सीमान्तकृत पढ्ने विद्यालय जोगाउन हम्मे

अर्जुन राजवंशी

दमक — सन्थाल, बनियाँ, कर्मकार, ढोली, बेस्रालगायत सीमान्तकृत समुदायका छोराछोरी पढ्ने विद्यालय जोगाउनै हम्मे परेको छ । बिर्तामोड नगरपालिका १० स्थित चमरधाप प्रावि जोगाउन स्थानीय र जनप्रतिनिधि जुटेका छन् ।

सीमान्तकृत पढ्ने विद्यालय जोगाउन हम्मे

विद्यालयमा विद्यार्थी संख्या पर्याप्त नभएको भन्दै नगरपालिकाले मर्ज गर्ने प्रस्ताव अघि बढाएको हो । मर्ज गर्ने प्रस्तावसँगै अभिभावक चिन्तित छन् । यस्तो प्रस्ताव आएसँगै नगरपालिकाले यो वर्ष बजेटसमेत विनियोजन गरेको छैन । बजेट नभएपछि विद्यालय सञ्चालनमै समस्या भएको प्रधानाध्यापक नरेन्द्रप्रसाद गुरुङ बताउँछन् । विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ । यहाँ ४३ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये बालकक्षामा २१ जना छन् ।


०५४ मा स्थापना भएको विद्यालयमा ५ कोठे भवन छ । गाउँमा विद्यालय स्थापना हुने भएपछि स्थानीय शान्तिराम आचार्यले ५ कट्ठा १२ धुर नि:शुल्क दिएका थिए । विद्यालयमा ३ शिक्षक छन् । दरबन्दीको भने प्रअ गुरुङमात्रै हुन् । एक बाल शिक्षिका र एक कर्मचारी नगरपालिकाको स्रोतबाट कार्यरत छन् । कर्मचारीले अध्यापन पनि गराउनुपर्छ । ४ वटा कक्षा भएको स्कुलमा ३ शिक्षक मात्र भएकाले एउटा कक्षा खाली हुन्छ ।


‘शिक्षक अभावमा कक्षा खाली हुने भएपछि एक जनाले एकै समयमा दुईवटा कक्षा हेर्ने गरी काम चलाएका छौं,’ गुरुङले भने । नजिकै अर्को सामुदायिक विद्यालय नभएकाले यसलाई जोगाउनुको विकल्प नभएको अभिभावक बताउँछन् । विद्यालयमा सन्थालका ९, बनियाँका ५, लिम्बूका ५, राईका ६, राजवंशीका २, शेर्पाका २, दमाईका १ र अन्य जातिका १३ बालबालिका अध्ययनरत छन् । ‘यो विद्यालय मर्ज गर्ने प्रस्ताव कुनै हिसाबले उपयुक्त छैन,’ वडाध्यक्ष दुर्योधन गुरुङले भने, ‘यहाँका गरिब, मजदुरका छोराछोरीलाई शिक्षा दिन स्कुल जसरी पनि सञ्चालन गर्नुपर्छ ।’


विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रिमानध्वज लोक्तामले विद्यालयलाई अन्यत्र मर्ज गरे सीमान्तकृतका छोराछोरी शिक्षाबाट वञ्चित हुने बताए । उनले घरनजिकै स्कुल भएकाले दिन बिराएर भए पनि विपन्न वर्गका छोराछोरी पढ्न आउने गरेको तर्क गरे । अर्को विद्यालय ३ किमि टाढा छ ।


कांग्रेस क्षेत्रीय सभापति नवीन विमलीले आफ्नो व्यक्तिगत खर्चबाट आइतबार विद्यालयमा कार्पेट ओछ्याइदिए । उनले विद्यार्थीलाई ब्याग, कापी, कलमलगायत शैक्षिक सामग्रीसमेत वितरण गरे । ‘नगरपालिकाले यहाँको वस्तुगत अध्ययनै नगरी मर्ज गर्ने प्रस्ताव गरेको छ । हामीलाई यो कुनै हालतमा स्वीकार्य हुँदैन,’ उनले भने ।


वडासदस्य दीपिका शिवाले विद्यालयमा विद्यार्थी संख्या बढाउन ३ दिनअघि घरदैलो कार्यक्रम गरेको बताइन् । यसबाट आगामी शैक्षिक सत्रबाट १६ नयाँ विद्यार्थी भर्ना गर्न अभिभावक इच्छुक भएको उनले सुनाइन् । विद्यालयका लागि चालु वर्ष वडा कार्यालयले १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?