२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

कर्णालीमा विद्यालय भर्ना अभियान : कतै सुरसार, कतै सुनसान

साबिक कर्णाली अञ्चलका ५ जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ तर हिमपातका कारण अभियान प्रभावकारी रूपमा चल्न सकेको छैन । कहीँ भर्ना अभियान भर्खरै सुरसार छ भने कहीँको अवस्था सुनसान छ ।
कर्णाली ब्युरो

सुर्खेत — हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका विद्यालयमा दुईखाले शैक्षिक सत्र लागू छ । अधिक चिसो हुने र कम चिसो हुने क्षेत्रमा वैशाखमा शैक्षिक सत्र सुरु हुन्छ भने मध्यमखाले चिसो हुने क्षेत्रमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।

कर्णालीमा विद्यालय भर्ना अभियान : कतै सुरसार, कतै सुनसान

फागुनदेखि शैक्षिक सत्र सुरु हुने क्षेत्रमा समेत यसपटक परेको हिमपात र बढेको चिसोले भर्ना अभियान प्रभावित भएको स्थानीय सरोकारवालाले जनाएका छन् ।


सुरसारै छैन

हुम्लामा यो वर्ष हिमपातले भर्ना अभियान प्रभावित बनायो । नयाँ शैक्षिक सत्र सुरु भए पनि विद्यार्थी भर्ना भएका छैनन् । अभियान नै सुरु भएको छैन । सिमकोटस्थित बालमन्दिर माध्यमिक विद्यालयले बिहीबारबाट भर्ना सुरु गरेको जनाएको छ । तर, पहिलो दिन पुराना र नयाँ गरी ४५ जनामात्र भर्ना भए । 


सिमकोटकै मानसरोवर माविले भने भर्ना सुरु गरेको छैन । प्रधानाध्यापक अमरबहादुर शाहीले सरकारले फागुनबाट शैक्षिक सत्र सुरु हुने जिल्लामा भर्ना अभियानलाई महत्त्व नदिएको बताए । ‘माथिल्लो निकायबाट कुनै निर्देशन आएको छैन,’ उनले भने, ‘हामीले मात्र कसरी अभियान चलाउनु ?’


भर्ना अभियान कसले सञ्चालन गर्ने भन्ने पनि स्पष्ट छैन । जिल्ला शिक्षा विकास तथा समन्वय कार्यालयले सम्बन्धित स्थानीय तहले भर्ना अभियान सुरु गर्नुपर्ने बताएको छ । कार्यालय प्रमुख बर्ख फडेराका अनुसार जिल्लामा भर्ना अभियान भएको छैन । ‘माविसम्मका विद्यालय गाउँपालिकाअन्तर्गत गइसकेकाले भर्ना अभियान पनि गाउँपालिकाले नै चलाउनुपर्ने हो,’ कार्यालय प्रमुख फडेराले भने ।


तर, स्थानीय तहका जिम्मेवार पदाधिकारी जिल्लामा छैनन् । यसले गर्दा भर्ना अभियानको सुरसारै देखिन्न । अर्कोतिर जिल्लाका अधिकांश विद्यालय हिमपातले प्रभावित छन् । सदरमुकाममा रहेका विद्यालयसमेत हिउँमा डुबेका छन् ।


स्थानीय तहको अगुवाइ

डोल्पामा स्थानीय तहले भर्ना अभियानको अगुवाइ गरेका छन् । बुधबारदेखि मध्य र तल्लो क्षेत्रमा भर्ना अभियान सुरु भएको छ । ठूलीभेरी नगरपालिकाले ‘समृद्ध नेपाल सुखी नेपालीको आधार, प्रारम्भिक बालविकास र शिक्षा ठूलीभेरीको सरोकार’ भन्ने मूल नाराको अभियान थालेको छ । बुधबार दुनै बजारमा ब्यानरसहित जुलुसले भर्नाबारे जानकारी दियो । नगरपालिकाको शिक्षा शाखाले ७ गतेसम्म अभियान सञ्चालन गरी विद्यार्थी भर्ना गरिने जनाएको छ ।


जिल्लाका ८ स्थानीय तहमध्ये ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, काइके गाउँपालिका, जगदुल्ला गाउँपालिका र मुडेचुला गाउँपालिकाले भर्ना अभियान सुरु गरेका छन् । यी तल्लो र मध्यडोल्पामा पर्ने स्थानीय तह हुन् ।


माथिल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिका, छार्काताङसोङ गाउँपालिका र शे–फोक्सुन्डो गाउँपालिकामा चिसोको कारण वैशाख १ देखिमात्र नयाँ शैक्षिक सत्र सुरु हुन्छ । फागुनदेखि शैक्षिक सत्र सुरु हुने सामुदायिक विद्यालयमा कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक जिल्लामा पुर्‍याइसकिएका छन् ।


एसएमएस र घरदैलो

जुम्लामा विद्यार्थी भित्र्याउन विद्यालयले घरदैलो अभियान थालेका छन् । घरदैलोका साथै पर्चा–पम्प्लेट, सचेतना र्‍याली र मोबाइल एसएमएसबाट अभियान चलाइएको छ ।


कतिपय विद्यालयले माघ पहिलो सातादेखि नै भर्ना अभियान थालेका थिए । कर्णाली मावि अनामनगरका प्रअ मीनराज शर्माले माघ १५ देखि शिक्षकहरूको टोली नै बनाएर घरदैलोमा पठाइएको बताए । ‘हाम्रोमा अंग्रेजी माध्यममा पनि पढाइ हुने भएकोले माघ तेस्रो साताबाटै अभियान थालेका हौं,’ उनले भने, ‘नेपाली माध्यमबाट पढाइ हुने विद्यार्थीका लागि फागुन १५ बाट पढाइ हुन्छ ।’


कतिपय विद्यालयले मोबाइलबाट एसएमएस पठाएर भर्नाबारे अभिभावकलाई जानकारी गराएका छन् । अघिल्लो वर्षदेखि लागू गरिएको एसएमएस प्रविधि फलदायी भएको जीएमडी स्कुलका सञ्चालक कृष्ण थापाले बताए ।


चन्दननाथ माविले विद्यार्थीको चाप अधिक भएपछि छनोट परीक्षा लिने जनाएको छ । प्रअ टंक महतले फागुन ६ र ७ गते नयाँ विद्यार्थीका लागि छनोट परीक्षा तोकिएको बताए । नि:शुल्क पाठ्यपुस्तक र छात्रवृत्तिको व्यवस्थाका साथै गुणस्तरमा भएको सुधारले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ ।


परीक्षाको तयारी

वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरु हुने मुगुका सामुदायिक विद्यालयमा वार्षिक परीक्षाको तयारी सुरु भएको छ । फागुन तेस्रो सातादेखि परीक्षा सञ्चालनको तयारी भइरहेको स्थानीय तहले जनाएका छन् ।


छायानाथ रारा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको वार्षिक परीक्षा फागुन २६ बाट सञ्चालन गरिने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।


सोरु र खत्याड गाउँपालिकाभित्र रहेका विद्यालयले पनि फागुन तेस्रो साताबाट वार्षिक परीक्षाको तयारी गरेका छन् । मुगमकार्मारोङ गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको वार्षिक परीक्षा भने चैत पहिलो साताबाट सुरु हुने गरेको छ । त्यहाँ पुस १५ देखि फागुन ७ गतेसम्म जाडो बिदा हुँदा परीक्षा ढिलो हुन्छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?