अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा

कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ ।  


एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा भएको अनियमितताबारे अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छानबिन चलिरहेका बेला सम्बद्ध एक समूहले आफूमाथिको छानबिन रोक्न आयुक्त पाठकमार्फत अख्तियारमा सम्पर्क गर्‍यो।

त्यो समूहका व्यक्तिहरूले राजधानीको एक निजी कलेजका सञ्चालक राजबहादुर बञ्जारा (नाम परिवर्तन) मार्फत आयुक्त पाठकसग सम्पर्क गरे। पाठकको सुझावअनुसार बञ्जारा समूहले राजनारायणका भाइ शुभनारायण पाठकलाई पहिलो पटक भेटे र छानबिन रोक्न १५ लाख रुपैयाँ बुझाए।

शुभनारायण हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन छन्। भाइमार्फत रकम बुझेका आयुक्त पाठकले इन्जिनियरिङ कलेजका सञ्चालकविरुद्ध अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने वचन दिए। बञ्जाराका अनुसार त्यसपछि पनि पाठकलाई दुई किस्तामा रकम बुझाइयो। एक पटकको रकम काठमाडौंको कमलपोखरी छेउमा गाडीमै दिइएको थियो। सम्बन्धित पक्षले मिठाईको प्याकेटमा रकम राखेर आयुक्त पाठककै हातमा बुझाएको थियो।

‘घूस बुझेर पनि पाठकले समयमा काम गरेनन्। आजभोलि आजभोलि भन्दै झुलाइरहे। पैसा बुझाएको महिनांै भइसक्दा पनि अख्तियारले इन्जिनियरिङ कलेज छानबिन प्रकरणको फाइल तामेलीमा राखेन,’ स्रोतले भन्यो, ‘बञ्जारा समूहले ताकेता बढाउँदै लग्यो। आयुक्त पाठकले उल्टै थप रकम मागे। नेपाल इन्जिनियरिङ कलेजको एउटा सञ्चालक समूहले पैसा दिएको महिनौं भइसक्दा पनि काम नभएको भनेर बञ्जारा समूहसँग रकम फिर्ता गर्न दबाब दिन थाल्यो। बञ्जारा समूह अप्ठ्यारोमा पर्‍यो।’

बञ्जारा भन्छन्, ‘काम नभएपछि रकम फिर्ता माग्नुभन्दा अर्को बाटो हामीसँग थिएन। हामीले पैसा फिर्ता गर्नुस् भन्यांै। त्यसपछि त पाठकले उल्टै हामीलाई गाली गर्न थाले। पैसा फिर्ता गर्नैपर्ने दबाब परेपछि मैले आफ्नो घर बैंकमा राखेर त्यो पैसा फिर्ता गरेँ।’ आफ्नो पैसा फसेपछि बञ्जारा र उनको समूहमा छटपटी बढ्यो। उनीहरूले असनमा कपडाको व्यापार गर्ने आफ्ना पुराना साथी लोचन अमात्य (नाम परिवर्तन) लाई गुहारे। अमात्यले आयुक्त पाठकलाई भेटेर रकम फिर्ता गर्न ताकेता थाले।

१४ माघ २०७४ मा अमात्य पहिलो पटक अख्तियारको नक्सालस्थित कार्यालयमै गए। पाठकको कार्यकक्षमै पुगेर रकम फिर्ता मागे। त्यसपछि उनले पटक–पटक पाठकलाई घरमा र उनको कार्यकक्षमा भेटे। सजिलै रकम फिर्ता नहुने ठानेर ती भेटघाटमा भएको कुराकानीको गोप्य रूपमा भिडियोसमेत खिचे। पटक–पटक खिचेको ६ घण्टाभन्दा लामो भिडियोको अन्तिम दृश्यमा पाठकले अमात्यसँग हात जोडेर माफी मागेका छन्।

भिडियोमा पाठकले आफूले एक पटक ४० र अर्को पटक ३८ लाख, अनि भाइ शुभनारायणले १५ लाख रुपैयाँ लिएको स्विकारेका छन्। यसबारे प्रतिक्रिया लिन खोज्दा शुभनारायणले कान्तिपुरसित कुराकानी गर्न मानेनन्। सबै विषयवस्तु थाहा पाएपछि उनले भने, ‘म अहिले एउटा कार्यक्रममा छु, सुनिएन। पछि कुरा गरौंला।’

लेनदेन र भनाभन
बञ्जारा, अमात्य र आयुक्त पाठकबीच पछिल्लो एक वर्षसम्म पैसा लिने, काम नगर्ने, फिर्ता गर्छु भन्ने नगर्ने, भिडियो खिच्ने, धम्क्याउने र एकले अर्को विरुद्ध शक्ति प्रयोग गर्ने काम भएको देखिन्छ।

अमात्यका भनाइमा उनले आफूले रेकर्ड गरेको भिडियो आयुक्त पाठकलाई देखाएर रकम फिर्ता नगरे पत्रकार सम्मेलन गरेर त्यो सार्वजनिक गरिदिने धम्की दिएका थिए। तर यो धम्कीको पनि पाठकले खासै वास्ता गरेनन्। त्यसपछि एक दिन अमात्य ल्यापटप बोकेर आयुक्त पाठकको घरमै गए। अमात्यले ल्यापटप खोलेर पाठकलाई भिडियो देखाए। जहाँ पाठकले पैसा लिएको स्वीकार गरेको दृश्य रेकर्ड थियो।

अमात्यले ‘तपाईं सुरक्षित हुने हो भने त्यो पैसा फिर्ता गरिदिनुपर्‍यो। कहिले फिर्ता गर्ने हो भन्नुपर्‍यो, त्यति गर्ने हो भने यो ल्यापटप हजुर नै राख्नुहोस्। फुटाइदिए पनि हुन्छ, मलाई केही चाहिँदैन,’ भने। त्यहाँ सामान्य भनाभन भयो। पाठकले रकम फिर्ता गर्ने कुरै गरेनन्। उल्टो ल्यापटपतिर हात बढाउन खोजेपछि अमात्यले धम्की दिए, ‘यो भिडियो अन्यत्रसमेत सुरक्षित रहेकाले ल्यापटप फुटाए भिडियो सार्वजनिक गरिदिन्छु। पाठक पछि हटे। अनि ‘एक महिनामा रकम फिर्ता गर्ने’ वचन दिए।

यसपछि पनि आयुक्त पाठक रकम फिर्ता गर्नुको साटो विभिन्न शक्तिकेन्द्र प्रयोग गरेर बञ्जारा र अमात्यलाई धम्क्याउन थाले। उनको उद्देश्य जसरी पनि त्यो भिडियो नष्ट गर्नु थियो। त्यसका लागि उनले केही स्थानीय गुन्डा, राजनीतिकर्मी र केही उच्च पदस्थ प्रहरीलाई समेत प्रयोग गरे।

बञ्जारा र अमात्य समूहका भनाइमा पाठकले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहलाई परिचालन गरेर भिडियो रेकर्ड गर्ने समूहका सदस्यलाई धरपकड गर्न दबाब दिए। सिंहले बञ्जारा र उनका सहयोगी अमात्यलाई पक्राउ गरे। आफूहरूमाथि दबाब बढेपछि बञ्जारा र अमात्य समूहले उच्च पदस्थ अधिकारीसँग भिडियो खिचेको जानकारी गराए।

बञ्जारा र अमात्य समूहका अनुसार गृहसचिव प्रेम राईले समेत यो मामिला थाहा पाएपछि प्रहरीले उनीहरूमाथि अलि नरम व्यवहार गर्न थालेको थियो। ‘आयुक्त पाठकका नातेदारलाई फोन गरेर धम्क्याएको भनेर उनीहरूमाथि प्रहरीले केरकार गरेको थियो,’ बञ्जारा भन्छन्, ‘हामीविरुद्धको उजुरी देखाउनुस् भन्दा नदेखाउने, हामीलाई अपराध अनुसन्धान महाशाखा टेकुमा बोलाउँदै खाली नेपाली कागजमा बयान गराउँदै छाडदै, फेरि बोलाउने काम गरे।’

बाटोमा हिँडिरहेका बेला ११ जना सादा पोसाकका व्यक्तिले आफूलाई जबर्जस्ती उठाएर लगेको बञ्जाराले बताए। ‘मैले निकै आग्रह गरेपछि फोन गर्न पाएँ र अमात्यलाई आफ्नो हाल बताए,’ बञ्जाराले दाबी गरे, ‘अमात्यले सोझै आयुक्त पाठकलाई फोन गरेर साथीलाई नछाडे सबै भिडियो लिक गरिदिन्छु भनेपछि तत्कालै छाडिदिए। त्यसपछि अपराध अनुसन्धान महाशाखाका एसएसपी सिंह र उनको चार नम्बर पिलर केही पछि हटे।’

