मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले राजीनामा दिएका छन् । दुवै जना मंगलबार आयोगको सचिवालयमा राजीनामा बुझाएर घर हिँडेका हुन् ।

सूर्यकिरण गुरुङ र लीला उदासी

‘सरकारले हटाउने भनेर संशोधन विधेयक ल्याइसकेपछि उहाँले पदमा बसिरहन उचित ठान्नु भएन,’ आयोगका आयुक्त श्रीकृष्ण सुवेदीले भने, ‘म्याद सकिनुअघि नै बाहिरिन्छु भनेर सचिवालयमा राजीनामा थमाएर जानुभयो ।’

राजीनामा गर्नुअघि गुरुङ, उदासी, सुवेदी र अर्का सदस्य मञ्चला झाबीच दिनभर छलफल भएको थियो । स्रोतका अनुसार आयोगका पाँच आयुक्तबीच सुरुवातदेखि नै कलह चल्दै आएको थियो । सदस्यहरूबीच गुटबन्दी भए पनि केही आयुक्तसँग अध्यक्ष आफैंको राम्रो सम्बन्ध रहेन । ‘अध्यक्षको राजीनामा त्यही कलहको परिणाम हो,’ स्रोतले भन्यो, ‘अवस्था कतिसम्म बिग्रेको थियो भने उहाँको केही सदस्यसँग वर्षौंसम्म बोलचालसमेत औपचारिकता पूरा गर्ने तहको मात्रै रह्यो ।’

पदाधिकारीबीचमै राम्रो सम्बन्ध नभएको र सरकारले पनि सहयोग नगरेको परिस्थितिमा चैत मसान्तसम्म मात्रै पदावधि रहने गरी संसद्बाट विधेयक आउने भएपछि गुरुङ केही दिनदेखि तनावमा थिए । ‘शुक्रबार प्रतिनिधिसभामा विधेयक पेस भएपछि उनी आइतबार र सोमबार कार्यालय आएनन्,’ आयोगका एक अधिकारीले भने, ‘मंगलबार दिउँसो आई सचिवालयमा राजीनामा दिएर प्रधानमन्त्रीलाई बुझाइदिनू भनी हिँडे ।’

उदासी पनि गुरुङसँगै राजीनामा बुझाएर निस्केका थिए । ऐनमा अध्यक्षले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुपर्ने उल्लेख छ । गुरुङले भने आफ्नै टेबलमा राजीनामा छाडी सचिवलाई भनिदिनू भनेर गएको स्रोतले जनायो । कार्यालयबाट बाहिरिएलगत्तै दुवै जनाले मोबाइल स्विच अफ गरेका छन् ।

संक्रमणकालीन न्यायको व्यवस्थापन गर्न भनी चार वर्षअघि आयोग गठन भएको थियो । यसको सुरुवाती कार्यकाल दुई वर्ष र त्यति समयमा काम गर्न नसके थप एक वर्ष अवधि बढाउन मिल्ने प्रावधान ऐनमा थियो । स्थापनालगत्तै भुइँचालो गएको र चौध महिनासम्म नियमावलीसमेत नबनेको भन्दै आयोगले खासै काम गर्न नसकेको जनाएपछि सरकारले ऐन संशोधन गरेर एक वर्ष अवधि थपेको थियो ।

आयोगमा ६३ हजारभन्दा बढी उजुरी परेका थिए, जसमध्ये ३६ सयको प्रारम्भिक छानबिन भएको थियो । ‘हामी त्यसैलाई समेटेर हालसम्म भएका कामबारे प्रतिवेदन तयार पार्ने तयारीमा थियौं,’ आयोगका सचिव रमेश ढकालले भने । ऐनमा आयोगको बैठक अध्यक्षले तोकेको समय र मितिमा हुने उल्लेख छ । अध्यक्ष नै नभएपछि बैठक बस्ने र प्रतिवेदन तयार पार्ने भन्ने अवस्था नरहेको एक सदस्यले बताए ।

प्रकाशित : माघ २४, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

मुस्लोभित्र सहर

काठमाडौंमा करिब ५० प्रतिशत प्रदूषण गाडीको धूवाँले हुने गरेको छ । प्रदूषण घट्नुको साटो बढिरहेको छ । बिग्रे–भत्केका सडक, थोत्रा गाडी र कम गुणस्तरको पेट्रोलियम पदार्थको समिश्रणले सहरलाई धूवाँको चिम्नीमा परिणत गरिरहेको वातावरणविद् बताउँछन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — के पैदलयात्री, के सवारी प्रयोगकर्ता, सडकमा निस्कने सबैलाई काठमाडौंले धूवाँ र धूलोको कुहिरीमण्डलले स्वागत गर्छ । धूलो र धूवाँको मुस्लोले सडकमा हिँड्न सकिँदैन । धूलो छेक्न बिहान लगाइएको मास्क साँझ कालो बन्छ ।

राजधानीको कलंकी–नागढुंगा सडकमा धूवाँको मुस्लोबीच सवारी साधन । तस्बिर : संजोग मानन्धर/कान्तिपुर


यो समस्या घट्नुको साटो बढिरहेको छ । प्रदूषणले काठमाडौं गाँजिँदै गएको कुरा पटकपटक उठे पनि दिगो रूपमा यसको समाधान हुन सकेको छैन । बिग्रे–भत्केका सडक, थोत्रा गाडी र कम गुणस्तरको तेलको समिश्रणले सहरलाई धूवाँको चिम्नीमा परिणत गरिरहेको वातावरणविद् बताउँछन् ।

‘प्रदूषण बढ्नुको मुख्य कारण गाडी हो,’ वातावरणविद् भूषण तुलाधारले भने, ‘सबभन्दा बढी धूवाँ फाल्ने करिब २० प्रतिशत गाडीले ५० प्रतिशत प्रदूषण गरिरहेका छन् ।’ उनका अनुसार जाडोमा बढी वायु प्रदूषण हुन्छ । यो बेला मौसमी कारणले गर्दा हावा धेरै चल्दैन । रातभरि जमिन चिसो भएपछि प्रदूषण जहाँको त्यहीँ रहन्छ । दिउँसो हावा चल्न थालेपछि फैलन्छ । ‘जाडोमा प्रदूषणका स्रोत थपिन्छन्, यो बेला बढी इँटाभट्टा सञ्चालन गरिन्छ,’ उनले भने, ‘फोहोर र आगो बाल्ने बढी हुन्छ । यसले पनि प्रदूषण बढाउन मद्दत गरेको छ ।’ उनका अनुसार सबैभन्दा बढी धूवाँ डिजेलबाट चल्ने गाडीले निकाल्छ ।

कपन सरस्वतीनगरकी तारा कोइराला मंगलबार बिहान ३ वर्षीया छोरी च्यापेर चाबहिलतिर जाँदै थिइन् । पुग्नुपर्ने वसुन्धारा थियो । मास्क नलगाई कुर्था–सुरुवालमाथि सल ओडेकी उनी सडक पार गर्नै लाग्दा धूवाँले छोपिइन् । कपनतिरबाट आइरहेको बसले फालेको धूवाँको मुस्लोभित्र परिन् । काखमा रहेकी छोरी अत्तालिइन् । उनले हतारहतार सल झिकेर छोरी र आफ्नो टाउको छोपिन् । चालकलाई गाली गर्दै सडक पार गरिन् । ‘धूवाँ पनि कति कालो हो, झन्डै सासै रोकियो,’ उनले आक्रोश पोख्दै भनिन्, ‘थोत्रा गाडी कहिले हट्छन् र शान्तिले सास फेर्न पाइन्छ ?’

पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगन थापा काठमाडौंको वायु प्रदूषण गम्भीर विषय भएको बताउँछन् । ‘म स्वास्थ्यमन्त्री हुँदा मन्त्रालयका तर्फबाट तत्कालीन र दीर्घकालीन रूपमा गर्न सकिने कामको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थिएँ,’ उनले भने, ‘तत्काल गर्नुपर्नेमा स्टिकरको काम थियो भने दीर्घकालीनमा विद्युतीय सवारी साधनमा नगई हुँदैन भन्ने थियो ।’ मन्त्रिपरिषद्बाट मुख्यसचिवलाई सबै मन्त्रालयबीच समन्वय गरेर यसलाई अघि बढाउने निर्णय भएकै बेला आफूहरू सरकारबाट बाहिरिनुपरेकाले काम गर्न नपाएको उनले बताए ।

