कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कान्तिपुर आइकन : उज्यालोका अभियन्ता

दीपक अधिकारी

काठमाडौँ — विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आफ्नो पदलाई ‘हट सिट’ भन्न रुचाउँछन्, भलै जाडोका यी पछिल्ला महिनामा रत्नपार्कस्थित कार्यालयको पहिलो तलाको त्यो कुर्सीमा उनी त्यति बस्न पाएका छैनन् ।

कान्तिपुर आइकन : उज्यालोका अभियन्ता

पुस दोस्रो साता उनी नेपाल–भारत पावर एक्सचेञ्ज कमिटीको तेह्रौँ बैठकमा नेपाली टोलीको नेतृत्व गरिरहेका थिए । त्यसको एक महिनापछि उक्त कमिटीको बैठकका लागि पोखरा पुगे । पोखरा बैठकले दुई देशबीच ऊर्जा आदानप्रदानका लागि औपचारिक

सहमति गर्‍यो ।

हिउँदका चिसा दिन (र रात) मा बिजुली उपभोक्ताले घिसिङलाई सम्झिने गरेका छन् । दुई वर्षअघिसम्म पनि नेपालका नदी प्रवाही आयोजनामा सुक्खा मौसममा घट्ने पानीको मात्राका कारण १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । दैनन्दिन जीवनलाई त्यसले कष्टप्रद त बनाएको थियो नै, देशको अर्थतन्त्र नै मारमा परेको थियो ।

नेपाल–भारतबीचको पछिल्लो बैठक र पुसमा भएको ऊर्जासम्बन्धी निर्देशिकाको संशोधनले नेपालमा ऊर्जा व्यवस्थापनको दीर्घकालीन रणनीतिलाई टेवा पुग्ने उनी ठान्छन् । झन्डै दशक लामो लोडसेडिङको कहरबाट मुलुकलाई मुक्त गराएको जस उनलाई जान्छ । यो काम उनले न योजनाबद्ध ढंगले सुरु गरे, न त २०७३ भदौ २९ गते प्राधिकरणमा नियुक्त हुँदा त्यस्तो लक्ष्य नै राखेका थिए । बरु उनको नियुक्ति सँगै कैयौं कर्मचारीले राजीनामा दिने, उनलाई भित्रैबाट असहयोग हुने र पूर्ववर्तीझैं उनी पनि असफल हुने अनुमान गरिएको थियो ।


आफूभन्दा वरिष्ठ सम्भावित उम्मेदवारलाई पछि पार्दै उनले मुलुकको विद्युत् निकायको कमान सम्हालेका थिए ।

प्राधिकरणमा वर्षौं काम गरिसकेका उनलाई के थाहा थियो भने लोडसेडिङ अन्त्यका लागि उपभोक्ताको आनीबानी परिर्वतन गर्नु र आत्मविश्वास जगाउनु पहिलो सर्त हो ।

उनको पुल्चोक इन्जिनियरिङ कलेजमा स्नातकोत्तर शोधपत्रको शीर्षक नै ‘इन्टेग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’ थियो । त्यसबाहेक प्राधिकरणको भित्रिया ज्ञान र इमानदारिताले उनलाई लोडसेडिङ अन्त्य गर्न सफल बनायो । ‘सही व्यवस्थापन र स्रोतको परिचालन गर्न सके भइरहेको बिजुलीबाट अन्धकारलाई उज्यालोमा परिणत गर्न सकिँदोरहेछ भन्ने सन्देश उहाँले दिनुभएको छ,’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईं भन्छन् ।

हरेक वर्ष लक्ष्मी पूजाका दिन सबैभन्दा बढी बिजुली खपत हुन्छ नेपालमा । घिसिङको टोलीले २०७३ को लक्ष्मी पूजा (कात्तिक १४ गते) देशैभर बिजुली आपूर्ति गर्न सफल भयो (त्यस दिन काठमाडौंमा मात्र ३४० मेगावाट खपत भयो) । काठमाडौं, स्युचाटारस्थित लोड सेन्टरबाट उनी घर फर्कंदा रातको १२ बजेको थियो । घरमा उनीबिना नै लक्ष्मी पूजा भइसकेको थियो ।

घिसिङसामु तिहारताकाको त्यो ‘मोमेन्टम’ लाई कसरी जारी राख्ने भन्ने चुनौती थियो । ‘पिक आवर व्यवस्थापन नै मुख्य कुरा थियो, त्यसबाहेक कुन सबस्टेसनबाट कहाँ बिजुली गइरहेको छ र नपुगेको ठाउँमा कसरी पुर्‍याउने भन्ने चुनौती थियो,’ उनले भने । उनले बिजुली वितरणमा ठूलो विभेद रहेको थाहा पाए ।

उपभोक्ता लोडसेडिङको मारमा परिरहेका बेला केही उद्योग, बैंक, अस्पताल आदिमा अविच्छिन्न विद्युत् आपूर्ति भइरहेको थियो । ‘जो पनि यहाँ एमडी भएर आउँथ्यो, ऊ त्यो विभेदलाई जारी राख्नमै रमाउँथ्यो । एक त ज्ञान हुनुपर्‍यो । दोस्रो, जब तपाईं त्यसमा रमाउनुहुन्छ भने किन (लोडसेडिङ) अन्त्य गर्ने ?’ उनले भने ।