यसपछि पाठकले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आफूमाथि सुरक्षा खतरा भएको भन्दै सहयोग मागे। महानिरीक्षक खनालले अनौपचारिक रूपमा गुनासो आए पनि औपचारिक रूपमा सुरक्षा चुनौतीबारे कुनै गुनासो नआएको प्रतिक्रिया दिए। उनले भने, ‘औपचारिक रूपमा कुनै सूचना आएको भए हामीले त्यसमा कारबाही अगाडि बढाउने थियौं।’

महानिरीक्षक सचिवालय स्रोतका अनुसार आयुक्त पाठकले व्यक्तिगत रूपमा आफूमाथि ब्ल्याकमेल भइरहेको भन्दै सहयोग मागेका थिए। ‘उहाँले अनौपचारिक रूपमा सहयोग माग्नुभयो, मैले औपचारिक रूपमा पत्राचार भए प्रहरी संगठन सक्दो सहयोग गर्न तयार हुन्छ भनेर जवाफ दिएँ,’ महानिरीक्षक खनाललाई उद्धृत गर्दै स्रोतले कान्तिपुरसित भन्यो, ‘त्यसपछि उहाँले कुनै सम्पर्क गर्नुभएको छैन।’

आफ्ना गल्ती लुकाउन पाठकले सक्दो प्रयास गरेका थिए। शिक्षा तथा खेलकुद सचिव मोहनकृष्ण सापकोटाले एक व्यक्तिमार्फत अमात्यलाई प्रभाव पार्न खोजेका थिए। ‘अरू समय लिएर आयुक्त भेट्न खोज्छन्, तपाईंलाई आफैंले फोन गरेर बोलाउँदा पनि भेट्न नजाने?’ सापकोटाको प्रस्ताव लिएर आएका एक व्यक्तिको भनाइ उद्धृत गर्दै अमात्यले भने, ‘पदमा रहेका व्यक्ति हुन्, सहयोग गरे पछि पनि काम लाग्छन्, उनको काम गरिदिँदा राम्रो हुन्छ भनेका थिए।’ सापकोटाले यसबारे आफूलाई केही थाहा नभएको कान्तिपुरलाई बताए। ‘लोचन अमात्य नाम गरेका मानिसहरू जति पनि हुन सक्छन्। तर त्यो लोचनसँग मेरो भेटघाट भएको छैन,’ उनले भने, ‘बरु भिडियोका बारेमा सुनेको हुँ, अरू थाहा छैन।’

इन्जिनियरिङ कलेज विवाद
गैरनाफामूलक संस्थाका रूपमा स्थापित भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गर्नेबारे त्यसका सञ्चालकहरू दुई समूहमा बाँडिए। एउटा समूहको नेतृत्व लम्बोदर न्यौपानेले गरिरहेका थिए भने अर्कोमा दीपक भट्टराईलगायत थिए। न्यौपाने समूहले सामाजिक संस्थाका रूपमा दर्ता भएको कलेजलाई निजी कम्पनीमा रूपान्तरण गर्ने र नाफामुखी बनाउने प्रस्ताव गरेको थियो। भट्टराईलगायतको समूह कलेजलाई सामाजिक संस्थाकै रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा थियो।

संस्थाको कोषमा रहेको करिब १० करोड रुपैयाँ सञ्चालकहरूका नाममा बाँड्ने निर्णय भएपछि विवाद उत्कर्षमा पुग्यो। कलेज स्रोतबाट प्राप्त कागजातमा कलेजको खातामा रहेको रकममध्ये ७ जना सञ्चालकलाई एक करोड ५० लाख रुपैयाँका दरले बाँड्ने निर्णय भएको थियो। ‘कलेजका संस्थापक सञ्चालकहरू र निजका परिवारले २५ वर्षदेखि गरेको योगदानलाई कदर गर्दै,’ निर्णयमा भनिएको छ, ‘सबै सञ्चालकलाई डेढ करोड रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भयो।’ केही सञ्चालकहरूले रकम लगिसकेका थिए।

विवाद बढेपछि कलेजमा न्यौपाने पक्षमाथि अनियमितताको आरोप लाग्यो। भट्टराई पक्षले जिल्ला प्रशासन कार्यालय, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको थियो। आयोगले प्रारम्भिक अनुसन्धान अघि बढायो। छानबिन तामेलीमा राख्ने प्रलोभन देखाएर एउटा समूहसँग आयुक्त पाठकले घूस मागेको स्रोतको दाबी छ। ‘एक करोड ६५ लाख रुपैयाँमा डिल भएको थियो,’ स्रोतको दाबी छ, ‘किस्ताबन्दीमा दिँदै जाने र फाइल तामेलीमा गएपछि सबै रकम उपलब्ध गराउने सहमति थियो। फाइल तामेलीमा नगएपछि बुझाएको रकम फिर्ता नदिँदा यो घटना बाहिर आएको हो।’

