कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अख्तियार आयुक्त पाठकको घूस प्रकरण : कार्यालय अख्तियार, अखडा तीनकुने, उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप

कृष्ण ज्ञवाली

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ ।

अख्तियार आयुक्त पाठकको घूस प्रकरण : कार्यालय अख्तियार, अखडा तीनकुने, उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप

पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यहाँ राखेर विभिन्न पक्षसँग मोलमोलाइ गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो ।

‘उहाँका बारेमा अनेक गुनासा आएपछि हाम्रो सुरक्षाकर्मीको टोलीले केही समय निगरानी गरेको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरूले विभिन्न व्यक्तिलाई धम्क्याउने, रकम उठाउनेलगायत काम गरिरहेको खुल्यो । केही कर्मचारी हाम्रो निगरानीमा छन् ।’ उक्त अखडामा तीन व्यक्तिले काम गरिरहेका थिए ।

तीमध्ये एक जना नापी विभाग र अर्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । तेस्रो व्यक्ति नापीका पूर्वकर्मचारी हुन् । शैक्षिक प्रमाणपत्रमाथि छानबिन चलेपछि उनले राजीनामा दिएका थिए । ‘आयुक्त पाठकको इसारामा चल्ने उनीहरूले तराईका ८ जिल्लामा १० हजार रुपैयाँदेखि ५ लाखसम्म उठाउँदै गरेको भनी बारम्बार हामीकहाँ उजुरी परेको छ,’ स्रोतले भन्यो, ‘उनीहरू हाम्रो उच्च निगरानीमा छन् ।’

कान्तिपुरको सम्पर्कमा आएका विमानस्थलका ती कर्मचारीले आफूले पाठकलाई चिनेको र उनीसँग बारम्बार भेट भएको स्विकारे । ‘हाम्रो नाता पर्छ त भेटघाट उठबस भइहाल्छ नि,’ उनले कान्तिपुरसित भने, ‘उनका नाममा मैले कुनै गडबड गरेको छैन । प्रमाणित भयो भने नेपाल छाडेर गइहाल्छु ।’ उनले आफू ९ महिनादेखि बिदामा रहेको बताए । नापी विभागमा कार्यरत अर्का कर्मचारीले

भने, ‘मैले कसैको सियोसम्म लिएको छैन । मलाई तपाईं जथाभावी आरोप नलगाउनुस् है, ठीक हुँदैन ।’


अख्तियार स्रोतका अनुसार पाठकले उनीहरूलाई तराईका विभिन्न जिल्लामा नियमित स्थलगत रूपमा पठाई स्थानीय तहका कर्मचारीसँग रकम उठाउने गर्थे । अख्तियारमा परेका केही उजुरीमा यसबारे संकेत रहेको एक उच्च कर्मचारीले बताए । ‘स्तर हेरेर १० हजार रुपैयाँदेखि ५ लाखसम्म उठाउने गरेका थिए,’ उनले भने, ‘खुद्रा तहमा रकम उठाउन उनीहरूलाई प्रयोग गर्ने अनि ठूला व्यक्तिसँग आफैं सक्रिय हुने पाठकको स्वभाव थियो ।’


ठूलालाई आफैंले

पाठकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासलाई नियमित रूपमा धम्क्याएर आफ्नो स्वार्थमा काम गराएको स्रोतले बतायो ।

आयुक्त पाठक बारम्बारको दबाबका कारण उपकुलपति दास उनका भाइ शुभनारायणलाई पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान संकायको डिन बनाउन बाध्य भएका थिए । ‘पाठकले भाइमार्फत अनेक स्वार्थपूर्तिका काम गरिरहे,’ अख्तियार स्रोतले भन्यो, ‘बेलाबेलामा घरमै बोलाएर भ्रष्टाचारको मुद्दा चलाइदिऊँ भनेर समेत अनेक दबाब दिइरहेका थिए ।’

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिनहरू डा. राकेश श्रीवास्तव र विमल सिन्हासमेत आयुक्त पाठकबाट पीडित रहेको स्रोतले बतायो । पाठकले गत वर्ष नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्माकान्त बाँस्कोटा र रजिस्ट्रार डा. दिलीप शर्मामाथि समेत आफ्नो स्वार्थका विषयमा निर्णय गराउन दबाब दिएका थिए । अख्तियार स्रोतले भन्यो, ‘केही मेडिकल कलेजका सम्बन्धन र कोटामा उनको विशेष रुचि थियो ।’ रेल विभागका महानिर्देशक बलराम मिश्रलाई समेत उनले घरमै बोलाएर धम्क्याउने र मोलमोलाइ गर्ने गरेको सूचना अख्तियारसम्म पुगेको थियो ।

