कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

फास्ट ट्रयाकको ८० प्रतिशत काम पूरा

पर्सा — बहुप्रतिक्षित काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलले हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गुड्न सक्छ ।

फास्ट ट्रयाकको ८० प्रतिशत काम पूरा

‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारी मध्ये ७० देखि ८० प्रतिशत काम पूरा भएको छ,’ कार्यदलका प्रमुख मेजर राजेशकुमार देवले भने, ‘सडकको फरमेसन लेभल सकिन लाग्यो, अब सब–बेस र बेस गरिन्छ, त्यसपछि कालोपत्रे गर्न सकिन्छ ।’ ७६ किमिको फास्ट ट्रयाकमा निजगढ कार्यदलले अन्तिमविन्दु तर्फको (पूर्व-पश्चिम राजमार्गमा जोडिने) जिम्मेवारी पाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाडसम्म करिब १० किमि सडक निर्माणको जिम्मेवारी यो कार्यदलले पाएको हो । जसलाई प्राविधिक भाषामा ६६ जोड ३०० देखि ७५ जोड ४४७ च्यानेज भनिन्छ ।


सेनाले हाल अधिकतम ६४ मिटर चौडा सडक निर्माण गरिरहेको छ । अन्यत्र पनि यति नै चौडा सडक बनाइँदै छ । फास्ट ट्रयाक कालेपत्रे गरिएपछि तराईमा उक्त सडक २७ मिटर चौडा तथा ४ लेनको हुनेछ । पहाडमा भने २५ मिटर चौडा हुनेछ । निजगढ कार्यदलको जिम्मेवारीअन्तर्गतको सडकमा लालबकैया र बकैया गरी २ खोलाको पुल निर्माण गर्नुपर्नेछ । लालबकैयाको पुलको लम्बाई करिब ४ सय ५० मिटर र बकैयाको पुलको लम्बाई १ सय २० मिटर हुनेछ । फास्ट ट्रयाकमै जम्मा ९९ पुलमध्ये निजगढतर्फ २ वटा मात्र परेको छ । सरकारले पुलको टेन्डर आह्वान गरिसकेको छैन । एकै साथ ९९ वटा पुलको टेण्डर प्याकेजमै आह्वान हुनेछ ।


कार्यदलले उत्तरतर्फ चुरे पहाड क्षेत्रमा पहाड काट्ने र म्याग्नेट फिलिङको काम गरिरहेको मेजर देवको भनाइ छ । ‘हामी यस क्रममा चुरे पहाडको यस्तो भागमा पुगेका छौं, जहाँ सधैं सुक्खा पहिरो गइरहन्छ,’ उनले भने, ‘एकपटक ठूलो सुक्खा पहिरो गएर अवरोध आएको थियो, अहिले अवरोध पन्छाएर निर्माण तीव्र बनाएका छौं ।’


ललितपुरको खोकनादेखि बाराको निजगढसम्म फास्ट ट्रयाकलाई १० भागमा विभाजित गरी सेनाको १० कार्यदलले काम गरिरहेका छन् । निजगढ, बागदेव, राजदम्बार, बुदुने, लेनडाँडा, ढेड्रे, महादेवटार, सिस्नेरी, मख्खुबेंसी र खोकनामा गरी सेनाका कार्यदल खटिएका छन् । निजगढतर्फको करिब १० किमिमा करिब ८ हजार रुख काटिएका थिए । अब १ लाख वृक्षरोपणको तयारी भइरहेको देव बताउँछन् । ‘हामी वृक्षरोपणका लागि तयारी अवस्थामा छौं,’ उनले भने, ‘जिल्ला वन कार्यालयले जहाँ जमिन उपलब्ध गराउँछ, त्यहीं वृक्षरोपण गर्नेछौं ।’


तीव्र गतिको कामले सरोकारवालाहरू पनि सन्तुष्ट छन् । अभियन्ता रवि दंगालले सेनाले सन्तोषजनक रुपमा काम गरिरहेको बताए । ‘सेनाको १० वटै कार्यदलले आफ्नो जिम्मेवारी कुशलपूर्वक गरिरहेका छन्,’ उनले भने, ‘आशा गरौं यसै गतिमा काम भए वर्षाअघि कालोपत्रे र पुल निर्माणबाहेक अन्य काम पूरा हुनेछ ।’


होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले फास्ट ट्रयाकको पुल तथा समग्र संरचना निर्माणलाई पनि सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । ‘यो मार्ग निर्माणको व्यग्र प्रतिक्षा गरेर हामी बसेका छौं,’ उनले भने, ‘राष्ट्रिय गौरवको यो आयोजना निर्माण गरी सरकारले जनतालाई उपहार दिने अवसर छ, आमनेपालीको चाहना बुझेर यसको निर्माण चाँडै गरिनुपर्छ ।’


व्यवसायी प्रमोद चौधरीले राजधानीलाई तराईसँग जोड्ने अत्यन्त छोटो यो मार्ग निर्माण भएपछि प्रदेश २ कै कायापलट हुने सम्भावना रहेको बताए । ‘फास्ट ट्रयाककै नजिक मुलुककै अर्को राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल पनि निर्माण हुने भएको छ,’ उनले भने, ‘यी दुबै आयोजनाले राजधानीको हवाईदेखि मानवीय चाप पनि घटाउनेछ ।’



निजगढ–काठमाडौं फास्ट ट्रयाकको निजगढतर्फको खण्ड । सेनाको निजगढ कार्यदलले करिब १० किमि सडक निर्माणमध्ये ८० प्रतिशत काम पूरा गरेको छ । तस्बिर : शंकर आचार्य/कान्तिपुर

प्रकाशित : माघ २६, २०७५ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?