घूस कुन पक्षले दिएको हो भन्नेबारे स्रोतले उल्लेख गर्न चाहेन। एउटा समूहको नेतृत्व गरिरहेका लम्बोदर न्यौपानेले आफ्नो समूहका तर्फबाट कुनै गडबड नभएको दाबी गरे। ‘अरूका बारेमा मैले जिम्मेवारी लिन सक्दिनँ,’ उनले भने, ‘हाम्रोतर्फबाट कुनै गलत काम भएको छैन।’ अर्को समूहका दीपक भट्टराईले आफूहरूले कुनै त्यस्तो काम नगरेको प्रतिक्रिया दिए। ‘हामी त सार्वजनिक सम्पत्तिका रूपमा रहेको कलेज जोगाउनुपर्‍यो भनेर अख्तियारलगायत निकाय गुहार्न गएका हौं,’ उनले भने, ‘घूस खुवाउनेलगायत क्रियाकलाप गर्ने प्रश्नै भएन।’

भिडियोमा के छ?
घूस प्रकरणबारेमा सबै सूचनासहित भिडियोसमेत उपलब्ध गराएको स्रोतले त्यसमा भएका संवाद हुबहु सार्वजनिक गर्न नपाइने सर्त राख्नुका साथै भिडियोसमेत सार्वजनिक गर्न नहुने अडान राख्यो। त्यही सूचना पछ्याउने क्रममा अन्य विभिन्न स्रोतहरूबाट समेत भिडियोबारे पुष्टि भएपछि स्रोतहरूले सर्त राखेका बाहेकका विवरण सार्वजनिक गरिएको हो।

एउटा उजुरीका विषयमा ‘डिल’ गर्ने बहानाका साथ अमात्य पहिलो पटक २०७४ माघ १४ गते अख्तियार कार्यालयमै गए। नाम इन्ट्री गर्ने लेजरमा आफ्नो यथार्थ नाम लेखेर हस्ताक्षर गरे अनि सोझै आयुक्त पाठकको कार्यकक्षमै पुगे।
कुराकानीका क्रममा पाठकले सोध्छन्, ‘तपाईंलाई के सहयोग गरौं?’ प्रतिउत्तरमा अमात्य भन्छन्, ‘मलाई सहयोग चाहिन्नँ। बरु तपाईंलाई नै सहयोग गर्न आएको छु। तपाईंले मेरो साथीको पैसा लिनुभएको छ, फिर्ता गरिदिनुहोस्।’

बारम्बारको कुराकानीमा आयुक्त पाठकले आफूले सुरुमा ४० लाख र त्यसपछि ३८ लाख बुझाएको बताउँदै हो कि होइन भनेर किटेका छन्। पाठक त्यसलाई स्विकार्छन्। अनि फेरि पाठकका भाइ शुभनारायणलाई बाँकी १५ लाख रुपैयाँ बुझाइएको विषयमा कुरा गर्छन्। पाठक त्यसलाई पनि स्विकार्दै ‘मिलाइदिने’ बताउँछन्।

कुराकानी र गफगाफका क्रममा पाठकले बुझाएको पैसामा धेरै नअल्मलिन आग्रह गर्दै आफू प्रमुख आयुक्त भएपछि सबै काम गरिदिने र अमात्य लगायतको समूहलाई समेत थप काम गर्ने अवसर दिने बताउँछन्। पाठकले संवादका क्रममा भनेका छन्, ‘त्यतिबेला म तपाईंहरूलाई काम गर्ने अवसर दिन्छु, सक्नुभयो भने ५० करोड पनि कमाउनुहोला।’ भिडियो रेकर्डमा रहेको कुराकानीका क्रममा पाठकले विभिन्न नेताहरूबारे टिकाटिप्पणी गरेका छन्। ठटयौली पारामा प्रस्तुत हुँदै यौनजन्य चुटकिला भनेका छन् भने कतिपय संवादमा अश्लील शब्दसमेत बोलेका छन्।

