‘प्रिन्सिपल उपस्थित गराऊ’

कान्तिपुर संवाददाता

काठमाडौँ — लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालयका शिक्षकमाथि यौन दुव्र्यवहारको आरोपबारे छानबिन गर्न गठित समितिले प्रिन्सिपललाई उपस्थित गराउन निर्देशन दिएको छ । त्यहाँका शिक्षकले आफ्नी छात्रालाई दुव्र्यवहार गरेको विषयमा ‘दि काठमान्डु पोस्ट’ दैनिकमा माघ १२ गते समाचार सार्वजनिक भएपछि छानबिन गर्न समिति गठन भएको थियो । 

ललितपुर महानगरपालिका–५ का वडाध्यक्ष विकास श्रेष्ठको संयोजकत्वमा गठित समितिले चरणबद्ध छानबिन जारी राखेको छ । समितिले सोमबार विद्यालयका गुठियार प्रमुखसहितको बैठक बोलाएर विदेशमा रहेका प्रिन्सिपल माधव सिटौलालाई उपस्थित गराउन निर्देशन दिएको हो ।

सिटौला लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् भने उनकी बहिनी गीता सिटौला भाइस प्रिन्सिपल छिन् ।समितिले तत्काल विद्यालयका प्रत्येक कक्षाकोठामा सीसी क्यामरा राख्न र विद्यार्थीलाई परामर्शका निम्ति काउन्सिलरको व्यवस्था गर्न सुझाव दिएको छ ।

‘विद्यालयका प्रमुख प्रिन्सिपल हुन् भने त्यो पद खाली छ,’ छानबिन समितिका सदस्य तथा अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विद्यालयको अस्तित्वमाथि संकट आएको अवस्थामा प्रिन्सिपल उपस्थित नहुनु गैरजिम्मेवारी हो । त्यसैले उपस्थित हुनुपर्छ र तत्काल कक्षाकोठामा सीसी क्यामरा र काउन्सिलको व्यवस्था गर्न सुझाव दिएका छौं ।’

उक्त विद्यालयका पूर्वछात्राले यौन दुव्र्यवहारको आरोप लगाएका शिक्षक बोधराज त्रिपाठीले विष सेवन गरेपछि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ । त्रिपाठीलाई आईसीयूमा राखेर उपचार भइरहेकाले छानबिन समितिले भेट गर्न नपाएको संयोजक श्रेष्ठले बताए । ‘हामी छानबिनकै क्रममा छौं,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘आरोपित शिक्षक, आरोप लगाउने विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन तथा प्रशासनलगायत सबै पक्षलाई भेटघाट गर्न अझै बाँकी छ ।’

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले उक्त विद्यालयलाई प्रकाशित समाचारबारे सात दिनभित्र विवरण उल्लेख गरी पठाउन पत्राचार गरेको छ । उक्त विद्यालय २०५२ देखि निजी गुठीअन्तर्गत सञ्चालन हुँदै आएको छ ।

प्रकाशित : माघ २९, २०७५ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश सरकारको कामबाट सन्तुष्ट : मुख्यमन्त्री पौडेल

प्रताप विष्ट

हेटौडा — प्रदेश—३ का मुख्यमन्त्री डोरमणि पौडेलले शून्यमा गठन भएको सरकारले कार्यालय र कर्मचारीको व्यवस्थापन गरी केही कानुनहरू निर्माण गरेर प्रदेश सरकार बल्ल कार्तिक–मंसिरदेखि  बामे सर्न थालेको बताएका छन् । प्रदेश सरकार गठन भएको एक वर्ष पुगेपनि काम गर्न थालेको जम्मा ४/५ महिनामात्र भएको उनले बताए।  


प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मङ्गलवार यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले एक वर्षकोबीचमा गरेका कामहरुले आफूलाई सन्तुष्टि दिएको बताए।मुख्यमन्त्री पौडेलले असन्तुष्टि व्यक्त गर्नुपर्ने र कसैलाई आलोचना गर्नुपर्ने नरहेकाे जनाए।

‘सङ्घीय सरकारको साढे २ सय वर्षको र स्थानीय तहको सय वर्ष भन्दाबढीको इतिहास छ तर प्रदेश सरकारको इतिहास एक वर्षको मात्रै छ’उनले भने भने,‘प्रदेश सरकारको निम्ति मात्र होइन,सबैको निम्ति प्रादेशिक सरकार नयाँ हो त्यसैले नयाँ अभ्यास गरिरहेका छौँ,‘प्रदेश सरकारले काम गर्नका निम्ति आफ्ना हात खुट्टाहरूलाई सबल बनाउने काम गरिरहेको छ भने हिँड्ने बाटाका काँडाहरू पनि पन्छाउने काम गरिरहेको छ।’

फरक ढङ्गले आयोजना गरिएको प्रदेश—३ को वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री पौडेले प्रदेश सरकारको गौरवको योजनाको रूपमा रहेको भीमफेदी—कुलेखानी सुरुङ मार्गको कार्य सुरु गर्न नपाएकोमा चिन्ता व्यक्त गरेका थिए।

केन्द्रीय सरकारले निजी क्षेत्रलाई सुरुङ मार्ग निर्माण गर्न म्याद थप गरेको तर उसले काम नगरेको र सम्झौता पनि भङ्ग नगरेकाले सुरुङ खन्ने कार्य अगाडी बढाउन समस्या भएको उनले जानकारी गराएका थिए।

राजनीतिक सहमतिको आधारमा प्रदेशको राजधानी र नामांकन छिट्टै टुंग्याउने मुख्यमन्त्री पौडेलले कार्यक्रममा बताएका थिए।

वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘प्रदेश सरकारको एक वर्ष’को स्मारिका सार्वजनिक गरेका थिए भने सभामुख सानुकुमार श्रेष्ठले भ्रष्टाचार निवारणसम्बन्धी प्रदेश रणनीति पुस्तिकाको विमोचन गरेका थिए।

प्रकाशित : माघ २९, २०७५ १८:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT