१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सांसद्को प्रश्न-‘मिटरमा नचलाउने ट्याक्सीलाई किन कारबाही हुन्न ?’

काठमाडौँ — राष्ट्रिय सभाका सांसदहरूले शून्य तथा विशेष समयमा बोल्दै सर्वसाधारण ट्याक्सी चालकबाट ठगिएकोदेखि सहज रूपमा सार्वजनिक यातायात चढ्न नपाएकोसम्मका जनसरोकारका विषय उठाएका छन् । 

सांसद्को प्रश्न-‘मिटरमा नचलाउने ट्याक्सीलाई किन कारबाही हुन्न ?’

मंगलबारको बैठकमा बोल्दै सांसद रामलखन चमारले ट्याक्सी चालकहरू मिटरमा हिँड्न नमानेको भन्दै त्यसको नियमनमा कडाइ गर्नुपर्ने उल्लेख गरे । ‘म आफैं राति कलंकीमा ओर्लिएपछि समस्यामा परे । ट्याक्सीको ठूलो लाइन छ । तर, कोही पनि मिटरमा जान तयार देखिएनन् । मान्दैमानेन् । अन्त्यमा मागेजति पैसा दिएर जानैपर्ने भयो,’ उनले भने, ‘आम मानिस मिटरमा जान नमान्ने ट्याक्सी चालकको व्यवहारबाट पीडित भइरहेका छन् । यसको नियमन कसले गर्ने हो ?’


सांसद उदया शर्मा पौडेलले राजधानीको जमल, भृकुटीमण्डप लगायतका स्थानमा सार्वजनिक यातायातका साधन रोकिँदा आममानिसले पाएको पीडाबारे ध्यानाकर्षण गराइन् । सांसद विमला शर्मा पौड्यालले सिंहदरबार छिर्न पैदल यात्रुका लागि छुट्टै बाटो भए पनि सवारीसाधन हिँड्ने बाटोबाटै निक्लिनुपर्दा भइरहेको समस्याबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने उल्लेख गरिन् ।


सांसद रामप्रीत पासवानले दलित आयोगको अध्यक्ष नियुक्ति नभएको विषय उठाए भने सांसद हरिचरण शिवाकोटीले क्रसर उद्योगबाट भइरहेको प्राकृतिक दोहनलाई नियमन गरिनुपर्ने बताए ।


सांसद विन्दादेवी आलेले पूर्वपञ्चहरू जस्तै शक्तिशाली नेताले आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा बजेट थुपार्ने चलनलाई रोक्नुपर्ने उल्लेख गरिन् । ‘प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा बजेट थुपारिएको छ । बजेट विनियोजनलाई नेतामुखी गरिने चलनमा सुधार नगरिए सुखी नेपाली र समृद्ध नेपालको नारा नारामै सीमित हुनेछ,’ उनले भनिन् ।


सांसद शेरबहादुर कुँवरले सांसदले बोलिरहने र मन्त्रीहरूले जवाफ नदिने परम्परा तोड्नुपर्ने उल्लेख गरे । संसदमा उठाइएको प्रश्नको जवाफ मन्त्रीले दिनुपर्ने वातावरण निर्माण गरिनुपर्ने उनको माग थियो । स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनमा भएको ढिलाइले सेवा प्रवाहमा भइरहेको कठिनाइतर्फ उनले ध्यानाकर्षण गराए ।


सांसद राधेश्याम अधिकारीले शिक्षा आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गरी सदनमा छलफलको माग गरे । सांसद चक्रप्रसाद स्नेहीले वाइडबडी विमान प्रकरणमा जोसुकै संलग्न भए पनि कानुनी कठघरामा उभ्याउनुपर्ने माग गरे । सांसद प्रमिला कुमारीले प्रहरी प्रशासनलाई केन्द्रमै राखेर केन्द्र सरकारले प्रदेशलाई विकास युनिटका रूपमा मात्रै राख्न चाहेकोप्रति आपत्ति जनाइन् । सांसद रामनारायण बिडारीले भेनेजुएला प्रकरणमा परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ति सही रहेको भन्दै सरकारको बचाउ गरे । उनले त्रिभुवन राजपथको नौबिसेदेखि मकवानपुरको भैंसेसम्मको सडक मर्मततर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद रमेशजंग रायमाझीले वीरगन्जमा नेताका नाममा रहेको पार्क र अस्पताल निर्माणलाई गति दिन माग राखे ।

प्रकाशित : माघ २९, २०७५ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?