मासिँदै झिँगटीका घर

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थलीमा तत्कालीन जिम्मुवालहरूका सधैं रातो देखिने चम्किलो झिँगटीवाला धौले घर थिए । बिस्तारै ती नासिए । केही वर्ष अघिसम्म साहित्यकार जगदीश घिमिरेको पुख्र्यौली घरमा झिँगटीको छाना थियो । अहिले त्यसमा जस्तापाता छ । झिँगटी हटाएर खाल्डोमा गाडियो । 

मासिँदै झिँगटीका घर

‘सहज पाइँदैनथ्यो, अनि झम्मार पनि उस्तै,’ गुन्सीका कृष्णप्रसाद गौतमले भने, ‘पहिले पनि माटोको झिँगटी लगाउने कुरा सामान्यलाई सहज थिएन । महँगो पर्दथ्यो ।’


झिँगटी बनाउने कर्मीकै अभाव, कर्मी भए पोल्नै गाह्रो, पोलेर मात्रै पनि नहुने त्यसलाई काठ र बाँस जुटाउनै हम्मे । अहिले त चलनै हरायो । झिँगटी छानावाला घर गह्रौं हुने भएकाले भूकम्पबाट सुरक्षित हुँदैनन् भन्ने चेतना आएकाले भूकम्पपछिको पुनर्निर्माणमा झिँगटीको छाना बर्जित गरियो । अहिले सबैजसो घर जस्तापाताले छाइएका छन् ।


सस्तो र बलियो घर बनाउने अभियानसँगै सम्पत्ति र इज्जतसँग जोडिएको झिँगटी छाना भएका घर बिस्तारै लोप हुन थालेका हुन् । तर २०७२ को भूकम्पबाट बचेका केही त्यस्ता घरमा अझै बसोबास छ । पश्चिमी रामेछापको खनियापानी, बेथान, हिलेदेवी, दिमीपोखरी, गुन्सी लगायतका स्थानका दर्जनौं घर अहिले पनि सानका साथ उभिएका छन् । भुइँचालोले तिनलाई ढालेन ।


पहिले गाउँघरमा हुनेखानेको झिंगटी छाना हुन्थ्यो । कसैको चिनारीका लागि पनि झिंगटीको छाना भएको घर भन्ने गरिन्थ्यो । बिहेवारीमा छोरी दिनेको त्यस्तो घर पहिलो रोजाइ हुन्थ्यो । ‘झिँगटीको रवाफै बेग्लै’ गौतमले भने, ‘अहिले सबै एकैनास भएका छन्, घर देखेर को धनी को गरिब खुट्याउन सकिँदैन, पहिले सहजै सकिन्थ्यो ।’


पश्चिमी रामेछापमा झिँगटी बनाउने कामदारहरू छिमेकी काभ्रे जिल्लाबाट आउँथे । इँटाको साँचो बोकेर आउने कर्मीहरूले महिनौं बसेर माटोको झिँगटी बनाउने, पोल्ने र छाउने काम गरेर फर्कन्थे । अहिले उक्त कार्य रोकिएको छ । झिँगटी बनाउने सीप भएका व्यक्ति हम्मेसी पाइँदैनन् । त्यसैले पुराना घरहरू चुहिँदा थप्ने झिँगटीको अभाव गाउँमा छ । स्थानीयहरूले चुहिएको ठाउँमा सिमेन्टले टाल्दै काम चलाएका छन् । कसैकसैले झिँगटी पाइहाले पनि साइज मिल्दैन । त्यसैले खोजी नै हुँदैन ।


खनियापानीका रमेश खड्का भूकम्पपछि झिँगटी छाना सपना जस्तै बनेको बताउँछन् । शीतल र सानका झिँगटीहरू हराए, ‘मैले पनि झिँगटी पुरिदिएँ,’ खड्का भन्छन् ‘आफूलाई काम नलाग्ने र बिक्री पनि नहुने भएकाले खाडलमा पुर्नुपरेको हो ।’ खनियापानीको डाँसे डाँडामा हेर्दै लोभलाग्दो खड्काको घर अझै धेरैको आँखामा छ । तर झिँगटी खाडलमा पसिसक्यो । अब निस्कँदैन ।


लगाउँदा अलि झम्मार भए पनि झिँगटीले घर छाएपछि ५०/६० वर्षलाई ढुक्क हुन्थ्यो । ‘झन्डैझन्डै ढलान जस्तै भरपर्दो,’ खड्का भन्छन्, ‘पुरानो हुँदै जाँदा कताकति चुहिन्थ्यो, मर्मत गरेर चलाउन सकिने । खर र जस्ताको घर ५ पटक छाना फेर्दा झिँगटी डेग चल्दैनथ्यो ।


२०७२ सालको भूकम्पपछि निजी आवास निर्माणका लागि अनुदान दिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गह्रौं छाना भएका घरलाई मापदण्डबाहिर राख्यो । जस्तापाता या सोहीबमोजिम हलुका सामग्री भन्दा बाहेकका ढुंगा, टायल र झिँगटीका छाना लगाइएका घर मापदण्डमा नपर्ने नियम ल्याएपछि जिल्ला नै जस्तामय बनेको हो । टायल र ढुंगाभन्दा पनि झिँगटी गह्रौं हुन्छ ।


बाक्लो माटो राखेर त्यसमाथि छाइने झिँगटी धेरै बोझिलो हुने भएकाले भूकम्प आउँदा घर लड्ने सम्भावना ज्यादा हुन्छ । ढुंगामाटोको जोडाइमा बनेका घरमा त्यस्तो छानो सुरक्षाका हिसाबले उपयुक्त नहुने प्राविधिकहरूले सल्लाह दिने गर्छन् ।


प्रकाशित : माघ २५, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?