बयान फेर्नेलाई कैद

कान्तिपुर संवाददाता

धनुषा — उच्च अदालत जनकपुरले कुटपिट मुद्दामा बयान फेर्ने वादीलाई कैद र जरिवानाको फैसला सुनाएको छ । सर्लाहीको तत्कालीन मोतिपुर–४ का भूपनरायण महतोलाई उच्च अदालत जनकपुरले झुटो बकपत्र गरेको ठहर गर्दै बुधबार वादीलाई नै कैद र जरिवाना गरेको छ ।

झुटो बकपत्र गराएकाले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८ (२) बमोजिम २० दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरिएको उच्च अदालत जनकपुरका शाखा अधिकृत गम्भीर राउतले बताए ।

मोतिपुर–६ स्थित रुद्रनारायण रायको घर अगाडि ०७२ भदौ १० गते बिहान ४ जनाले इँटाको टुक्राले आँखा फोडेको जाहेरी दिएका महतोले जिल्ला अदालतको बकपत्रमा बयान फेरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ०७२ असोज ११ गते दिएको जाहेरीमा मोतीपुरका विश्वास राय, प्रमेद साह, दिनेश राय र पर्शुराम साहले आँखा फोडेको आरोप लगाएका थिए । तर अदालतको बकपत्रमा औषधि लिन मोटरसाइकलमा जाँदै गर्दा आँखा फुटेको भन्दै बयान फेरपछि ४ जना प्रतिवादी अदालतबाट छुटेका थिए ।

महतोले बयान फेरेका कारण चारैजना प्रतिवादीलाई जिल्ला अदालत सर्लाहीले ०७३ फागुन १७ गते सफाइ दिएको थियो । महतोले बयान फेरपछि उच्च सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको मुद्दामा उच्च अदालतका प्रमुख न्यायाधीश हरिकुमार पोखरेल र अर्का न्यायाधीश ध्रुवराज नन्दको संयुक्त इजलासले कैद र जरिवानासहितको सजाय सुनाएको हो ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चन वाग्मती फर्काऔं

सम्पादकीय

काठमाडौँ — वाग्मती सफाइको ३०० औं हप्ता भएको छ । २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ अभियान आरम्भ भएको थियो । कलकल र कञ्चन बग्ने वाग्मतीलाई लेदो बग्ने, ठसठसी गन्हाउने बनाउने हामी नै हौं । सफाइ पनि हामीले नै गर्नुपर्छ । वाग्मतीमा ढल मिसाउनाले फोहोर भएको हो ।

वाग्मती सफाइ अभियानको ३ सयौं हप्ता पुगेको दिन शनिबार काठमाडौंको शंखमूलमा डुंगा सयर गरेर रमाइलो गरिँदै ।तस्बिर : सुरविन्द्रकुमार पुन/कान्तिपुर

वाग्मतीमा आएर फोहोर स्यालमती, हनुमन्ते, मनोहरा, धोबीखोला/रुद्रमती, नख्खु, बल्खु खोला मिसिन्छन् । यिनीहरू पनि वाग्मती फोहोर बनाउने कारक हुन् । यी सबै खोला सफा राख्नु नगरवासीको कर्तव्य हो ।

दुवै किनारका जग्गा हडपेर घर ठड्याउनाले वाग्मती अहिले खोरमा थुनिएको छ । फोहोर विसर्जन गर्ने ठाउँ ठान्ने हाम्रो मानसिकता नै गलत छ । आम सर्वसाधारणमा नदीनालामा फोहोर गर्नु हुन्न, यो प्राणीहरूको प्राणदाता हो भन्ने चेत नपलाएसम्म वाग्मती पूर्ण रूपमा सफा हुन सक्दैन । सफाइ प्रयास नभएको भने होइन, भएको छ ।

वाग्मतीको उद्गमस्थल बागद्वार र शिवपुरी धाप क्षेत्र संरक्षण प्रयास जारी छ । बागद्वारबाट उत्पत्ति भई कटवाल दह/चोभारसम्म नदीको लम्बाइ ४४ किलोमिटर छ । उपत्यकाका विष्णुमतीसहित करिब २० खोला यसका सहायक स्रोत हुन् ।

धापदेखि कटवाल दहसम्म अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिले नदीको स्वच्छता बचाउन विभिन्न पूर्वाधार निर्माण गर्दैछ । सुक्खा मौसममा वाग्मती नदीमा पानीको बहाव बढाउन मुहानमा दुइटा बाँध निर्माण भइरहेका छन् । शिवपुरी–नागार्ज‘न राष्ट्रिय निकुञ्जभित्रको मूलखर्क र त्यसभन्दा मुनि वाग्मतीमा बाँध बनाउने समितिको योजना छ ।