२ वर्षअघि आयुक्त पाठकले डीएसपी दानबहादुर कार्कीलाई पनि घरमै बोलाएर धम्क्याएका थिए । नाकाबन्दीका बेलामा दुगड समूहको खानेतेलको कालोबजारी प्रकरणमा छानबिन अघि बढेको थियो । बानेश्वर प्रहरी वृत्तमा कार्यरत डीएसपी कार्कीलाई आयुक्त पाठकले घरमै बोलाएर प्रलोभन देखाएका थिए । एक उच्च प्रहरी अधिकारीका अनुसार उनले कालोबजारको मुद्दा अघि नबढाउन र त्यसबापत ‘आफ्नो भविष्य सोच्न’ सुझाव दिएका थिए ।

‘तपाईंको काठमाडौंमा घर छैन भने मिलाउनुस्, एउटा छ भने दुइटा बनाउनुस्,’ पाठकको भनाइ उद्धृत गर्दै एक उच्च प्रहरी अधिकारीले भने, ‘मुद्दा लगाउने, अरूलाई दु:ख दिने ढंगले अघि नबढ्नुस्, सबैलाई सहयोग गर्नुपर्छ ।’ पाठकलाई अख्तियारका आयुक्त बनाउन पहल गर्नेमा पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद शाहसमेत थिए तर पछि उनैका एक नातेदारसँग पाठकले रकम मागेका थिए ।

पछि फिर्ता नगरेको भनी केही सरकारी वकिलबीच कुरासमेत पुगेको थियो । पाठकले आफ्नो भिडियो खिचिएपछि त्यसलाई मिलाउन खेलकुद सचिव मोहनकृष्ण सापकोटाका साथै सर्लाहीका तत्कालीन एसपी रवीन्द्र ठाकुरलाई समेत धम्क्याएको स्रोतले बतायो ।


उच्च पदस्थहरू ४ महिनादेखि गुपचुप

यो त्यही भिडियो थियो जुन प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही उच्च पदस्थहरूले करिब ४ महिनाअघि नै हेरिसकेका थिए । तर उनीहरू बिहीबार मात्रै बोल्न थाले जब अख्तियारका आयुक्त राजनारायण पाठकले घूस लिएको त्यो भिडियोबारे समाचार सार्वजनिक भयो । ‘उच्च पदस्थहरू’ यति लामो समय किन गुपचुप रहे ?

घटना डेढ वर्षअघिको हो । ‘झन्डै ४ महिनाअघि नै यो भिडियो प्रधानमन्त्री कार्यालयसहित केही उच्च पदस्थ सरकारी अधिकारीहरूसमक्ष पुगिसकेको थियो,’ स्रोतले भन्यो, ‘उनीहरूले अनुकूल समयमा कारबाही अघि बढाउने भन्दै पर्खन आग्रह गरिरहेका थिए ।’ प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमक्ष पनि यो सूचना पुगेको थियो । तर उनीहरूले पनि यसलाई बाहिर ल्याउन चाहेनन् ।

उच्च पदस्थ सरकारी अधिकारीहरू, महान्यायाधिवक्ता अग्नि खरेल, विभिन्न दलका नेता र अन्य स्रोतहरूसँगको कुराकानीबाट थाहा भएअनुसार प्रधानमन्त्री ओली, उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, कानुनमन्त्री भानुभक्त ढकाल, सञ्चारमन्त्री गोकुल बाँस्कोटालगायत यसबारे जानकार थिए ।


‘उनीहरूले गृहसचिव प्रेम राईमार्फत भिडियो पाएका थिए,’ स्रोतले दाबी गर्‍यो, ‘प्रधानमन्त्री निवास बालुवाटारमै सामूहिक रूपमा भिडियो हेरिसकेका थिए ।’ स्रोतका अनुसार प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि भिडियोबारे जानकारी थियो ।

दुईपटक सूचना पुर्‍याउँदासमेत उनले कुनै प्रतिक्रिया नदिएपछि भिडियो खिच्ने समूहले अन्त पनि जानकारी गराउँदै कारबाहीका लागि आग्रह गरेको थियो । भिडियोले आफू अप्ठ्यारोमा परेपछि आयुक्त पाठकले कांग्रेस नेता विमलेन्द्र निधिसँग सहयोगको आग्रहसमेत गरेका थिए । तर निधिले पाठकलाई सहयोग त गरेनन्, भिडियोबारे पनि कहीँ कतै बोलेनन् ।

