१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

महिनावारी सुकेकी ५४ वर्षीया महिला बनिन् आमा

अतुल मिश्र

काठमाडौँ — राजधानीकी एक महिला महिनावारी सुकेको ४ वर्षपछि आइतबार आमा बनेकी छन् । ५४ वर्षीया ती महिला मुलुक मै टेष्ट ट्युब बेवी प्रविधिबाट आमा बन्न सफल भएकी हुन् ।

महिनावारी सुकेकी ५४ वर्षीया महिला बनिन् आमा

‘इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि अर्थात् टेष्ट ट्युव बेवी प्रकृयाबाट महिनावारी सुकेको महिलालाई समेत हामी आमा बनाउन सफल भयौँ’, ललितपुरस्थित अल्का आइभीएफ एण्ड फर्टिलिटी सेन्टरका आइभीएफ विशेषज्ञ डा. नुतन शर्माले भनिन्,‘एकवर्ष देखि उनी हाम्रो केन्द्रमा बाँझोपनको उपचार गराइरहेकी थिइन् ।’


डा. शर्माका अनुसार मुलुकको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्मोनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण समेत ५४ वर्षको उमेरमा गर्भाधारण हुनु असामान्य कुरा हो ।


ती महिलाको आइतबार राती ९ बजे काठमाडौंस्थित बयोधा अस्पतालमा जुम्ल्याह सन्तान भएको हो । छोरीको तौल १ दशमलव ६ किलोग्राम र छोराको १ दशमलव ४ किलोग्राम छ ।


‘हाल आमा र बच्चाहरुको स्वास्थ्य राम्रो छ’, डा. शर्माले अगाडी थपिन्,‘उच्च रक्तचापका कारण थप स्वास्थ्य जोखिमबाट जोगाउन निर्धारित समय अगावै झण्डै ३७ साता मै शल्यक्रियाद्वारा बच्चा निकालिएको हो ।’


बढी उमेर समूहका ती महिलालाई सुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार सुरु गरेको जनाउँदै डा. शर्माले हाल बाँझोपनको समस्या भएकाहरुको समेत मुलुक मै उपचार सम्भव रहेको बताइन् । तर सन्तानको चाहना राख्ने महिलाले भने समय मै चिकित्सकीय परामर्श लिनु आवश्यक हुन्छ ।


आइभीएफ प्रविधि अन्तर्गत विशेषज्ञहरुले महिलाको शरिरबाट डिम्व(ओभम) झिकेर यसलाइ पुरुषको शुक्रकिटसँग प्रयोगशालामा निशेचन(फर्टिलाइजेसन) गराएर गर्भाशयमा भ्रुणलाइ स्थानान्तरण गर्छन् । यसमा महिलाको डिम्व र पुरुषको शुक्रकिटलाइ प्रयोगशालामा निशेचन गराइन्छ । निशेचित भ्रुणलाइ करिब ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ ।


उक्त प्रतिस्थापनपछि सामान्य शिशु सरह आमाको गर्भमा रही शिशुको जन्म हुन्छ । महिलाको डिम्ब र पुरुषको शुक्रकिट प्राकृतिक रुपमा निशेचित नभइ प्रयोगशालामा उपयोग गरिने सिसाको थाल भएकाले यो प्रविधि अन्तर्गत जन्मिएकाहरुलाई बोलचालको भाषामा टेष्ट-ट्युब बेवी भन्ने गरिएको हो ।


दुईवर्ष देखि सन्तान पाउने प्रयास जारी राखे पनि गर्भधारण गर्न नसकिरहेका महिला, डिम्बको नली बन्द भएका महिला,शुक्रकिटको गणना अत्यन्त कम भएका पुरुष लगायत अन्य समस्या भएकाहरुले आईभीएफ प्रकृया अपनाएर सन्तान प्राप्त गर्ने गरेका छन् ।


हाल मुलुकमा बाँझोपनको समस्यामा वृद्घि समेत देखिएको डा.शर्मा बताउँछिन् । बाँझोपना प्रजनन् प्रणालीको एउटा रोग हो, जसले गर्दा कुनै महिलामा गर्भधारण गर्ने प्रकृयामा विकृति आउँछ ।


मुलुकमा पहिलो पटक २०६१ साल फागुन २० गते ओम अस्पतालको आईभीएफ सेन्टरबाट बाबु राजेन्द्र तामाङ र आमा सन्ध्याबाट पहिलो टेस्ट ट्युब बेबीको जन्म भएको थियो ।

प्रकाशित : माघ २८, २०७५ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?