१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

समायोजन अलपत्र छाडेर मन्त्री पण्डित घुमफिरमा व्यस्त

काठमाडौँ — निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन् । फागुन ३ सम्म संघ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरिसक्ने उद्घोष गरेका उनी मन्त्रालयको समायोजन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुलाई समेत सँगै लिएर गएका छन् । 

समायोजन अलपत्र छाडेर मन्त्री पण्डित घुमफिरमा व्यस्त

मंगलबारसम्म ५६ जना सचिव, ६६२ सहसचिव र ८४८ जना उपसचिवको मात्र समायोजन भएको छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फाराम भरेका छन् । मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, ७ वटा प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । फागुन ३ भित्र समायोजन सक्ने सरकारको योजना थियो ।


सबै समूहका करिब ६ हजार अधिकृतको समायोजन प्रक्रिया अघि बढे पनि मन्त्री र महाशाखा प्रमुख नहुँदा उनीहरूको पदस्थापन र सरुवाको कामसमेत अवरुद्ध भएको मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए । ‘समायोजन जुन हिसाबले अघि बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले कान्तिपुरसित भने, ‘फागुन २ मा अहिलेसम्मको प्रगतिबारे मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराउनेछ ।’


मन्त्री पण्डित पत्नी विमला महत, सहसचिव पनेरु, स्वकीय सचिव मनोज राई, आफ्नो निर्वाचन क्षेत्रका नेता अजम्बर राई र छोरी अर्चना पण्डितलाई लिएर झन्डै एक सातादेखि दुबई र आबुधाबीमा विभिन्न कार्यक्रममा व्यस्त छन् । मन्त्री पण्डित बुधबार राति फर्कनेछन् ।


यूएई सरकारको निमन्त्रणामा ‘विश्व सरकार शिखर सम्मेलन’ मा भाग लिन भन्दै मन्त्री पण्डित दुबई गए पनि पनेरुलगायत अरू कसैको त्यहाँ कुनै जिम्मेवारी छैन । उनीहरू घुम्ने उद्देश्यले मात्र गएका हुन् ।


प्रवक्ता अधिकारीले महाशाखा प्रमुख पनेरु मन्त्रीलाई सहयोग गर्न सँगै गएको दाबी गरे । मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्री पण्डित, सहसचिव पनेरु र स्वकीय सचिव राईको खर्च सरकारले बेहोर्नेछ । अरूको खर्चबारे मन्त्रालयलाई कुनै जानकारी छैन । उक्त सम्मेलन आइतबारदेखि मंगलबारसम्म (१०–१२ फेब्रुअरी) भए पनि पण्डित शुक्रबारै ५ जनालाई लिएर गएका थिए । सम्मेलनबाहेक उनले राजनीतिक दलका भ्रातृ संगठन, संघसंस्था र नेपाली समुदाय/श्रमिकलाई आबुधाबीस्थित नेपाली दूतावासमा सम्बोधन गरेका थिए ।


यो पनि पढौं : कर्मचारी समायोजन फागुन ३ भित्र

केही दिनअघि मन्त्री पण्डितले मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर जसरी पनि फागुन ३ भित्र कर्मचारी समायोजन सक्न निर्देशन दिएका थिए । सोही दिन सरकार गठनको एक वर्ष पूरा हुने र उपलब्धिस्वरूप समायोजन पूरा गर्ने भन्दै त्यसैमा केन्द्रित कर्मचारीलाई मन्त्रीको निर्देशन थियो । मन्त्रालयका एक अधिकारीले मन्त्री र महाशाखाकै प्रमुख नहुँदा समायोजन प्रक्रिया अवरुद्ध भएको बताए ।


मन्त्री बनेको केही महिना विदेश भ्रमण आफ्नो प्राथमिकता नभएको दाबी गरे पनि पछिल्ला दिन पण्डित निरन्तरजसो विदेश शयरमा छन् । केही महिनाअघि उनले चीन र भारतको भ्रमण गरेका थिए । मन्त्रालय उच्च स्रोतका अनुसार त्यस्ता भ्रमणमा उनले आफूसँग गएका पत्नीलगायतका लागि पनि मन्त्रालयबाट भ्रमण भत्ता र खर्च लिने गरेका छन् । स्वदेश भ्रमणमा भत्ता र पेट्रोल खर्चबापत प्रधानमन्त्री कार्यालयबाट बढी रकम बुझ्नेमा पण्डित एक नम्बरमा पर्छन् ।


मन्त्रालयमा पनि नतिजामुखी काममा प्राथमिकता दिएको बताउँदै उनले मन्त्री बनेका केही महिना स्थानीय तहका प्रमुख–उपप्रमुख (मेयर/उपमेयर) लाई पनि विदेश भ्रमणलाई प्राथमिकता नदिन निर्देशन दिएका थिए । विदेश जान खोज्ने केही नगर प्रमुख (मेयर) हरूको भ्रमणसमेत रोकिदिएका थिए ।

प्रकाशित : माघ २९, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?