आफूमाथि भिडियो खिचिएको र त्यो सार्वजनिक हुन सक्ने पत्तो पाएपछि पाठकले राजपा अध्यक्ष महन्थ ठाकुरलाई समेत भेटेका थिए । ठाकुरले उनलाई ‘सहयोग गर्न नसक्ने’ जवाफ दिएर फर्काएको स्रोतले बतायो । तर यसबीचमा ठाकुरले पनि घूस लिएका आयुक्तमाथि कुनै सार्वजनिक टीकाटिप्पणी गरेको पाइएन । यो भिडियोबारे अख्तियारका सबै पदाधिकारी, सचिव र सहसचिवहरू जानकार थिए ।

अख्तियार पदाधिकारीले प्रधानमन्त्री ओलीलाई भेटेर निकास दिन आग्रह पनि गरेका थिए । तर उनीहरूले यसबारे केही बोलेनन् । बरु आयुक्त पाठकको अधिकारक्षेत्र सीमित बनाएर उनको चलखेल निस्तेज तुल्याउने बाटो अपनाए । अख्तियारकै अर्का आयुक्तका अनुसार उनीहरू पाठकले राजीनामा दिए समस्याको सहज निकास हुन्थ्यो भन्ने पर्खाइमा थिए । ‘लोकमानसिंह कार्कीका कारण बिग्रिएको छवि अख्तियारले बल्लबल्ल सुधार्न खोजेको थियो,’ उनले भने, ‘अब फेरि यो सार्वजनिक हुँदा हामीलाई अख्तियारको साख जोगाउनै कठिन हुन्छ । बरु राजीनामा दिएर हिँडिदिए अख्तियार विवादमा फस्ने थिएन ।’

प्रधानमन्त्री ओली सुरुदेखि नै पाठकमाथि कारबाहीको पक्षमा भए पनि उनले ‘उपयुक्त समय नभएको’ भन्दै नेताहरूलाई पर्खन आग्रह गरेका थिए । कांग्रेसको विश्वास नजिती महाभियोग अघि बढ्न नसक्ने भन्दै उनले ‘केही समय पर्खन’ निर्देशन दिएका थिए ।

वाइडबडी प्रकरण, गोविन्द केसीको अनशनलगायतका कारण कारबाही प्रक्रिया धकेलिएको थियो । ‘अब त होला भन्ने बेलामा भेनेजुएला वक्तव्यका कारण नेकपाका दुई अध्यक्षबीच सम्बन्ध चिसिएका कारण केही दिन कारबाही नहुने संकेत देखिएको थियो,’ नेकपा संसदीय दल स्रोतले भन्यो, ‘सञ्चारमाध्यमबाट छरपष्ट हुन थालेपछि मात्र बल्ल नेताहरू तातिएका हुन् ।’

घटनाबारे जानकार अख्तियारका एक महाशाखा प्रमुखका अनुसार यो घटना सार्वजनिक भएर आफूहरूकै नैतिकतामाथि प्रश्न उठ्ने देखेपछि नेताहरू महाभियोग लगाउनेसम्मको अभिव्यक्ति दिन थालेका हुन् । ‘बाहिर शून्य सहनशीलताको कुरा गरे पनि नेताहरू कठोरताका साथ कारबाही अघि बढाउने र जोखिम मोल्ने पक्षमा थिएनन्,’ उनले भने, ‘ठीकै छ, अप्ठ्यारो नपरेसम्म किन जोखिम मोल्ने भन्ने थियो । यो विषयलाई जति गम्भीरताका साथ हेरिनुपथ्र्यो, त्यसो गरिएन ।’


पाठकलाई बैठकमा बोलाइएन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिहीबारको नियमित बैठकमा आयुक्त पाठक उपस्थित भएनन् । उनी आफंैले प्रमुख आयुक्त र अन्य आयुक्तलाई भेट गरी ‘म सम्पर्कमा रहनेछु’ भनी बिदावारी भएको सचिवालय स्रोतले बतायो । एक आयुक्तका अनुसार उनी अत्यन्त हतोत्साहित मनस्थितिमा थिए । उनले भने, ‘धेरै बोल्नुभएन, बिदावारी भएर हिँड्नुभयो ।’

अख्तियारका पदाधिकारीहरूले घटनाबारे कुनै प्रतिक्रिया दिन चाहेनन् । पाठकको क्रियाकलाप महाभियोगको विषयवस्तु भन्दै उनीहरूले त्यसबारे आफ्नो क्षेत्राधिकारअनुसार प्रतिक्रिया दिन नमिल्ने बताए । प्रवक्ता रामेश्वर दंगालले समेत आफूले प्रतिक्रिया दिन नसक्ने बताए । ‘मैले सूचना वा प्रतिक्रिया दिनुको पनि एउटा सीमा हुन्छ,’ उनले भने, ‘यो मेरो सीमाभित्रको विषयवस्तु नै होइन ।’

याे पनि पढ्नुहाेस्

अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा

प्रकाशित : फाल्गुन ३, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?