अर्को भिडियोमा आफ्नो भिडियो खिचिएको थाहा पाएपछि आयुक्त पाठकले रकम फिर्ता गर्ने प्रतिबद्धतासहित एक महिनाको समय मागेका छन्। एउटा संवादमा उनले भनेका छन्, ‘एक महिनाभित्र म घर बेचेर भए पनि रकम फिर्ता गरिदिन्छु।’ पाठकले भिडियो नष्ट गर्न पटक–पटक विभिन्न व्यक्ति प्रयोग गरेका विषयमा समेत भिडियो संवाद छ। उनले आफूले प्रयोग गरेका ती व्यक्तिका बारेमा पनि टिकाटिप्पणी गरेका छन्।

घूस प्रकरणमा आफ्नो लामो भिडियो संवाद रेकर्ड भएको थाहा पाएपछि आयुक्त पाठकले अख्तियारका केही सीमित पदाधिकारीसँग समेत यसबारेमा छलफल गरेका थिए। तर उनले यथार्थ विवरण तोडमोड गरेको स्रोतले बतायो। उनले आफूलाई विप्लब माओवादी समूहले धम्क्याएको भन्दै सुरक्षा चुनौती रहेको बताएका थिए। जवाफमा प्रमुख आयुक्त नवीन घिमिरेले ‘त्यसो भए थप सुरक्षाकर्मी व्यवस्था गर्न’ सुझाव दिँदै आफूले पनि सहयोग गर्ने आश्वासन दिएको स्रोतले बतायो। रकम नपाएपछि अमात्यले पाठकलाई केही म्यासेज गरेको र त्यसलाई उनले अख्तियारमा देखाएको स्रोतको दाबी छ।

को हुन् पाठक?
अख्तियारका आयुक्त पाठक यसअघि पनि काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा प्रकरण, मेडिकल कलेजमाथि हस्तक्षेप जस्ता विवादमा मुछिएका थिए। अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित पाठकको टोलीले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको थियो।

आयुक्त पाठकले आईओएमका प्राध्यापकहरू विमलकुमार सिन्हा र शरद वन्तलाई घरमै बोलाएर छोरी प्रिया पाठकलाई पोस्ट ग्य्राजुएसन (पीजी) मा जसरी पनि भर्ना गर्न दबाब दिएको खुलासा भएको थियो। आयुक्त पाठकको दबाब नमानेपछि आईओएमका ७ प्राध्यापकमाथि कारबाहीको पत्र काटिएको थियो। ५२ प्रतिशत मात्रै अंक ल्याएका कारण भर्ना नपाएकी पाठककी छोरी संलग्न प्रवेश परीक्षामा उनलाई उत्तीर्ण गराउने नियतले अख्तियारले हस्तक्षेप गरेको थियो।

पाठक जोडिएको अर्को प्रसंग पनि छ। अख्तियारले सिट निर्धारणमा अनियमितता गरेको आरोपमा ७ जेठ २०७३ मा गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालसहित १२ विरुद्ध मुद्दा दायर गरेको थियो। खुमाबाहेक त्यसक्रममा ६ प्राध्यापक तथा डाक्टर र ५ कलेज सञ्चालकविरुद्ध मुद्दा दायर भएको थियो। सोही कलेजको निरीक्षण प्रतिवेदनको मूल्यांकनका क्रममा ‘अनुचित कार्य गरेको’ भनेर अख्तियारले अनुगमन समितिमा रहेका अध्यापकहरूविरुद्ध कारबाही थाल्यो। तर नेपालको संविधान २०७२ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘अनुचित कार्य’माथिको अनुसन्धान गर्ने क्षेत्राधिकार कटौती गरेको छ।

कारबाहीको सूचीमा चिकित्सकहरू विमल सिन्हा, जगदीश अग्रवाल, शरद वन्त, मधु देवकोटा, कृष्ण केसी, दिनेश विनोद पोख्रेल र राजदेवी अधिकारी थिए। पछि सर्वोच्च अदालतको आदेशले कारबाही प्रक्रिया ‘गैरकानुनी’ ठहर भयो। नयाँ संविधान जारी भएसँगै कटौती भएको ‘अनुचित कार्य’ माथिको कारबाही भन्दै अख्तियारले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का सात जना अधिकारीहरूमाथि कारबाही चलाउन त्रिभुवन विश्वविद्यालयलाई पत्रसमेत काटेको थियो।

२०३९ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवा प्रवेश गरेका महोत्तरीका पाठकले करिब १० वर्ष सोही पदमा बिताए। कानुनमा स्नातक पाठक पछि सरकारी वकिल समूहको उप, सहन्यायाधिवक्ता हुँदै ६ कात्तिक २०६६ देखि विशिष्ट श्रेणी (सचिवस्तर) को नायब महान्यायाधिवक्ता बने। उनले ५ वर्षे सेवा अवधि पूरा गरेर ६ कात्तिक २०७१ मा पदबाट अवकाश पाए।

