कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भागबन्डामा मौरी चरन

विनोद भण्डारी

मोरङ — मोरङ जाँतेका व्यावसायिक मौरीपालक किसान इमनाथ पोखरेलको भागमा दुई वर्षदेखि होक्लाबारी र सुनवर्षीको तोरीबारी ‘अंश’ मा पर्दै आएको छ । तोरीको फूल नझरेसम्म त्यहाँ अरू कसैले मौरीको घार लिएर जान पाउँदैन ।

भागबन्डामा मौरी चरन

उर्लाबारीका बोधराज खतिवडालाई पनि यसपालि उर्लाबारी र होक्लाबारीको केही भाग अंशमा परेको छ । उनको अंशमा परेको तोरीबारीमा पनि अरू किसानले खुट्टा हाल्न पाउँदैनन् । हरैंचाका रेवती तिम्सिनाको भागमा बेलेपुर

तोरीबारी परेको छ ।


मोरङमा ७० जना व्यावसायिक मौरी पाल्ने किसान छन् । उनीहरू सबैलाई हरेक वर्ष मंसिर पहिलो साता मौरी चराउने चरन बाँडिन्छ । यसलाई उनीहरू ‘अंश लगाएको’ भन्छन् ।


उनीहरूले त्यो चरन क्षेत्र आफू खुसी भने लिन पाउँदैनन् । चरन क्षेत्र अंश लगाउने बेग्लै समिति हुन्छ । त्यो समितिले किसानका मौरीका घारका आधारमा चरन बाँडफाँट गरेपछि उनीहरू मौरीका घार लिएर त्यस क्षेत्रमा चराउन निस्कन्छन् ।


तोरीको सिजनमा मौरी पालक किसानलाई होक्लाबारी, केरौन, सुनवर्षी, मृगौलिया, हरैंचाको बेलेपुर, बाहुनी, पथरी शनिश्चरे, वयरवनलगायत स्थान चरन व्यवस्थापन समितिले अंशबन्डा गरिदिन्छ । चरन व्यवस्थापन समितिका अध्यक्ष बोधराज खतिवडाले भने, ‘आ–आफ्नो भागमा परेको स्थानबाहेक अरू ठाउँमा मौरी चराउन पाइँदैन ।’


भागमा परेको तोरीबारीमा मौरी चराउँदा जग्गावालालाई उनीहरूले भाडाबापत मह नै दिन्छन् । तोरीका फूल झरेपछि फर्कन्छन् ।


‘दुई वर्षदेखि तोरीको सिजनमा मौरी चराउन होक्लाबारी र सुनवर्षीका तोरीबारी अंशमा पाएको छु,’ नेपाल मौरीपालन राष्ट्रिय सहकारी संस्थाका सञ्चालक इमनाथले भने, ‘यो अंश फागुनसम्मका लागि हो ।’ अर्को साल फेरि मंसिर पहिलो साता सबै मौरी पालन किसानलाई चार महिनाका लागि तोरीबारीको अंशबन्डा लाग्ने उनको भनाइ छ ।


इमनाथले यस वर्ष १ सय ८० वटा मौरीका घारबाट करिब ४० क्विन्टल मह उत्पादन गर्ने लक्ष्य लिएका छन् । ‘गत वर्ष ७० वटा घार हुँदा २५ क्विन्टल मह उत्पादन भएको थियो,’ उनले भने, यसपालि हिउँदको सिजन राम्रो भएकाले उत्पादन बढ्न सक्छ ।’ मौरी पाल्दा मनग्गे नाफा हुने तर तोरीबारीमा चराउँदा सम्बन्धित जग्गावालाले तोरीमा विषादी छर्किंदा कहिलेकाहीं मौरी नै सखाप हुने गरेको गुनासो उनको छ ।


फागुनमा तोरीको सिजन सकिन्छ । त्यसपछि जंगली मह उत्पादनका लागि मौरी चराउन जंगल र बगर भागबन्डा गरिन्छ । खतिवडाले भने, ‘चैत, वैशाख र जेठमा मौरीलाई जंगलमा चराएर जंगली मह उत्पादन गरेपछि कात्तिकसम्म मौरीलाई घरैमा चिनी खुवाएर पाल्नुपर्छ ।’


तोरीको सिजनमा उत्पादन हुने मह प्रतिकेजी ६ सय रुपैयाँ र जंगली मह प्रतिकेजी ८ सय रुपैयाँले स्थानीयस्तरमै बिक्री हुने गरेको खतिवडाको भनाइ छ । हिउँदको मौसम राम्रो हुँदा तोरीको सिजनमा तीन पटकसम्म मह काढ्न सकिने किसान शारदा पोखरेलको भनाइ छ ।


‘हिउँदमा सिजन घमाइलो हुँदा बढीमा २२ दिनमा मह काढ्न सकिन्छ,’ उनले भनिन्, ‘एकपटक मह काढदा एउटा घारबाट कम्तीमा ७ केजीसम्म मह उत्पादन हुन्छ ।’ कुहिरो लागेर शीतलहर चल्दा मह काढ्न पनि धेरै दिन लाग्ने र उत्पादन पनि कम हुने उनको अनुभव छ ।


मंसिरको पहिलो साता चराउन निकालिएका मौरी जेठ अन्तिम समयमा मात्र घर आइपुग्न र त्यसपछि कात्तिक अन्तिमसम्म घरमै चिनी खुवाएर पाल्नुपर्ने पोखरेलले बताइन् । तोरीको सिजन सकिएपछि जंगलमा राखिन्छ ।


वैशाखमा जंगलमा विभिन्न वनस्पति फुल्छन् । त्यही फूल खाएर उत्पादन हुने मह तोरीको भन्दा गुणस्तरीय हुने र बिक्री पनि बढी मूल्यमा हुने उनको भनाइ छ ।


मोरङमा युरोपियन जंगलबाट ल्याइएको मेरीफेरा जातको मौरीको व्यावसायिक पालन भइरहेको पोखरेलको भनाइ छ । उनका अनुसार मौरी पालन व्यवसायमा ४० प्रतिशत खर्च र ६० प्रतिशत नाफा हुन्छ । पोखरेलका अनुसार मौरी पालन व्यवसायमा घाटा भनेको जेठदेखि कात्तिक अन्तिमसम्म चिनी खुवाएर पाल्नुपर्दाको हो ।

प्रकाशित : फाल्गुन २, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?