भारतीय लोकसभा चुनावका लागि सिमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय

सन्तोष सिंह

धनुषा — भारतको विहारमा हुन लागेको लोकसभा चुनावमा नेपालबाट नक्कली नोटको प्रवाह र भारतीय अपराधी नेपालमा लुक्ने सक्ने खतरा रहेको सुरक्षा अधिकारीहरूले औँल्याएका छन् । नेपाल-भारत बोर्डर सुरक्षा बैठकको क्रममा सोमबार जनकपुरमा दुई देशका अधिकारीहरूले भारतको लोकसभा चुनावमा नेपाली भूमि प्रयोग गरेर हुन सक्ने अपराधिक कार्यको बारे समिक्षा गरे ।


बैठकमा सहभागी भारतीय अधिकारीहरूको पहिलो प्रस्तावको रुपमा रहेको लोकसभा चुनाव सम्बन्धी विषयहरुमा निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए। ‘खुल्ला सिमानाका कारण चुनाव प्रभावित गर्ने नक्कलीनोटको ओसार पसार हुनसक्ने खतरा बारे बैठकमा छलफल भयो', प्रजिअ कणेलले भने, ‘भारतीय नक्कली नोट, मानव ओसारपसार, मदिरा बेचबिखन र अवैध कारोबारमा विशेष निगरानी गर्ने निर्णय भएको छ।’ चुनावका बेला नेपाल–भारत सीमामा आपराधिक क्रियाकलाप हुन नदिन दुवैतर्फका सुरक्षा निकायले निगरानी बढाउने निर्णय पनि भएको उनले बताए।

भारत, विहार राज्यको मधुवनीसँग जोडिएका महोत्तरी, धनुषा, सिराहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग भारत विहारको मधुवनीका डीएम कपिल अशोकले नेतृत्व गरेको समूहले लोकसभा चुनावको सुरक्षा अवस्था बारे छलफल गरेका थिए।

बैठकमा चुनावका बेला नेपालतर्फबाट हुन सक्ने सुरक्षाचुनौतीबारे पनिछलफल भएको डीएम कपिल अशोकले बताए। 'चुनावमा दुईतर्फबाट बोर्डर शिल गर्ने विषयमा छलफल भएको छ', डीएम अशोकले भने,‘ विहारको चुनावमा मदिराले समेत प्रभाव पार्न सक्छ। मदिरा नियन्त्रण र चुनावको बेलामा दुवैतर्फ सुरक्षा गस्ती बढाउने निर्णय भएको छ।’
डीएम अशोकका अनुसार लोकसभा चुनावमा धनुषासँग जोडिएको मधुवनीको हरलाखि सबै भन्दाबढी सुरक्षा थ्रेटमा रहेको छ।उनले भने,‘तराइको समथर भू–भागमा कमला नदीसँग जोडिएको क्षेत्रपनि सुरक्षाको दृष्टिकोणले संवेदनशील छ।’ नियमित सुरक्षा बैठकमा लोकसभा चुनाव बाहेक मानव तस्करी, सामाजिक विकृति लगायतको विषयमा छलफल भएको उनले बताए।

छलफलमा दुवै देशको सीमा क्षेत्रमा स्थानीय स्तर बारे उठेको जिज्ञासामा समेत छलफल भएको कपिलले सञ्चारकर्मीलाई जानकारी गराएका थिए। बैठकमा लागूऔषध र सीमा स्तम्भ मर्मत सम्भार तथा अतिक्रमण हुन नदिने बारे भारतीय अधिकारीहरूसँग सहमति भएको प्रजिअ कणेलले बताए। नियमित सुरक्षा बैठकमा सीमा क्षेत्रको व्यापार, अपराध, नियमित आवतजावत,भन्सार,वन,नदी नियन्त्रण,प्राकृतिक स्रोत साधनको विषयमा छलफल भएको थियो।

प्रकाशित : माघ २८, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्

नेविसंघ अध्यक्ष महरले राजीनामा दिए

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्यार्थी सङ्घ(नेविसंघ) का अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिबाट सङ्घको वर्तमान कार्यसमिति विघटन गर्ने तयारी भइरहेका बेला सोमबार महरले राजीनामा दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका छन् ।

सभापति देउवाले महरको राजीनामा स्वीकृत भइसकेको जानकारी सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा जानकारी दिएका थिए । महरको कार्यकाल भदौ २ मै सकिएको हो । महाधिवेशन गराउन पार्टीले उनलाई पहिलोपटक तीन र दोस्रो पटक दुई महिनाको समय दिएको थियो ।

तोकिएको समयभित्र महाधिवेशन गराउन नसकेपछि विधानत:कार्यसमिति नै विघटन गर्ने तयारी पार्टीको थियो । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहित केही नेताहरूले भने वर्तमान नेतृत्वलाई महाधिवेशन गराउन दिनुपर्ने बताउँदै आएका थिए । सभापति देउवा र वरिष्ठ नेता पौडेल भने महर नेतृत्वको कार्यसमिति भङ्ग गरेर महाधिवेशनका निम्ति तदर्थ समिति बनाउन सहमत भएका छन् ।

महरले आफूलाई पार्टी केन्द्रीय कार्यसमितिबाटै असहयोग भएपछि राजीनामा दिएको बताएका छन् । तोकिएको समयमा महाधिवेशन गराउन नसक्नुमा समयमै सङ्घको विधान नहुनुलाई मुख्य कारण ठानेका छन् । ‘महाधिवेशनको प्रक्रिया अघि बढिरहेको थियो/छ, पार्टीले थपेको समयभित्र महाधिवेशन गराउन विधान समयमै नआउँदा समस्या भयो’ उनले भने ।

महर नेतृत्वको कार्यसमितिका पदाधिकारी तथा सदस्य गरी ५१ जनाले राजीनामा दिएपछि उनी थप दबाबमा परेका थिए । महरले राजीनामा दिइसकेकाले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा नेविसंघका बारे सभापति देउवाले सदस्यहरूलाई बोल्न दिएका थिएनन् ।

प्रकाशित : माघ २८, २०७५ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्