उनको कदमको बहुआयामिक असर देखियो । सिमेन्ट, रडजस्ता कच्चा पदार्थ आयात घटयो । सबभन्दा महत्त्वपूर्ण योगदान अर्थतन्त्रमा पर्न गयो । यसको पहिलो मार खेपे इन्भर्टर व्यापारीले । देशैभर डिजेलबाट चल्ने ४०० मेगावाट (काठमाडौंमा मात्र त्यसको आधा) क्षमताका जेनेरेटर बन्द भए ।

एकातिर बिजुली बढी तान्ने यी साधन थन्को लागे भने अर्कातिर तिनले प्रयोग गर्ने डिजेल । सुरुमा काठमाडौं लोडसेडिङमुक्त भयो । त्यसपछि पोखरालगायत सहर हुँदै देशैभर भयो । ‘उपभोक्ताबाट मैले ठूलो हौसला पाएँ, जसले मलाई मिसन पूरा गर्न सहयोग गर्‍यो,’ उनी भन्छन् । उनलाई भारतबाट बिजुली निर्यात गरेर लोडसेडिङ हटाई जस आफूले लिएको आरोपसमेत लाग्ने गरेको छ ।

‘आयात गर्न पनि के–के पूर्वाधार हुनुपर्छ, कहाँ–कहाँबाट ल्याउन सकिन्छ भन्ने ज्ञान हुनुपर्‍यो नि,’ घिसिङ भन्छन् । देशभरका सबस्टेसनको स्तरोन्नति, पुराना ट्रान्सफर्मर विस्थापित गरी नयाँ जडान र ट्रान्समिसन लाइन निर्माण तथा पुरानाको स्तरोन्ततिलाई पनि बिर्सनु नहुने उनी बताउँछन् ।

उज्यालोका अभियन्ता घिसिङ आफैंले चाहिँ रामेछापको बेथान गाउँको एक आम पहाडि घरको सानो कोठामा टुकीको मधुरो प्रकाशमा सावा अक्षर चिनेका थिए । ६–७ वर्षको हुँदा आधा घण्टा हिँडेर स्थानीय प्राथमिक विद्यालय जान थालेका उनी थाङ्काको व्यापारमा संलग्न दाइहरूको फेरो समातेर काठमाडौं छिरे ।

अर्थात् इन्जिनियरिङसम्मको उनको बाटो एउटा प्राचीन कलाले तय गरिदियो । मेधावी र मिहिनेती छात्र घिसिङ काठमाडौंको झोंछेस्थित बालसेवा मावि ७ कक्षामा भर्ना भए । ६ भाइमध्येका साहिला उनका ठूल्दाइ र माल्दाइ थाङ्का बनाएर ठमेल नजिकै पर्यटकलाई बेच्ने गर्थे । उनले अमर आदर्श माविबाट एसएलसी गरे भने अस्कलबाट आईएस्सी ।

छात्रवृत्तिमा उनले भारतको जमसेदपुरस्थित रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनियरिङको अध्ययन गरे । फर्किएर जागिरका लागि भिड्दा ३ ठाउँमा नाम निस्कियो– मन्त्रालय, हवाई विभाग र विद्युत् प्राधिकरण । आफूले पढेको कुरालाई प्रयोग गर्न सकिने भएकाले प्राधिकरण नै रोजे । घिसिङको जीवनमा अवरोह नभएका होइनन् ।

नेपालकै निजी लगानीमा बनेको रसुवाको चिलिमे जलविद्युत् आयोजनाका प्रभावित स्थानीयवासीलाई सेयर दिलाएर वाहवाही पाएका उनले तत्कालीन ऊर्जामन्त्रीसँगको ‘टसल’ का कारण विद्युत् प्राधिकरण फिर्ता भई २ वर्ष हाजिरमात्र गरेर बस्नुपर्‍यो । ‘मेरो पद निर्देशकको थियो, तर अफिसमा बस्ने कुर्सीसमेत थिएन,’ उनी सम्झन्छन् ।

धेरैले असम्भव वा वर्षौं लाग्ने ठानेको मुलुकलाई लोडसेडिङमुक्त बनाउने अभियानलाई प्राधिकरणको नेतृत्व सम्हालेको २ महिनामै सफल बनाएका घिसिङको सफलताको सूत्र के हो त ? पोखरा विश्वविद्यालयबाट एक्जुकेटिभ एमबीए गरेका उनी जिम्मेवारीमा दत्तचित्त भएर लाग्ने र आफ्नो निर्णयमा अडिग रहने गरेको बताउँछन् । ‘इनर्जीको समस्या समाधान गर्न आफूमा पनि इनर्जी हुनुपर्छ, ५५–६० वर्षको मान्छेले त्यो गर्न कठिन हुन्छ,’ उनी भन्छन् । अर्थात् उनकै शब्दमा, राइट म्यान इन् द राइट प्लेस भएरमात्र हुँदैन, राइट टाइम पनि हुनुपर्छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?