२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

काठमाडौं वरपरका डाँडामा बाक्लो हिमपात (तस्बिरहरु)

काठमाडौँ — शनिवार काठमाडौं वरपरका डाँडाहरुमा पनि हिउँ परेको छ । धेरै वर्षपछि शिवपुरी–नागार्जुन निकुञ्जसहित ललितपुरको फुलचोकी, भक्तपुरको नगरकोट र चन्द्रागिरीमा हिउँ परेको हो ।शनिवार विहानै नागार्जुन निकुञ्ज नजिकको भीमढुंगा र रामकोट तथा शिवपुरीका डाँडागाउँलगायतका स्थानमा हिउँ परेको छ ।

काठमाडौं वरपरका डाँडामा बाक्लो हिमपात (तस्बिरहरु)

काठमाडौंसहित मकवानपुरको दामन, टिस्टुङ, दोलखाको चरिकोट, कालिन्चोकलगायतका स्थानमा पनि बाक्लो हिउँ परेको छ ।

पश्चिमी वायु प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण बुधवारदेखि नै देशभर वर्षा र हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले यो पटकको मौसमी प्रणाली बलियो (स्ट्रङ) भएका कारण एकै पटक धेरैभरी वर्षा र हिमपात भएको बताए ।

बुधवार यता हिमाली अधिकांश जिल्लामा अघिल्ला वर्षभन्दा बाक्लो हिमपात भएको छ । विगतमा हिउँ नपर्ने कतिपय स्थानमा पनि यो वर्षको हिउँदमा हिमपात भएको महाशाखाले उल्लेख गरेको छ ।


भूमध्येसागर हुँदै बलियो पश्चिम न्युनचापीय प्रणाली नेपाल भित्रिएपछि हिमाली क्षेत्रमा यो पटक विगतमा भन्दा बाक्लो हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुवास रिमालले यो पटकको न्युनचापीय प्रणाली विगतका हिउँदको भन्दा बलियो (स्ट्रङ) भएपछि बाक्लो हिमपात भएको बताए ।

भूमध्येसागरबाट सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर पश्चिमी भारत (उत्तराखण्ड) हुँदै न्युनचापीय प्रणाली सोमवार नेपाल भित्रिएको हो ।

‘हिउँदयाममा आउने प्रणाली उच्च वायुमण्डलबाट आउँछ’ रिमालले कान्तिपुरसित भने, ‘विगतमा कमजोरखालको प्रणाली भित्रिन्थ्यो, यो पटक बलियो आयो त्यही भएर हिमालदेखि तराईसम्मै असर देखिएको छ ।’

चन्द्रागिरीमा परेको हिउँ । तस्बिरः अभिशेक विक्रम शाहको फेसबुकबाट साभार

उनका अनुसार हिउँदयाममा पश्चिम न्यूनचापीय प्रणाली विगतमा साधारणतया फिबल (शक्ति कम भएको प्रणाली) हुने गर्दथ्यो । ‘यो पटकको प्रणाली शक्तिशाली भएकाले एकै पटक देशैभर फैलिएको छ’ रिमालले भने, ‘पश्चिमी भारतका जम्मुकश्मिर र उत्तराखण्डका विभिन्न स्थानमा पनि बाक्लो हिमपात भएको छ, त्यहाँ पनि हिमपातबाट बच्न अलर्ट गराइएको छ ।’


पश्चिमका विभिन्न स्थानमा कम उचाईँका स्थानमा पनि यो पटक बाक्लो हिमपात भएको छ । उच्च र हिमाली भागमा दुई फिटसम्म हिमपात भएको छ । न्यूनचापीय प्रणाली भित्रिएसँगै देशैभर बदली भएको छ । केही स्थानमा वर्षासमेत भएको महाशाखाले उल्लेख गरेको छ ।


चन्द्रागिरीमा परेको हिउँ । तस्बिरः अभिशेक विक्रम शाहको फेसबुक

पूर्वको तुलनामा पश्चिमी भुभागमा पुर्ण बदली भएको छ । काठमाडौंमा पनि मंगलबार विहानैदेखि बदली भएको छ । पूर्वी क्षेत्रका हिमाली भेगमा भने थोरै स्थानमा मात्र हिमपात भएको छ । बुधवार पनि दिउँसो देशैभर मौसममा बदलि हुने महाशाखाले प्रक्षेपण गरेको छ । ‘पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ’ महाशाखाले बुलेटिनमा भनेको छ, ‘हिमालि भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यमखालको हिमपातको पनि संभावना देखिन्छ ।’


पूर्वी भागमा भने बुधवारदेखि नै सुधार आउनेछ । पश्चिमी क्षेत्रमा भने बिहीवार फेरी अर्को प्रणाली भित्रिने देखिएको छ । ‘न्युनचापीय प्रणाली फेरी भित्रिने भएकाले पश्चिममा बदली कायम हुनेछ’ रिमालले भने ।

प्रकाशित : माघ २६, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?