पाँच महिनापछि नै १९ चैत २०७१ मा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्ति पाए। आयुक्त भएयता उनी तत्कालीन प्रमुख लोकमानसिंह कार्कीसँग नजिक रहेर विवादास्पद मुद्दाहरूमा जोडिए। कार्कीले आफ्नो कार्यकालमा अत्यन्त संवेदनशील मानिएको ‘गैरकानुनी सम्पत्ति आर्जन’ को छानबिन हेर्ने जिम्मेवारी आफू र पाठकको भागमा राखेका थिए।

१ वैशाख २०१४ मा जन्मिएका पाठक २०३९ सालपछि ५ महिनाबाहेक लगातार सरकारी पदमा छन्। हाल अख्तियामा प्रमुख आयुक्त घिमिरे र आयुक्त गणेशराज जोशीपछि तेस्रो वरीयतामा रहेका पाठकको ६ वर्षे कार्यकाल १९ चैत २०७७ मा पूरा हुनेछ। स्रोतका अनुसार घूसको मोलमोलाइका क्रममा पाठकले घिमिरेपछि आफू अख्तियार प्रमुख हुने भन्दै ‘त्यसपछि सबै कुरा पूरा गरिदिने’ आश्वासन दिएका थिए।

पाठक ४ वर्षअघि २०७१ साल चैत २५ गते सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी) बाट पनि विभूषित भएका थिए। गत माघ २८ गते अख्तियारको वार्षिकोत्सवमा आयोजित कार्यक्रममा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मतव्यमा बोलेको एक वाक्य आयुक्त पाठकको सन्दर्भमा मेल खाने प्रकृतिको थियो। उक्त कार्यक्रममा राष्ट्रपतिले भनेकी थिइन्, ‘भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचारको जिम्मेवारी लिएका व्यक्तिहरूबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय हो।’

पाठकसित बुधबार दिउँसो अख्तियार कार्यालयमै बलराम बानियाँ र कृष्ण ज्ञवालीले गरेको संवाद–

‘अपराधीहरूले मलाई धम्क्याइरहेका छन्’


भिडियोबारे तपाईंको भनाइ के हो?
अख्तियारको आयुक्तका बारेमा मान्छेले बुझेनन्। यहाँ बहुत बदनामी हुँदो रहेछ। मलाई अहिले जिन्दगीमा गलत काम गरेँ भन्ने लागेको छ। अख्तियार मजस्तो कानुनी पृष्ठभूमि भएको व्यक्तिका लागि होइन रहेछ। हामीले कानुन पढदा १० जना निर्दोष नपरून्, बरु एकजना अपराधी छुटोस् भनेर बुझ्थ्यौं। तर यहाँ ठीक उल्टो हुँदोरहेछ।

यदाकदा मिडियामा फलानो आयुक्तले यसो गर्‍यो, उसो गरी घूस खायो भनेर आउने गरेका छन्। त्यो गलत हो। किनकि ऐनमा हेर्ने हो भने आयोगको आयुक्तले एउटा सचिवले सरह पनि अधिकार पाएको हुँदैन। एउटा आयुक्तले केही गर्न सक्दैन। प्रमुख आयुक्तले दुई आयुक्त रहने गरी जिम्मेवारी बाँडफाँट गरेको हुन्छ। म र अर्को आयुक्तले गरेको काममा एउटा आयुक्तले घूस खायो भनेर कसरी भन्न सक्नुहुन्छ? उजुरीको अनुसन्धान नै दुईजना आयुक्तबाट हुन्छ। कुनै आयुक्तलाई बदनाम गराउने उद्देश्यले अमुक पैसा खायो भन्नु गलत हुन्छ। एउटा आयुक्तलाई केही थाहा नै हुँदैन र उसले केही गर्नै सक्दैन।

अख्तियारमा सन्तुष्ट हुनुहुन्न र?
मेरो अवधि कहिले सकियोस् र यहाँबाट जान पाउँ भन्ने लागेको छ। एक डेढ महिनामा ४ वर्ष पूरा हुन्छ, अनि म बाँकी अवधि छाडेर जाने मुडमा छु। मलाई कस्तो गाह्रो छ भने सबैभन्दा बढी मुद्दा तराईंकै छ। अनि तराईका मानिसहरू अरूलाई नचिन्ने भएकाले मैकहाँ आउँछन्। म त कसैलाई भेटदिन है। त्यसमाथि एउटा आयुक्तले केही गर्न सक्दैन।

