७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्य, लेखापाल डिल्लीप्रसाद आचार्य र नायब सुब्बा दुर्गाप्रसाद पौडेलले १० लाख ८६ हजार ७ सय २५ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कार्यालयले अलैंचीको बिरुवा खरिद गरी कृषकलाई वितरण गर्ने क्रममा उनीहरूले कमिसन दिने व्यक्तिलाई मात्र दिएको अभियोगपत्रमा उल्लेख छ । उनीहरूले इलामबाट बिरुवा ल्याउँदा र सम्बन्धित क्षेत्रमा पुर्‍याउँदा गाडी भाडासमेत घोटाला गरेको आयोगको दाबी छ ।


आयोगले भाडाका सवारी साधन नियमविपरीत दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया मिचेको भन्दै यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन शाखा अधिकृत बाबुराम लामिछाने र नायब सुब्बा ऋषिराम ढकालविरुद्ध मुद्दा दायर गरेको छ । सवारी दर्ता ढड्डामा विभिन्न मितिमा बदनियतपूर्वक दर्ता गरिएका सवारी सरकारी कागजात सच्याई फेरि दर्ता गरेको देखिएको आयोगले जनाएको छ ।


यसैगरी आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका खरिदार सञ्जयकुमार ठाकुरविरुद्ध समेत मुद्दा दायर गरेको छ । ठाकुरमाथि जग्गा रजिस्ट्रेसन पास गर्दा लाग्ने राजस्व छुट गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार घूस लिएको आरोप छ । आयोगले प्रगति माध्यमिक विद्यालय रूपन्देहीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लेखनाथ शर्माविरुद्ध समेत शुक्रबार नै भ्रष्टाचार मुद्दा दायर गरेको छ । शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको आयोगले जनाएको छ ।


प्रकाशित : फाल्गुन ३, २०७५ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?