१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेविसंघ अध्यक्ष महरले राजीनामा दिए

काठमाडौँ — नेपाल विद्यार्थी सङ्घ(नेविसंघ) का अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिबाट सङ्घको वर्तमान कार्यसमिति विघटन गर्ने तयारी भइरहेका बेला सोमबार महरले राजीनामा दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका छन् ।

नेविसंघ अध्यक्ष महरले राजीनामा दिए

सभापति देउवाले महरको राजीनामा स्वीकृत भइसकेको जानकारी सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा जानकारी दिएका थिए । महरको कार्यकाल भदौ २ मै सकिएको हो । महाधिवेशन गराउन पार्टीले उनलाई पहिलोपटक तीन र दोस्रो पटक दुई महिनाको समय दिएको थियो ।


तोकिएको समयभित्र महाधिवेशन गराउन नसकेपछि विधानत:कार्यसमिति नै विघटन गर्ने तयारी पार्टीको थियो । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहित केही नेताहरूले भने वर्तमान नेतृत्वलाई महाधिवेशन गराउन दिनुपर्ने बताउँदै आएका थिए । सभापति देउवा र वरिष्ठ नेता पौडेल भने महर नेतृत्वको कार्यसमिति भङ्ग गरेर महाधिवेशनका निम्ति तदर्थ समिति बनाउन सहमत भएका छन् ।


महरले आफूलाई पार्टी केन्द्रीय कार्यसमितिबाटै असहयोग भएपछि राजीनामा दिएको बताएका छन् । तोकिएको समयमा महाधिवेशन गराउन नसक्नुमा समयमै सङ्घको विधान नहुनुलाई मुख्य कारण ठानेका छन् । ‘महाधिवेशनको प्रक्रिया अघि बढिरहेको थियो/छ, पार्टीले थपेको समयभित्र महाधिवेशन गराउन विधान समयमै नआउँदा समस्या भयो’ उनले भने ।


महर नेतृत्वको कार्यसमितिका पदाधिकारी तथा सदस्य गरी ५१ जनाले राजीनामा दिएपछि उनी थप दबाबमा परेका थिए । महरले राजीनामा दिइसकेकाले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा नेविसंघका बारे सभापति देउवाले सदस्यहरूलाई बोल्न दिएका थिएनन् ।

प्रकाशित : माघ २८, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?