मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको छु : दाहाल
सिराहा — सत्तारुढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको बताएका छन् ।
सिराहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन गर्दै उनले संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, आफू र समाजवादी फोरमका अध्यक्ष तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले हस्ताक्षर गरेको समेत बताए ।
उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान जनजालाकी भनेर शङ्का नगर्नसमेत आग्रह गरे । ‘मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेका छौँ, तराई मधेसको निम्ति झन्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ’ उनले भने ।
सिँचाई र खानेपानीको दीर्घकालीन ढङ्गले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको पनि उनको भनाई थियो । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईँहरूको मागमा म सकारात्मक छु’ अध्यक्ष दाहालले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिको लागि मेरो तर्फबाट तपाईँहरूलाई सहयोग रहने छ ।'
उनले सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला भएको उल्लेख गर्दै सिराहालाई आँप क्षेत्रको रूपमा विकास गर्न पहल गर्नेसमेत बताए ।