१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भारतीय लोकसभा चुनावका लागि सिमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय

सन्तोष सिंह

धनुषा — भारतको विहारमा हुन लागेको लोकसभा चुनावमा नेपालबाट नक्कली नोटको प्रवाह र भारतीय अपराधी नेपालमा लुक्ने सक्ने खतरा रहेको सुरक्षा अधिकारीहरूले औँल्याएका छन् । नेपाल-भारत बोर्डर सुरक्षा बैठकको क्रममा सोमबार जनकपुरमा दुई देशका अधिकारीहरूले भारतको लोकसभा चुनावमा नेपाली भूमि प्रयोग गरेर हुन सक्ने अपराधिक कार्यको बारे समिक्षा गरे ।

भारतीय लोकसभा चुनावका लागि सिमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय

बैठकमा सहभागी भारतीय अधिकारीहरूको पहिलो प्रस्तावको रुपमा रहेको लोकसभा चुनाव सम्बन्धी विषयहरुमा निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए । ‘खुल्ला सिमानाका कारण चुनाव प्रभावित गर्ने नक्कली नोटको ओसार पसार हुनसक्ने खतरा बारे बैठकमा छलफल भयो', प्रजिअ कणेलले भने, ‘भारतीय नक्कली नोट, मानव ओसारपसार, मदिरा बेचबिखन र अवैध कारोबारमा विशेष निगरानी गर्ने निर्णय भएको छ ।’ चुनावका बेला नेपाल–भारत सीमामा आपराधिक क्रियाकलाप हुन नदिन दुवैतर्फका सुरक्षा निकायले निगरानी बढाउने निर्णय पनि भएको उनले बताए ।


भारत, विहार राज्यको मधुवनीसँग जोडिएका महोत्तरी, धनुषा, सिराहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग भारत विहारको मधुवनीका डीएम कपिल अशोकले नेतृत्व गरेको समूहले लोकसभा चुनावको सुरक्षा अवस्था बारे छलफल गरेका थिए ।


बैठकमा चुनावका बेला नेपालतर्फबाट हुन सक्ने सुरक्षा चुनौतीबारे पनि छलफल भएको डीएम कपिल अशोकले बताए । 'चुनावमा दुईतर्फबाट बोर्डर शिल गर्ने विषयमा छलफल भएको छ', डीएम अशोकले भने,‘ विहारको चुनावमा मदिराले समेत प्रभाव पार्न सक्छ । मदिरा नियन्त्रण र चुनावको बेलामा दुवैतर्फ सुरक्षा गस्ती बढाउने निर्णय भएको छ ।’

डीएम अशोकका अनुसार लोकसभा चुनावमा धनुषासँग जोडिएको मधुवनीको हरलाखि सबै भन्दाबढी सुरक्षा थ्रेटमा रहेको छ । उनले भने,‘तराइको समथर भू–भागमा कमला नदीसँग जोडिएको क्षेत्रपनि सुरक्षाको दृष्टिकोणले संवेदनशील छ ।’ नियमित सुरक्षा बैठकमा लोकसभा चुनाव बाहेक मानव तस्करी, सामाजिक विकृति लगायतको विषयमा छलफल भएको उनले बताए ।


छलफलमा दुवै देशको सीमा क्षेत्रमा स्थानीय स्तर बारे उठेको जिज्ञासामा समेत छलफल भएको कपिलले सञ्चारकर्मीलाई जानकारी गराएका थिए । बैठकमा लागूऔषध र सीमा स्तम्भ मर्मत सम्भार तथा अतिक्रमण हुन नदिने बारे भारतीय अधिकारीहरूसँग सहमति भएको प्रजिअ कणेलले बताए । नियमित सुरक्षा बैठकमा सीमा क्षेत्रको व्यापार, अपराध, नियमित आवतजावत,भन्सार,वन,नदी नियन्त्रण,प्राकृतिक स्रोत साधनको विषयमा छलफल भएको थियो ।

प्रकाशित : माघ २८, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?