नेविसंघ अध्यक्ष महरले राजीनामा दिए

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्यार्थी सङ्घ(नेविसंघ) का अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिबाट सङ्घको वर्तमान कार्यसमिति विघटन गर्ने तयारी भइरहेका बेला सोमबार महरले राजीनामा दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका छन् ।

सभापति देउवाले महरको राजीनामा स्वीकृत भइसकेको जानकारी सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा जानकारी दिएका थिए । महरको कार्यकाल भदौ २ मै सकिएको हो । महाधिवेशन गराउन पार्टीले उनलाई पहिलोपटक तीन र दोस्रो पटक दुई महिनाको समय दिएको थियो ।

तोकिएको समयभित्र महाधिवेशन गराउन नसकेपछि विधानत:कार्यसमिति नै विघटन गर्ने तयारी पार्टीको थियो । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहित केही नेताहरूले भने वर्तमान नेतृत्वलाई महाधिवेशन गराउन दिनुपर्ने बताउँदै आएका थिए । सभापति देउवा र वरिष्ठ नेता पौडेल भने महर नेतृत्वको कार्यसमिति भङ्ग गरेर महाधिवेशनका निम्ति तदर्थ समिति बनाउन सहमत भएका छन् ।

महरले आफूलाई पार्टी केन्द्रीय कार्यसमितिबाटै असहयोग भएपछि राजीनामा दिएको बताएका छन् । तोकिएको समयमा महाधिवेशन गराउन नसक्नुमा समयमै सङ्घको विधान नहुनुलाई मुख्य कारण ठानेका छन् । ‘महाधिवेशनको प्रक्रिया अघि बढिरहेको थियो/छ, पार्टीले थपेको समयभित्र महाधिवेशन गराउन विधान समयमै नआउँदा समस्या भयो’ उनले भने ।

महर नेतृत्वको कार्यसमितिका पदाधिकारी तथा सदस्य गरी ५१ जनाले राजीनामा दिएपछि उनी थप दबाबमा परेका थिए । महरले राजीनामा दिइसकेकाले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा नेविसंघका बारे सभापति देउवाले सदस्यहरूलाई बोल्न दिएका थिएनन् ।

प्रकाशित : माघ २८, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको छु : दाहाल 

कान्तिपुर संवाददाता

सिराहा — सत्तारुढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको बताएका छन् ।

सिराहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन गर्दै उनले संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, आफू र समाजवादी फोरमका अध्यक्ष तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले हस्ताक्षर गरेको समेत बताए ।

उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान जनजालाकी भनेर शङ्का नगर्नसमेत आग्रह गरे । ‘मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेका छौँ, तराई मधेसको निम्ति झन्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ’ उनले भने ।

सिँचाई र खानेपानीको दीर्घकालीन ढङ्गले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको पनि उनको भनाई थियो । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईँहरूको मागमा म सकारात्मक छु’ अध्यक्ष दाहालले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिको लागि मेरो तर्फबाट तपाईँहरूलाई सहयोग रहने छ ।'

उनले सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला भएको उल्लेख गर्दै सिराहालाई आँप क्षेत्रको रूपमा विकास गर्न पहल गर्नेसमेत बताए ।

प्रकाशित : माघ २८, २०७५ १४:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT