कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकावासीलाई पानी परेपछि धूलो र हिलोले सकस

विमल खतिवडा

काठमाडौँ — केही दिनअघि परेको वर्षाका कारण उपत्यकाका सडक हिलाम्य भए । शनिबार दिउँसोदेखि मौसम खुल्दै गयो । सडकमा जमेको पानी त सुक्यो तर धूलोको सकस थपियो । स्तरोन्नति क्रममा रहेका अधिकांश सडकमा पैदल यात्रुले आवतजावतमा सास्ती खेप्नुपर्‍यो । 

उपत्यकावासीलाई पानी परेपछि धूलो र हिलोले सकस

जब वर्षा हुन्छ, सडकमा तीव्र गतिमा गुड्ने गाडीले छ्याप्ने हिलोले पैदलयात्री हिलाम्ये बन्छन् । कार्यालय, कलेज तथा काममा हिँडेकाहरू पुन: फर्किएर पोसाक परिवर्तन गरी गन्तव्यमा जानुको विकल्प हुँदैन ।


जहाँ खाल्डाखुल्डी बढी छन्, त्यहाँ पानी जम्छ । जब हिलो सुक्छ, सडक धुलाम्य हुन्छ । पानी परेर घाम लाग्नासाथ सडक धूलोका कारण हिँडिसाध्य हुँदैन । सबैभन्दा बढी समस्या चावहिल(जोरपाटी, कपन, कलंकी(नागढुंगा खण्डमा छ । यी क्षेत्रका बासिन्दा पानी पर्दा हिलो र घाम लाग्दा धूलाले पीडित बन्दै आएका छन् ।


‘गाडीले छयाप्ने हिलो पसलभित्रै आइपुग्छ,’ कपनको भंगालमा तरकारी पसल गर्दै आएकी मीना लामाले भनिन्, ‘वर्षातमा मात्र यस्तो समस्या झेल्नुपथ्र्यो, अहिले वर्षात् नलाग्दै दु:ख पाइयो ।’ पानी पर्दा पसलअगाडिको सडक आहाल बन्छ । हिँड्ने ठाउँमा हिलो हुन्छ ।

‘हिलाले गर्दा ग्राहक नै घट्छन्,’ उनले भनिन्, ‘माटो थुपारेर लथालिंग भएकाले बाटै चिप्लो हुन्छ, चाँडै सडक बनाए त सास्ती बेहोर्नुपर्ने थिएन ।’ हिलो सुकेर उडेको धूलामा मास्कले मुख छोपेर व्यापार गर्नुपर्ने उनले बताइन् । कपनवासी हिलो र धूलो सडकबाट वर्षौंदेखि पीडित छन् । पटक/पटक तीव्रता दिन दबाब बढाए पनि निर्माण गति सुस्त छ ।


‘माटो हाल्नुअघि नै हयुमपाइप राखेको भए हिलो कम हुने थियो,’ कपनका एक स्थानीयले भने, ‘समयमै काम सकौं भन्ने चाहना निर्माण व्यवसायीको छैन ।’ कपनका अधिकांश सडक लथालिंग बनाइएको छ । कतै गिट्टी थुपारेर त कतै हयुमपाइप राख्न खाल्डो खनिएको छ ।

चावहिल(जोरपाटी खण्डमा खाल्डाखुल्डी धेरै भएकाले पानी पर्नासाथ जम्ने गरेको छ । सडक विभागले भने लथालिंग बनेका उपत्यकाभित्रका सडकको निर्माण चैत मसान्तसम्म सक्ने दाबी गर्दै आएको छ तर निर्माणाधीन सडक कालोपत्रेको काम अहिले रोकिएको छ ।


काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार निर्माण थालिएको ३ वर्ष पूरा हुँदा त्रिपुरेश्वर-कलंकी-नागढुंगा खण्डमा जम्मा ७ किमि मात्र कालोपत्रे भएको छ । यो खण्डको १२ किमि सडक निर्माण क्रममा छ । निर्माण व्यवसायीसँगको ठेक्का सम्झौताको समय सकिइसकेको छ । चार भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । ‘जबसम्म सडक पिच हुँदैन, तबसम्म धूलो र हिलोको समस्या रहिरहन्छ,’ आयोजनाका प्रवक्ता एवं इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भने, ‘पानीले गर्दा पिचको मात्र होइन, निर्माणका अन्य काम पनि रोकिएका छन्, जाडो सुरु भएयता पिच भएको छैन, पानी सुकेपछि मात्र सुरु हुन्छ ।’ उनले एक साताभित्रमा पिचको काम सुरु गर्ने दाबी गरे ।


पुस १० बाट पिच निर्माणको काम रोकिएको हो । पूर्वभौतिक सचिव तुलसी सिटौला मेलम्चीबाट पानी ल्याउने पाइप बिछयाउन सडक खन्न थालेसँगै उपत्यकामा धूलो र हिलोको समस्या थपिएको बताउँछन् । ‘पाइप बिछयाउन थालेको ४ वर्ष भयो,’ उनले भने, ‘अझै २ वर्ष लाग्ने भनिएको छ, भत्काइएकै सडकका कारण धूलो बढी उड्ने गरेको छ ।’


सडकका खाल्डाखुल्डी समयमै नपुर्दा पनि धूलो र हिलोको समस्या थपिने गरेको छ । उनले धूलोले गर्दा नै काठमाडौंमा वायु प्रदूषण नराम्रोसँग बढेको बताए । चावहिल(जोरपाटी सडक अहिलेसम्म करिब ५ सय मिटरभन्दा बढी पिच हुन सकेको छैन ।

यहाँका स्थानीयले पटक/पटक सडक निर्माण समयमै सक्न दबाब दिँदै आएका छन् । प्रवक्ता श्रेष्ठले ठेक्का सम्झौता सकिए पनि थपेर काम गराउने बताए । धूलो र हिलोले गर्दा बौद्ध स्तूप घुम्न आउने पर्यटकसमेत प्रभावित बनेका छन् । यो खण्डमा धूलाले गर्दा मास्क नलगाई बस्न सकिँदैन । नाली बनाउने, हयुमपाइप राख्ने र सडक खन्ने काम भने पानी परेपछि रोकिएका छन् ।

प्रकाशित : माघ २९, २०७५ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?