म यहाँ निकै अप्ठेरोमा छु। बारम्बार लाग्छ, म गलत ठाउँमा आइपुगेछु। त्यतिबेलाका केही न्यायाधीश र प्रधानन्यायाधीशहरूले समेत मलाई बहुत गाली गरे। यता नआएको भए म सर्वोच्च अदालतको न्यायाधीश त हुन्थे नै। म न्यायाधीशको लाइनमा भएको मानिस बेकारमा यता आएँ। यता आउनु नै मेरो दुर्भाग्य भयो। मलाई मुख्य न्यायाधीश दिने भनेर नाम नै पठाएको थियो। बेकारमा गलत ठाउँमा आए।

तपाईंले आफूले लिएको घूसका बारेमा गरेको कुराकानी के हो?
मलाई यो कुरा केही थाहा छैन। मलाई विश्वास गर्नुस्, केही नै थाहा छैन।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन घूस लिएको आरोप छ त?
ए नेपाल इन्जिनियरिङ कलेजको विवाद? तर शिक्षा त म हेर्दिनँ नि। इन्जिनियरिङ कलेज भनेपछि शिक्षा भयो, म त्यो हेर्दिनँ। त्यो अरूले हेर्नुहुन्छ (उनले अरू आयुक्तको नाम लिए)। हामीले आफ्नो–आफ्नो जिम्मेवारी हेर्ने हो। पूर्ण बैठकमा मात्रै सबै आयुक्तले त्यो हेरिन्छ।

तपाईंले राजबहादुर बञ्जारा (परिवर्तित नाम) सँग रकम लिनुभएको रहेछ। होइन?
त्यो मानिसलाई म राम्ररी चिन्दछु। उसका नातेदार विभिन्न निकायमा छन्। ऊ निकै अपराधी मान्छे हो। उसले अलि पहिले सार्वजनिक पदमा हुँदा घूस लिएको थियो। अख्तियारमा पनि उसमाथि छानबिन भएको थियो। उसलाई पदबाट हटाइयो। अख्तियारले २०७२ साल मंसिर ३० मा उसको उजुरी तामेलीमा राख्यो। उसले आफूलाई पदमा पुनर्बहालीका लागि मलाई गुहार्न थाल्यो। मैले मेरो अधिकार होइन, सक्दिनँ भने। त्यसपछि तँलाई नै पदबाट हटाउँछु भनेर समूह बनाएर मविरुद्ध लागेको हो।

उसको पछाडि आपराधिक समूहका मानिसहरू लागेका छन्। काठमाडौंको एक ठाउँमा उनीहरूको गिरोह नै बसेको हुन्छ। यो कुरा आएपछि महन्त ठाकुरले पनि तिनीहरूलाई हतोत्साहित गर्नुभएको रहेछ। उसले बारम्बार यसलाई सिध्याउँछु भनेर लागेको हो। यस्ता अपराधीका कारण मेरो जागिर जान्छ भने जाओस्। धिक्कार छ अख्तियार बस्नुमा भनेर भनिदिएको हुँ। मेरो इमानदार छविका बारेमा सबै परिचित छन्। बदनाम गर्न त जसको भिडियो बनाउन पनि सकिन्छ। उसलाई महन्त ठाकुरले त बेसरी गाली गरेको हो। उसको मुद्दाको विवरण चाहिन्छ भने म दिन्छु। (तर उनले दिएनन्)

अनि लोचन अमात्यले तपाईंलाई अख्तियारमा भेटेको होइन?
उसले मलाई भेटेको छैन। अफिस र घर कहीं पनि भेटेको छैन। मैले त मेरो घरमा कसैलाई पनि आउन दिने गरेको छैन। अफिसमा फरक नाम गरेर आएको हुन सक्छ। जस्तै तपार्इं आउनुभयो, फरक नाम लेखेर आएको भए त मलाई के थाहा हुन्छ र? त्यही नामले अर्को मानिस आए मेरो के दोष? इन्जिनियरिङ कलेजको टोलीसँग मलाई मतलब नै छैन। तर बञ्जाराले आपराधिक समूह बनाएर मेरोविरुद्ध लागेको छ। कलेजको उजुरी त विस्तृत अनुसन्धानमा गइरहेको सुन्दैछु।

