२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

छात्राको कोठामा ‘सुसाइड नोट’

‘सुसाइडको कारण पत्ता लगाउनुपर्छ, हामी पनि आश्चर्यचकित छौँ, एक्लै रक्सौल नजाने उनीहरू कसरी त्यो रेल्वे ढालासम्म पुगे ?’
भूषण यादव

वीरगन्ज — भारतीय रेलसँग किचिएर ज्यान गुमाएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएको पर्सा प्रहरीले वीरगन्ज रानीघाटमा छात्राहरू बस्ने कोठा फोरेर खनतलाशी गर्दा सुसाइड नोट फेला परेको हो । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार प्रहरीभित्र प्रेवश गर्दा देख्ने ठाउँमा नै सुसाइड नोट राखिएको थियो । 

पर्साको कालिकामाई गाउँपालिका– २ भेडिआरीकी निभा कुमारी र सोही गाउँपालिका– ३ हरिहरपुरकी किरण चौरसियाको शव आइतबार विहान सीमावर्ती रक्सौल–सुगौली रेल्वेखण्डको कनना रेल्वे ढाला नजिकै क्षतविक्षत अवस्थामा फेला परेको थियो । एक जनाको घाँटी र अर्कोको दुबै घुँडा माथिको भाग छिनिएको थियो । उनीहरूको पकेटमा भेटिएको परिचय पत्रबाट सनाखत भएको थियो ।


रातो पेनले लेखिएको सुसाइड नोटमाथि रातो गुलाब र घडी राखिएको थियो । एसपी ढकालका अनुसार सुसाइड नोटमा कसैमाथि आरोप लगाइएको छैन । ‘हामी पूरै होसमा यो चिठ्ठी लेख्दैँ छौँ, हामी यो संसारमा बाच्न सक्दैनौँ, हाम्रो यो निर्णयको पछाडि कसैको हात छैन, हामी दुबै खुशीका साथ यो निर्णय लिएका हौँ,’ सुसाइड नोट उद्धृत गर्दौ एसपी ढकालले अगाडि थपे, ‘मम्मी पापा हामीलाई माफ गर्नुहोला, हामीले तपाईहरूको सपना पूरा गर्न सकेनौँ । आई लभ यु पापा ममी ।’


नोटको अन्त्यमा निभा र किरण लेखिएको छ । सुसाइड नोट फेला परेपछि प्रहरीले आत्महत्या नै भएको बताएको छ । घरबेटीलाई पूजा गर्न जान्छु भनेर दुबै जना आइतबार विहान करिब साढे ६ बजे नै निस्केका थिए । छात्राका परिवारजन गाउँमा बस्ने गरेका छन् ।


पारिवारिक स्रोतका अनुसार कक्षा ११ मा अध्ययनरत किरण चौरसियाको केही दिन पहिले इन्गेजमेन्ट भएको थियो । सुसाइड नोटमाथि राखिएको घडी इन्गेजमेन्टकै बेला किरणले पाएको हुनसक्ने प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार वीरगन्जको एक स्कुलमा कक्षा ११ मा अध्ययनरत निभा र किरण वाहेक अन्य दुई छात्रापनि त्यही कोठामा सँगै बस्ने गरेका थिए । घटनाको दिन बाँकी दुई छात्रा गाउँ गएका थिए । भारतीय प्रहरीले समेत प्रत्यक्षदर्शीको बयानको आधारमा दुबै छात्राले आत्महत्या नै गरेको दाबी गरेको छन् ।


रक्सौलका डीएसपी सन्जय झा र रेल्वे सुरक्षा बलका अधिकारीहरू घटनास्थल अवलोकन गरी प्रत्यक्षदर्शीसँग बयान लिएका थिए । छात्रा बस्ने डेराबाट सुसाइड नोट फेलापरेपछि पर्सा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छैन । परिवारजन भने यो घटना शंकास्पद रहेको दाबी गरेका छन् ।


‘एक जनाको मात्र विवाह तय भएको अवस्थामा दुबै छात्राले किन सुसाइड गरे ?’ एक छात्राका काका भन्छन्, ‘सुसाइडको कारण पत्ता लगाउनुपर्छ, हामी पनि आश्चर्यचकित छौँ, एक्लै रक्सौल नजाने उनीहरू कसरी त्यो रेल्वे ढालासम्म पुगे ?’ भारतीय प्रहरीकै भनाई अनुसार एक छात्रालाई बचाउने क्रममा दुबै ट्रेनले किचिएका थिए ।


जबकि सुसाइड नोटमा दुबैको नाम उल्लेख गरिएको छ । आइतबार सामाजिक सञ्जालमा छात्राहरूको शव र परिचयपत्र सहितको विवरण भाइरल बनेपछि पर्सा प्रहरी घटनास्थलतर्फ गएको थियो । कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइने भारतीय प्रहरीले जनाएको छ ।


यो पनि पढ्नुहोस्ः

भारतीय रेल्वे ट्रयाकमा दुई नेपाली छात्राको शव

प्रकाशित : माघ २८, २०७५ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?