दिनुभयो, यसले कुनै देश–देशको सम्बन्धै बिग्रिहाल्ने हुँदैन ।’ कहिलेकाहीँ यस्ता घटना जानेर/नजानेर हुनसक्छन्, त्यो वक्तव्यमा ‘युद्धको घोषणा त गरिएको छैन’ भन्दै उनले थपे, ‘अमेरिका जस्तो देश साना–साना कुरामा अल्झिँदैन र अल्झिनु हुँदैन ।’ ट्रम्पले नेपालबारे अज्ञानता राखेको समाचारलाई संकेत गर्दै ओलीले भने, ‘हाम्रोजस्तो मुलुकलाई (पनि) अरू नै देशको हो भनेर भन्दा.... अलिकति आफ्नो नाम लेखिएको कुराले चित्तदुखाइ हुनसक्छ । ठूलो देशको पनि कहिलेकाहीँ स्लिप हुनसक्छ ।’

तपाईं नेपालमै भएको भए यस्तो वक्तव्य आउँथ्यो भन्ने प्रश्नमा उनले भने, ‘नेपालमै भएको भए यस्तो वक्तव्य आउने थिएन । हाम्रो सुस्पष्ट नीति छ, त्यसकारण यस्तो हुने थिएन ।’

दाहालको वक्तव्यमा अमेरिकालाई भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, साम्राज्यवादी भएको टिप्पणी गरिएको थियो । प्रतिक्रियामा अमेरिकी सरकारले वासिङ्टनस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई प्रस्टिकरण दिन विदेश मन्त्रालय बोलाएको थियो भने यता प्रधानमन्त्री सरिक हुने कूटनीतिक समुदायका प्रतिनिधिहरूलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ब्रिफिङमा राजदूत बेरी गएका थिएनन् । अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई नेपाल र अमेरिकाबीच कुनै विवाद नरहेको सम्झाएका छन् ।

एउटा मित्रराष्ट्रले अर्को मित्रराष्ट्रसँग मित्रवत् सम्बन्ध चाहनु स्वाभाविक भएको भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यबाट द्विदेशीय सम्बन्धमा कुनै फरक नपर्ने औंल्याएका छन् ।

भेनेजुएला प्रकरणमा दाहालले दिएको वक्तव्यबाट असन्तुष्ट अमेरिकी राजदूतलाई प्रधानमन्त्री ओलीले सोमबार भेट दिएका थिए । बुझिएअनुसार ओलीले ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएझैँ अध्यक्ष दाहालको शब्द चिप्लिएको’ भनेर सम्झाएका थिए ।

प्रकाशित : माघ २४, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?