सुदूरपश्चिममा नेकपाभित्र अन्तरकलह

अर्जुन शाह

धनगढी — प्रधानमन्त्रीको सुदूरपश्चिम भ्रमणको विषयलाई लिएर पार्टीभित्र विवाद देखिएको छ । ४ दिनअघि नेकपा सुदूरपश्चिम प्रदेश सचिवालयको बैठकमा सहभागी हुन काठमाडौंबाट प्रदेश इन्चार्ज भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट र प्रदेश अध्यक्ष कर्ण थापा एकसाथ धनगढी आए ।

सुदूरपश्चिममा नेकपाभित्र अन्तरकलह

५ सदस्यीय सचिवालयका सबै सदस्य पार्टीको प्रदेश कार्यालयमा ५ घण्टासम्म छलफलमा पनि बसे ।


पदाधिकारीले बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर गरे पनि अध्यक्ष कर्ण थापाले भने गरेनन् । ‘त्यो बसाई बैठक नभई अनौपचारिक छलफल मात्र हो,’ थापाले भने । नेताहरू बैठककै लागि एकसाथ धनगढी उत्रेका भए पनि दोस्रो बिहान अध्यक्ष थापाले ‘बैठक नभई अनौपचारिक छलफल मात्रै’ भएको भनेपछि विवाद बढेको हो ।


सह–इन्चार्ज लक्ष्मणदत्त जोशीका अनुसार बैठक ३ वटा प्रस्तावमाथिको छलफलमा केन्द्रित थियो । त्यसक्रममा एउटा प्रस्ताव थियो, ‘स्थगित भएको प्रधानमन्त्रीको सुदूरपश्चिम प्रदेश भ्रमण ।’ इन्चार्ज रावलले पार्टीका दुवै केन्द्रीय अध्यक्षसँग परामर्श गरेर मात्रै धनगढी भेलाको मिति तय गर्नु उचित हुने बताएका थिए ।


अन्य पदाधिकारीसमेत रावलकै धारणामा सहमत देखिएका थिए । तर अध्यक्ष थापा भने उहाँहरूमा प्रधानमन्त्रीको भ्रमण हुन नदिने मनसाय देखिएकाले निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको बताउँछन् । यता रावल भने अध्यक्ष थापा झुटो प्रचार गर्दै हिँडेको बताउँछन् । रावलले भने, ‘सुरुदेखि नै प्रधानमन्त्रीसहित दुवै अध्यक्षलाई सुदूरपश्चिम भ्रमणमा निम्त्याउनुपर्छ भन्ने मै हुँ ।’


यसअघि माघ २० गते प्रधानमन्त्रीद्वारा सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन लगायतका कार्यक्रमको कार्यतालिका तय भएको थियो । त्यही बेला दुवै अध्यक्षद्वारा प्रदेशका कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमसमेत निर्धारित थियो । सुरुमा त्यही कार्यक्रमको तयारीका क्रममा नेकपा प्रदेश कमिटीका सदस्यबीच माघ १२ गते विवाद भएको हो ।


अध्यक्ष थापाले तयारी समिति निर्माण गर्ने क्रममा ‘एकलौटी’ गरेको भन्दै प्रदेश सदस्य मीनबहादुर कुँवरले असहमति जनाएपछि प्रधानमन्त्रीको प्रस्तावित भ्रमणको तयारी बिथोलिएको थियो । ‘अध्यक्ष थापाले गुटगत रूपमा तयारी समिति गठन गर्न खोजेपछि विरोध जनाएको हुँ,’ प्रदेश सदस्य मीनबहादुर कुँवरले भने, ‘थापाले इन्चार्ज लगायतसँग छलफल गर्न आवश्यक छैन भनेपछि बैठक भाँडिएको हो ।’


अध्यक्ष थापाले भने सबै अधिकार अध्यक्षसँग हुने भए पनि आफूलाई काम गर्न अवरोध गर्न खोजेको बताए । ‘मैले तयारी समिति एकलौटी गर्न खोजेकै होइन,’ थापाले भने । प्रदेशमा विवाद देखिएपछि प्रधानमन्त्री र अर्का अध्यक्ष दाहालको पूर्वनिर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको थियो । यसैबीच फागुन ८ गते डोटीको बोगटान सडक शिलान्यास गर्न आउने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताएका छन् ।


हाल सुदूरपश्चिम नेकपाभित्र प्रस्ट रूपमा २ समूहमा नेता कार्यकर्ता विभाजित देखिएका छन् । एकथरी कार्यकर्ता प्रदेश इन्चार्ज भीम रावलतर्फ देखिएका छन् भने अर्कोथरी कार्यकर्ता प्रदेश अध्यक्ष कर्ण थापातिर देखिएका छन् ।


स्थायी कमिटी सदस्य लेखराज भट्ट, सहइन्चार्ज जोशी, प्रदेश सांसद अधिकांश रावल निकट देखिएका छन् । यसको असर प्रदेश सरकार, प्रदेश सांसद र स्थानीय तहका नेता कार्यकर्तासम्म देखिएको छ । तल्लो तहसम्म पार्टी एकताको काम पूरा नभएकै अवस्थामा शीर्ष नेताबीच उत्पन्न विवादले निराश बनाएको पार्टीका कार्यकर्ता बताउँछन् ।


‘एकल निर्णय हाबी’

जनकपुर (कास)– नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा एकल निर्णय हाबी भएको आरोप लगाएका छन् ।


जनकपुर ८ वलवा टोलस्थित कविर अनाथ आश्रमका बालबालिकाको अवस्था बुझ्न बुधबार पुगेका नेता नेपालले सञ्चारकर्मीसँग नेकपाभित्र एकल निर्णय हाबी भएको भन्दै असन्तुष्टि राखे । उनले भने, ‘म कुनै पनि निजी निर्णयको विरोध गर्छु ।’


जनयुद्ध दिवस मनाउने/नमनाउनेबारे नेकपाभित्र देखिएको विवादबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यस्ता निर्णय कमिटीको बैठकबाट गर्नुपर्ने हो । एकल निर्णयको कारण संशय बढ्छ ।’ नेता नेपालले आफूहरू जनयुद्ध दिवस नभई जनयुद्ध र जनआन्दोलनका सहिदलाई श्रद्धाञ्जली दिन कार्यक्रमको आयोजना गर्न लागेको बताए ।


नेकपाका दुई अध्यक्षका कारण पार्टी विभाजनतर्फ अग्रसर भएको जिज्ञासामा उनले भने, ‘पार्टीभित्रको बहस, छलफलले पार्टी विभाजित होइन अझ संगठित भएको छ । पार्टी एक ढिक्का राख्न म छँदै छु नि ।’

प्रकाशित : फाल्गुन २, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?