गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित 

कान्तिपुर संवाददाता

कास्की — औपचारिक र अनौपचारिक वार्तामा व्यवस्थापन पक्ष विद्यार्थीका माग पूरा गर्न तयार नभएपछि गण्डकी मेडिकल कलेजको पठनपाठन प्रभावित भएको छ ।

पोखराको गण्डकी मेडिकल कलेजमा रिले अनशनमा बसेका विद्यार्थी । तस्बिर : बिना थापा/कान्तिपुर

विद्यार्थीले सरकारद्वारा निर्धारितशुल्कमात्रै लिनुपर्ने, बढी लिएका शुल्क सबै फिर्ता गर्नुपर्ने रआफूहरूले बुझाएका शुल्कको रसिद उपलब्ध गराउनुपर्नेलगायत चारबुँदे माग राखेका छन् ।

दुई सातादेखि आन्दोलित सन् २०१५ देखि २०१८ सम्मको ब्याचका विद्यार्थी पदाधिकारीका कार्यकक्ष र कक्षामा तालाबन्दी गरी कलेज परिसरमा धर्नामा बसेका छन् । विद्यार्थीको आन्दोलनपछि कलेजको अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द छन् ।

कलेज प्रशासनले मंगलबार आन्दोलनरत विद्यार्थीमध्येबाट ७ जनालाई वार्ताका लागि भन्दै करिब ३० किमि परको लुम्लेस्थित देउराली रिसोर्टमा लगेको थियो । अनित सिन्हा, प्रवीन गौतम, सुशील सुवेदी, परिवर्तन भाट, प्रेमदेव जोशी, रवीना मिश्र र विप्लव खत्रीलाई लगिएको थियो भने व्यवस्थापनका तर्फबाट प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ, सीईओ कृष्ण घिमिरे, अधिकृतहरू युवराज शर्मा, दिनेश पौडेल र कृष्ण पौडेल पुगेका थिए ।

धर्नामा बसेका विद्यार्थीले बुधबार पत्रकार सम्मेलन गर्दै अपहरणको शैलीमा लगेर दबाब दिन खोजे मान्न नसकिने बताएका छन् । ‘वार्ताका नाममा कलेज प्रशासनले ६/७ जना विद्यार्थीलाई एकान्तमा लैजानु तर मुख्य मुद्दामा छलफल नगर्नु यो कुन तरिकाहो ?’ विद्यार्थी रविना मिश्रले भनिन्, ‘वार्ता जिल्ला प्रशासनमा हुनुपर्छ । सबैका अगाडि हुनुपर्छ ।’

प्रकाशित : फाल्गुन २, २०७५ ०८:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बयान फेर्नेलाई कैद

कान्तिपुर संवाददाता

धनुषा — उच्च अदालत जनकपुरले कुटपिट मुद्दामा बयान फेर्ने वादीलाई कैद र जरिवानाको फैसला सुनाएको छ । सर्लाहीको तत्कालीन मोतिपुर–४ का भूपनरायण महतोलाई उच्च अदालत जनकपुरले झुटो बकपत्र गरेको ठहर गर्दै बुधबार वादीलाई नै कैद र जरिवाना गरेको छ ।

झुटो बकपत्र गराएकाले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८ (२) बमोजिम २० दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरिएको उच्च अदालत जनकपुरका शाखा अधिकृत गम्भीर राउतले बताए ।

मोतिपुर–६ स्थित रुद्रनारायण रायको घर अगाडि ०७२ भदौ १० गते बिहान ४ जनाले इँटाको टुक्राले आँखा फोडेको जाहेरी दिएका महतोले जिल्ला अदालतको बकपत्रमा बयान फेरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ०७२ असोज ११ गते दिएको जाहेरीमा मोतीपुरका विश्वास राय, प्रमेद साह, दिनेश राय र पर्शुराम साहले आँखा फोडेको आरोप लगाएका थिए । तर अदालतको बकपत्रमा औषधि लिन मोटरसाइकलमा जाँदै गर्दा आँखा फुटेको भन्दै बयान फेरपछि ४ जना प्रतिवादी अदालतबाट छुटेका थिए ।

महतोले बयान फेरेका कारण चारैजना प्रतिवादीलाई जिल्ला अदालत सर्लाहीले ०७३ फागुन १७ गते सफाइ दिएको थियो । महतोले बयान फेरपछि उच्च सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको मुद्दामा उच्च अदालतका प्रमुख न्यायाधीश हरिकुमार पोखरेल र अर्का न्यायाधीश ध्रुवराज नन्दको संयुक्त इजलासले कैद र जरिवानासहितको सजाय सुनाएको हो ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT