कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हुम्ली–तिब्बतीको त्यो मित्रता

जयबहादुर रोकाया

हुम्ला — चार दशकअघिसम्म हुम्ला र तिब्बतबीचको सम्बन्ध नङ र मासुको जस्तै थियो । हुम्ली कोदो, चामल, फापर र सातु लिएर जान्थे । उताबाट फर्कंदा नुन, ऊन, भेडा/च्याङग्रा ल्याएर आउँथे । वस्तु विनिमयको यो प्रक्रिया नासो (उपहार) का रूपमा हुन्थ्यो । ‘यसले गर्दा हामीहरूबीच न्यानो सम्बन्ध जोडिन्थ्यो,’ स्थानीय लोइट लामा भन्छन्, ‘कतिपयले त आपसमा मित पनि लगाउँथे ।’

हुम्ली–तिब्बतीको त्यो मित्रता

नुन र ऊनका लागि हुम्लीलाई वर्षमा दुईपटक तिब्बत पुग्नैपर्ने बाध्यता थियो । तिब्बती पनि अनाज लिन आफैं सीमावर्ती क्षेत्र आउँथे । देश दुई भए पनि सीमावर्ती क्षेत्रमा भूगोलको बार महसुस हुँदैनथ्यो । ‘आपसमा साटासाट गरिने अन्न, बस्तुभाउले हामीहरूबीच आत्मीयता बढाउँथ्यो,’ उनले भने, ‘उनीहरूले दिने छुर्पी, सुकुटीले त माया झन् गाढा बनाउँथ्यो ।’


बोटबिरुवा नहुने तिब्बती पठारमा अनाज उब्जनी हुँदैनथ्यो । यसले पनि तिब्बतीलाई नेपाल (हुम्ला) प्रति निर्भर बनाएको थियो । अहिले भने समयले कोल्टो फेरेको छ । उवाको उत्पादनले तिब्बती पठारलाई भरिपूर्ण बनाएको छ । उजाड देखिने पठार अहिले जताततै हरियाली देखिन्छ । ‘उनीहरूलाई खान, लाउनका लागि कसैको भर पर्नुपर्दैन,’ हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङ भन्छन्, ‘अहिले हाम्रो परनिर्भरता तिब्बतप्रति झन् बढदै गएको छ, उनीहरू भने आत्मनिर्भर भइसके ।’


उतिबेला तिब्बती र हुम्लीबीच निकै समानता थिए । पैदल हिँडेर ओहोर–दोहोर गर्थे । सुखदु:ख पनि उस्तैउस्तै थिए । बर्खाको समयमा तिब्बतको ताक्लाकोट र शेरगाउँमा हाट लाग्थ्यो । हिउँदमा हुम्लाको नाम्खा, यालवाङमा हाट लाग्थ्यो । सीमावर्ती क्षेत्रका जनता आ–आफूसँग भएका बस्तुभाउ ल्याएर साटसाट गर्थे । पैसाको कारोबार हुँदैनथ्यो । सबै आवश्यकता बस्तुभाउमै साटफेर हुन्थे । लोइटको भनाइमा अहिले यी हाटबजार ‘एकादेशको कथा’ मा सीमित हुन पुगेका छन् ।


स्थानीयका अनुसार चीनले तिब्बतलाई आफ्नो स्वशासित क्षेत्र घोषणा गरेपछि तिब्बती र हुम्लीबीचको सम्बन्ध बिस्तारै औपचारिकतामा सीमित हुन पुगेको हो । सरकारले तिब्बतलाई मात्र हराभरा बनाएन, त्यहाँका जनतालाई पनि सुखी र समृद्ध बनाउने योजना ल्यायो । सार्वजनिक जमिनमा वृक्षरोपण गरियो । पशुपालन गरेर जीवन निर्वाह गर्ने स्थानीय छोपो जातिको जीवनशैली फेरिएको छ ।