अख्तियारमै खिचिएको भिडियो पछि तपाईंकै घर गएर देखाएको कुरा के हो?
त्यो एकदम गलत हो। मेरो भाइको पैसा दिएन भनेर धम्क्यायो भनेर धीरजप्रताप (महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी धीरजप्रताप सिंह) ले पनि सुनेको थियो रे। धीरजले प्रमाण देऊ भनेछन्। उसले मेरो भाइलाई पटकपटक गाली गर्दो रहेछ। उसले म्यासेज पनि पठाउँदो रहेछ। म्यासेज त मलाई पनि आएको छ। धीरजले थुन्दिन्छु भनेपछि म्यासेज पठाउन छाडेछ। मैले उसलाई पक्राउ गराएको होइन। भाइलाई धम्क्याएपछि सहयोग गरेकोसम्म हो। पैसा लिएको भनिएका बेलामा मेरो भाइ त निलम्बित अवस्थामा थियो।

तपाईंले आफ्नो घर बेचेर रकम तिर्छु भन्नुभएछ, किन?
मैले त्यो (पुरानो) घर बेचेर अर्को घर किनेको हो। कहाँबाट पैसा तिर्नु? अर्को घर बेचेर नै अर्को किनेको हुँ। अहिले भिडियो बनाउने कुरा त कतिसम्म चलेको छ भनेर तपाईंहरूलाई भनिरहनुपर्छ र? यिनीहरूले जे पनि यताउता गर्न सक्छन्।

तपाईंले आफू अप्ठेरोमा परेको भनी प्रहरी महानिरीक्षकसँग समेत कुरा गर्नुभएको हो?
मलाई (अप्ठेरो परेको) होइन। मेरो भाइलाई धम्की छ भनेर आईजी र प्रमुख आयुक्तलाई भनेको हुँ। प्रमुख आयुक्तले तपाईं (कान्तिपुरकर्मीहरू) लाई आयुक्त पाठकलाई यस्तो (समस्या) छ भनेर भन्नुभयो कि क्या हो? तर यथार्थ अर्कै हो है। मलाई फसाउनका लागि यिनीहरूले यो सबै गरेका हुन्।

राजबहादुर बञ्जारा तपाईंसँग कसरी आइपुगे?
ऊ अपराधी हो। करोडौं रुपैयाँ लिएर बसेको छ। डनहरू बोकेर हिँडेको हुन्छ। यति पैसा दिन्छु, उति दिन्छु भनेर हिँडेको हो। उनीहरूको काम नै सबैलाई शोषण गर्ने, धम्क्याउने हो। उनीहरूसँग असुल्छन्। मैले त अमात्यलाई पनि चिनेको छैन। ऊ त्यो समूहमा छ।

अन्त्यमा तपाईंको केही भनाइ छ?
तपाईंहरूबाट के हुने हो थाहा छैन। तपाईंले मलाई सोध्नुभयो, त्यसका लागि धन्यवाद। मलाई तपार्इंहरूले नै बचाउने हो। किनभने तपार्इंहरूले ‘एउटा केटीसँग हिँडेको छ’ भनेर लेखिदिनुभयो भने त मेरो केही लाग्दैन। पत्रिकामा दुई लाइन आयो भने त मान्छेको....जान्छ नि। तर एकदम सहयोगको आशा राखेको छु। बदनाम हुन नपरोस्। केही छ भने म फेरि स्पष्ट पार्नेछु। उनीहरू कुन हैसियतका मानिस हुन्, त्यो तपाईंहरूले बुझ्नुहोस्।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

‘समाज–राजनीति’ विधाको कान्तिपुर आइकन घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले ‘समाज–राजनीति’ विधाको कान्तिपुर आइकन बिहीबार घोषणा गरेको छ ।

उक्त विधाको आइकन समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याएका धुर्मुस–सुन्तली जोडीलाई प्रदान गरिने भएको छ ।

चार विधामा प्रदान गरिने आइकनमध्ये बुधबार ‘विज्ञान–अन्वेषण’ तर्फको आइकन वागवानी विज्ञ मुकुन्द रञ्जितलाई प्रदान गर्ने घोषणा गरिएको थियो । बाँकी दुई विधा ‘सिर्जना–कला’ र ‘अर्थ–उद्यम’ का आइकन शुक्रबार र शनिबार घोषणा गरिनेछन् ।

जनही ५ लाख रुपैयाँ बराबरको स्वर्ण पदकसहितको उक्त सम्मान फागुन ६ गते काठमाडौंमा हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान हुने फाउन्डेसनले जनाएको छ ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्