तल्लो धापमा १२ दशमलव ४ हेक्टर जमिन ओगट्ने २४ मिटर अग्लो बाँध बनाइने पनि समितिको योजना छ । वर्षायाममा जम्मा हुने पानीको मूलबाट ८ लाख ५० हजार घनमिटर पानी संकलन गरेर वाग्मतीको बहाव स्थिर राखिनेछ । करिब ५२ करोड रुपैयाँको लागतमा बाँध निर्माण भइरहेको छ ।

वाग्मती नदी किनारको गोकर्ण ब्यारेजदेखि सिनामंगलको ७ किमि क्षेत्रमा ‘हरित उद्यान’ बनाउन सुरु गरिएको छ । परम्परागत शैलीको हरित उद्यान निर्माण प्रक्रिया अघि बढाइएको छ ।

नदीको बीच–बीचमा ‘चेकड्याम’ निर्माण, परम्परागत शैलीका आकर्षक पार्क निर्माण गरिनेछ । करिब २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको उद्यान निर्माणपश्चात् ‘मृत वाग्मती जीवित हुने समितिको विश्वास छ ।

हरियालीको बीचमा साइकल लेन, फुटपाथ निर्माण गरिनेछ । गुहेश्वरीदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भने कुनै संरचना निर्माण नगरिने समितिले उल्लेख गरेको छ । ठाउँ–ठाउँमा निर्माण हुने चौतारी जहाँ बसेर बागद्वारबाट बहेको पवित्र वाग्मतीको सुन्दरतापान गर्न सकियोस् ।

सरकारले वाग्मती सुधार आयोजना सुरु गरी नदी प्रणालीलाई संरक्षण र व्यवस्थापन गर्न करिब ४ अर्ब रुपैयाँ छुट्याएको छ ।

अहिले वाग्मती केही सफा भएको छ । तर आर्यघाटदेखि तल नुहाउनयोग्य अझै भएको छैन । अभियानमा संलग्न साढे ७ लाख स्वयंसेवीबाट १८ हजार मेट्रिक टन ठोस फोहोर नदीबाट निकालिएको छ । मनोहरा र हनुमन्ते मिसिएर फोहोर बढेको छ । त्यसलाई स्रोतमै व्यवस्थापन गर्न नसक्नु अभियानको कमजोरी हो ।

ढल र सुकुम्बासी व्यवस्थापन सरकारको कार्य हो । नागरिक सफाइसँगै सरकारले संरचना निर्माण र आवश्यक ऐन, कानुन पनि बनाउँदै छ । अभियानले देशैभरि नदीनाला सफा गर्ने उत्प्रेरणा जगाएको छ । जनकपुर, सिरहा, दमक, पोखरा, नेपालगन्जलगायत राजधानीबाहिर ९० स्थानमा नदी सफाइ अभियान सञ्चालन भएको छ । यो स्वत:स्फूर्त सामाजिक अभियान हो ।

सुन्दरीजलमा क्रसरले निकालेको हिलो पानी वाग्मतीमा मिसिनाले फोहोर भएको छ । यसमा स्थानीयले नगरपालिकालाई सचेत गराएका छन् । नियमत: नदीमा क्रसरबाट निस्केको धमिलो र लेदो मिसाउन वर्जित छ । शनिबार एक दिन वाग्मतीमा उभिएर फोटो खिच्ने र ‘सेलेब्रिटी’ बन्नेहरूको भर परेर हुँदैन । बाहिरका अभियन्ता बढी र स्थानीय टोलवासीको कम सहभागिताले सफाइमा असर गरेको छ । काठमाडौंका मेयरले अझै सफाइ अभियानको स्वामित्व लिएका छैनन् ।

स्थानीयलाई सफाइमा परिचालन गरेर र जसले फोहोर गरेका छन्, तिनैलाई सचेत गराएर मात्र वाग्मती सफाइ अभियान सफल पार्न सकिन्छ । नदीनाला सभ्यताका मुहान हुन् । तिनलाई फोहोरमा परिणत गरेर हामी आफ्नै सभ्यतामाथि प्रहार गरिरहेका छौं । जुन–जुन र ज–जसका कारणले वाग्मती फोहोर भएको भए पनि हामी आफूले आफैंलाई फोहोर गरिरहेका छौं । अब आफैं सफा बनौं, सभ्य बनौं । हिजोको कञ्चन वाग्मती फर्काऔं ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्