हुम्लीलाई च्याङग्रा दिएर अनाज र घिउ (नौनी) लिने उनीहरू आफ्ना दैनिक आवश्यकता स्थानीय बजारमा सहजै पाउँछन् । आफ्नै बजारमा च्याङग्राको राम्रो मूल्य पाउन थालेपछि हुम्लातिर पठाउने झन्झट गर्दैनन् । थोरै मात्रामा नाफल उत्पादन हुने तिब्बती सीमावर्ती गाउँमा अहिले उवाको राम्रो उत्पादन हुन्छ । घरघरमा टनेलबाट तरकारी फलाएका छन् ।


आवश्यकता पर्दा सीमावारिका छिमेकीलाई खाद्यान्न दिएर सहयोग गर्छन् । ‘यसले गर्दा उनीहरू हामीप्रति निर्भर हुने क्रम घट्यो,’ उवा संघका अध्यक्ष तामाङ भन्छन्, ‘हाम्रो सम्बन्ध व्यापारमै सीमित भयो ।’


उतिबेलाको तिब्बतसँग हुम्लीको रोटीबेटीको सम्बन्ध थियो । बिहेबारी पनि बाक्लै हुन्थ्यो । भाषा, संस्कृति, धर्म, रहनसहन मिले पनि बिहेबारी भने छुटेको छ । साबिक लिमी गाविसका पूर्वअध्यक्ष सुनाम पाल्देन लामा तिब्बतीमा आएको विकासको परिवर्तनले बिहेबारीजस्तो सांस्कृति सम्बन्ध पनि टुटेको बताउँछन् ।


‘पहिले वारिपारिका युवायुवतीबीच परस्परमा बिहेबारी हुन्थ्यो, अहिले त हुँदै हँुदैन,’ उनी भन्छन्, ‘यसको असरले लिमीमा अविवाहित महिलाको संख्या पनि बढेको छ ।’

सीमावर्ती क्षेत्रका तिब्बती गाउँमा विकासको चमत्कार भइसक्यो, यतापट्टिका लिमी र यारीगाउँ भने अझै उस्तै छन् । लिमीका बासिन्दालाई जीवन धान्न ६ महिनासम्म तिब्बतको ताक्लाकोटमा मजदुरी गर्नुपर्ने बाध्यता छ ।


‘हामीलाई हाम्रो सरकारले नागरिकता र तिब्बत जाने पासबाहेक अरू केही दिएको छैन,’ लिमी, हल्जीका छिरिङ पाल्ज्योर भन्छन्, ‘तिब्बतमा काम गर्न नपाउने हो भने त हामी भोकभोकै बस्नुपर्ने अवस्था आउँछ ।’


विकासप्रति व्यंग्य

तिब्बती जनता आफ्नो क्षेत्रमा भएको विकासलाई आधार मानेर नेपालमा भइरहेको विकास गतिलाई व्यंग्य गर्छन् । दुई दशकअघि सुरु भएको हिल्सा–सिमकोट सडक अझै पूरा हुन सकेको छैन । ९५ किमि उक्त सडकको अहिलेसम्म ८८ किमि मात्र ट्रयाक खोलिएको छ । गाडी भने ७७ किमिमा मात्रै चल्छन् । चीन सरकारले केरुङपछि यही नाकालाई प्राथमिकता दिँदै आए पनि नेपाल सरकारबाट खासै चासो नदिएको स्थानीयको आरोप छ ।


कर्णाली प्रदेशका सामाजिक विकासमन्त्रीसमेत रहेका हुम्ला (ख) का प्रदेशसभा सदस्य दल रावल हिल्सा–सिमकोट सडक बनेपछि हुम्ली र तिब्बतीबीचको सम्बन्ध मजबुत हुने बताउँछन् । ‘सडक सञ्जालले जोडिएपछि हुम्लाका उत्पादन तिब्बत पुगी अन्तर्राष्ट्रिय बजारमा जाने अवस्था आउँछ,’ उनले भने, ‘तिब्बतबाट समेत हुम्ला र नेपालका लागि आवश्यक उपभोग्य वस्तु आउन सक्छ ।’

प्रकाशित : माघ २६, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?