‘कुनै बेला काठमाडौंमा धूवाँ, धूलोको असर स्वास्थ्यमा नगण्य थियो, अहिले ६० प्रतिशत मान्छे नसर्ने रोगले मर्छन् भन्ने छ । त्यो नसर्ने रोग लगाउन ठूलो योगदान गर्ने वायु प्रदूषण हो,’ थापाले भने, ‘यसको महत्त्वपूर्ण कारक तत्त्व धूवाँ, धूलो हो ।’ उनका अनुसार काठमाडौंका लागि यस्तो समस्या आउनु भनेको एक प्रकारको संकटकालीन अवस्था हो । ‘काठमाडौंमा जति पनि धूवाँले प्रदूषण हुन्छ, यसले सिर्जना गरेको संकटकालीन अवस्थालाई अझै सरकार सञ्चालन गर्नेहरूले मनन गरेका छैनन्,’ उनले भने, ‘गम्भीर विषय भए पनि यसमा कोही सचेत भएनन्, सरकारका निम्ति यो अझै प्राथमिकताको क्षेत्रमा पर्न सकेको छैन ।’

उनका अनुसार सुशील कोइराला प्रधानमन्त्री छँदा काठमाडौंलाई बस्न योग्य सहर बनाउनुपर्छ भन्दै काठमाडौं जिल्लाका सांसदले विस्तृत अध्ययनसहितको रिपोर्ट बुझाएका थिए । ‘त्यो रिपोर्ट योजना आयोगमा गयो, उतै अडकियो,’ थापाले भने, ‘यसबारे अब पनि कोही सचेत र गम्भीर नबन्ने हो भने ठूलो संकट आउन सक्छ ।’

के गर्छ हरियो स्टिकरले ?
थोत्रा गाडीले फाल्ने धूवाँले जनस्वास्थ्यमा नकारात्मक असर पारेको आवाज उठेपछि सरकारले यसलाई नियन्त्रण गर्न छुट्टै सहरी प्रदूषणसम्बन्धी मापदण्ड बनाएर लागू गर्‍यो ।

जसअनुसार २०६९ सालबाट सवारी साधनको प्रदूषण मापन गरी हरियो स्टिकर वितरण थालियो । यसको प्रभाव भने देखिएन । ‘सबैभन्दा ठूलो धूवाँको मुस्लो फाल्ने गाडीमा पनि उस्तै हरियो स्टिकर टाँसिएको हुन्छ,’ एक पैदल यात्रुले भने, ‘यो स्टिकर पैसा तिरेर किन्न पाइन्छ रे ।’

वातावरणविद् तुलाधर पनि स्टिकरले खासै काम नगरेको बताउँछन् । ‘हिजो जस्तो वातावरण प्रदूषण थियो, आज पनि उस्तै छ,’ उनले भने । यातायात व्यवस्था विभाग भने स्टिकरको प्रभाव काठमाडौंमा राम्रो रहेको दाबी गर्छ । ‘स्टिकर वितरण काठमाडौंबाहिर खासै प्रभावकारी देखिएको छैन,’ विभागका प्रवक्ता गोकर्ण उपाध्यायले भने, ‘उपत्यकामा सन्तोषजनक छ ।’

अघिल्लो वर्ष कति स्टिकर वितरण गरियो भन्ने रेकर्ड विभागसँग छैन । २०७५ साउनयता ४ लाख स्टिकर छापियो । २ लाख वितरण भएको छ । उपत्यकामा सवारी साधन थपिँदो छ । उपाध्यायका अनुसार अहिलेसम्म वाग्मतीमा मात्र ११ लाख ७२ हजार साना–ठूला सवारी साधन दर्ता भएका छन् । देशभरको संख्या ३२ लाख २१ हजार छ । ‘सवारी साधन थपिँदा छन्,’ उनले भने, ‘त्यही भएर स्टिकर वितरण गरेर प्रदूषण नियन्त्रणको प्रयास भइरहेको छ ।’

