कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले अधिनायकवादी चरित्र देखायो : देउवा

कान्तिपुर संवाददाता

(भक्तपुर) — कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको एक वर्षको कार्यकाल विकास, सुशासन र शान्ति सुरक्षाका तीनै मोर्चामा असफल भएको दावी गरेका छन् । भक्तपुर कांग्रेसले शुक्रबार गरेको विरोधसभामा देउवाले सरकारको एक वर्षको कार्यकाल ठूल्ठूला गफ दिएरै बितेको बताए ।

सरकारले अधिनायकवादी चरित्र देखायो : देउवा

‘कहिले पानीजहाज, कहिले रेल ल्याउँछु भन्छन् । गफ हाँकेर मात्रै आउँछ ?’ देउवाले प्रश्न गरे, ‘गफ हाँकेर र उखानटुक्का भनेर देश बन्ने भए जनताले यति दु:ख किन पाउँथे ?’


उनले ओली नेतृत्वको सरकारले एक वर्षमा दूरगामी प्रभाव पार्ने एउटै पनि काम नगरेको दावी गरे । ‘विकास निर्माण मात्रै होइन, कूटनीतिक हिसावले पनि यो सरकार असफल भएको छ’ उनले भने । उनले भेनेजुयलाको राजनीतिक प्रकरणमा अनावश्यक बोलेर सरकारले अमेरिकासँगको सम्बन्ध बिगारेको बताए । प्रमुख प्रतिपक्ष दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक राखेर निर्णय लिइएको प्रसंग उल्लेख गर्दै देउवाले यसबाट सरकारको अधिनायकवादी चरित्र प्रस्ट भएको बताए ।


‘विपक्षी दलले संसदको वेल घेराउ गर्दागर्दै संसद् बैठक चलाएर विधेयक पारित गर्ने प्रचलन संसारमै हुन्न’ उनले भने, ‘तर, यो सरकारले संसदमा पनि अधिनायकवाद देखायो ।’ उनले प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विकास बजेट लैजाने गरेको भन्दै आपत्ति जनाए । ‘मुलुकमा ७७ जिल्ला छन, तर प्रधानमन्त्रीले देशको ठूलो बजेट आफ्नो जिल्लामा मात्रै पुर्‍याएका छन्’ देउवाले भने,‘अब हामी सरकारविरुद्ध देशभर आन्दोलन गर्नेछौं ।’

प्रकाशित : फाल्गुन ३, २०७५ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?