कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औषधिलाई माछा पसलजस्तो नबनाउन स्वास्थ्यमन्त्रीको चेतावनी

श्यामसुन्दर शशि

जनकपुर — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले औषधि पसलहरू माछा पसलजस्तै अस्तव्यस्त रहेको बताएका छन् । औषधि व्यवस्था विभागद्वारा मंगलबार यहाँ आयोजित एन्टिबायोटिकलगायतका औषधिको वैज्ञानिक प्रयोग विषयक एकदिवसीय कार्यशाला गोष्ठी सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘जीवनरक्षक औषधिको भण्डारणमा ध्यान दिनुहोस् । यसलाई माछा पसल नबनाउनुस् ।’

औषधिलाई माछा पसलजस्तो नबनाउन स्वास्थ्यमन्त्रीको चेतावनी

उनले राम्रा चिकित्सक, अस्पताल तथा उपकरण मात्र भएर सही उपचार हुन नसक्ने जनाउँदै गुणस्तरीय औषधि विना सही उपचार सम्भव हुने बताए ।

अधिकांश पसलमा औषधि अवैज्ञानिक तरिकाबाट गरिएको उल्लेख गर्दै उनले भने,‘औषधिको भण्डारण गर्दा हावा,पानी,घाम आदिलाई ख्याल गर्नुपर्दछ । अवैज्ञानिक रूपमा औषधि भण्डारण गर्दा गुणस्तरमा ह्रास आउँछ ।’

मन्त्री यादवले सीमावर्ती विहार र झारखण्डमा निर्माण हुने गुणस्तरहीन औषधिहरूको चोरी तस्करी रोक्नुपर्ने बताए । उनले भने,‘सरकारले मान्यता दिएको औषधि मात्र विक्री गर्नोस् । चिकित्सकको प्रिस्किप्शन विना औषधि विक्री नगर्नोस् ।’

प्रदेश २ मा अस्पताल,चिकित्सक तथा औषधिको अभाव नभए पनि यस प्रदेशको स्वास्थ्यस्थिती दुर्गम जिल्लाहरू भन्दा पनि खराब रहेको उनको कथन थियो । मन्त्री यादवले जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल,वीरगन्ज अस्पताललाई केन्द्रीय अस्पताल तथा राजविराज अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गरिने बताए ।

धनुषाका १८ स्थानीय तहका प्रतिनिधि तथा स्थानीय औषधि व्यावसायीहरु सहभागी रहेको उक्त कार्यक्रममा औषधि व्यवस्था विभागका डिजी नारायण ढकाल तथा प्रशासक सन्तोष केसीले औषधिको वैज्ञानिक प्रयोग बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : माघ २९, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?