उनका अनुसार माघ ३ देखि २० गते सम्म ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग लगायत कार्यालयले उपत्याकाको विभिन्न ६ ठाउँमा साना ठूला सवारी साधनको प्रदूषण मापन गरेको थियो । २ सय ४९ वटा सवारी साधनको प्रदूषण जाँच गरियो । जसमध्ये १ सय १ सय सवारी साधन बढी प्रदूषित (धूवाँ धेरै फाल्ने) भेटिएको र ती सवारी साधनलाई कारबाही गरिएको प्रवक्ता उपाध्यायले बताए ।
‘मुख्य रूपमा सार्वजनिक सवारी साधनको प्रदूषण जाँच गर्नु थियो,’ उनले भने, ‘जाँच गरे अनुसार प्रदूषण गर्ने सवारी साधन धेरै फेला परे ।’ वातावरणविद्का अनुसार गाडीको संख्या हरेक वर्ष १३/१४ प्रतिशतले वृद्धि भइरहेको छ । यसलाई नियन्त्रण गर्न हरियो स्टिकर प्रणाली ल्याइएको थियो ।

‘हरियो स्टिकर नभएकालाई मर्मतसम्भार गरेर मात्र चल्ने व्यवस्था गर्नुपर्ने हो,’ उनले भने, ‘यो प्रभावकारी हुन नसकेकाले समस्या छ ।’ मापसे जाँच गरेझैं प्रदूषण बढाउने सवारी साधनलाई कडाइ गर्नुपर्ने उनको सुझाव छ ।

‘१०/१५ वर्ष पहिला गाडीको कन्डिसन जाँच गरिन्थ्यो,’ तुलाधरले भने, ‘अहिले सवारी बढे, जाँचमा कडाइ छैन, ट्राफिक प्रहरीले धूवाँ धेरै फालेको गाडी देख्नेबित्तिकै कारबाही गर्न सके जाँच प्रभावकारी हुने थियो ।’

बढे बिरामी
वीर अस्पतालको नाक, कान, घाँटी विभाग प्रमुख ढुण्डीराज पौडेल धूवाँ, धूलोबाट बिरामी पर्नेको संख्या बढिरहेको बताउँछन् । ‘समस्या १२ महिनै देखिन्छ,’ उनले भने, ‘छालाका रोगीसमेत बढेका छन् ।’

उनका अनुसार धूवाँबाट निस्कने कार्बनमोनोअक्साइड, नाइट्रिक अक्साइड र सल्फरले असर गर्छ । ‘श्वासप्रश्वासका बिरामी बर्सेनि बढदो क्रममा छन्,’ उनले भने, ‘बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी यसबाट बढी प्रभावित छन् ।’

प्रदूषणका कारण रुघाखोकी, पिनास, घाँटी र कानको संक्रमण, फोक्सोमा दम, निमोनियाँ हुन्छ । प्रदूषणको मात्रा बढ्दै जाँदा छालाको रोग लाग्ने, घाँटी र फोक्सोको क्यान्सर हुने खतरा हुन्छ । ‘उपत्यकामा चाहिनेभन्दा धेरै गाडी भए, जसले धूवाँ फालेको फाल्यै छन्,’ पौडेल भन्छन्, ‘यो वातावरण मेरो पनि हो, यसमा म पनि बस्छु, मैले पनि संरक्षण गर्छु भन्ने भावना जागृत भए प्रदूषणलाई धेरै कम गर्न सकिन्थ्यो ।’

विकल्प बिजुली बस
वातावरणविद्ले लामो समयदेखि काठमाडौंमा बिजुलीबाट चल्ने बस चलाउनुपर्ने बताउँदै आएका छन् । ‘गाडीबाट हुने प्रदूषण कम गर्न यो प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ, सकेसम्म बिजुलीबाट चल्ने सार्वजनिक बस चलाउनुपर्छ,’ तुलाधरले भने ।

वातावरणीय हिसाबले काठमाडौंलाई जोखिममा रहेको सहर मानिन्छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा काठमाडौंको वायु प्रदूषणको मात्रा निकै माथि छ । ‘काठमाडौंमा प्रदूषणको मात्रा ५ गुणा बढी छ,’ तुलाधरले भने, ‘काठमाडौं विश्वकै प्रदूषित सहरमध्ये पर्छ ।’

प्रकाशित : माघ २४, २०७५ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्